व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ? दैनिक रूपमा हुने खर्च तथा आम्दानीको रेकर्ड कत्तिको राख्नुहुन्छ?

दैनिक लेखा खाता ‘डे बुक’ को महत्व

कुनै पनि व्यवसाय सञ्चालन गर्दा आफूले कति खर्च गरियो, कति कमाइयो, कति नाफा भयो र कति घाटा लाग्यो भन्ने कुराको ठोस प्रमाण आफूसँग हुनु निकै जरुरी हुन्छ। त्यस कारण दैनिक रूपमा हुने गरेको खर्च, आम्दानी, घाटा तथा नाफाको लेखाजोखा गरिराख्नु पर्छ। हिसाबकिताब राख्ने बानी नगर्नाले व्यवसायलाई अघि बढाउन गाह्रो त हुन्छ नै, कुनै समयमा त व्यवसाय बन्द गर्नुपर्ने नै अवस्था पनि आउन सक्छ।

जस्तै: कुनै पनि एउटा किराना पसल छ  र त्यहाँ हिसाबकिताब राख्ने गरिएको छैन। व्यापारीले एक दिनमा ४० किलो चिनी, ५० पोका दूध र २० वटा पाउरोटी बेच्नका लागि किन्यो। उसले दिनमा १५ वटा चाउचाउ , ५ किलो चिनी, आधा किलो दाल र ७ वटा मिठाई बेच्यो जसमा ५ वटा मिठाई र आधा किलो दाल चाही बाकी लागिएको थियो। दुई दिनपछि ग्राहक आउँदा उसले कति किलो दाल बेचेको थियो भन्ने याद गर्न सकेन। ऊ अलमल्ल पर्यो।

यसरी साना भन्दा साना कुराहरूबाट घाटा हुने सम्भावना बढी हुन्छ। त्यसैगरि उसले दिनमा कति नाफा या घाटा व्यहोर्यो भन्ने कुराको उसलाई हेक्का हुँदैन। जसका कारण व्यवसायलाई अगाडी बढाउँदा फाइदा हुन्छ कि हुँदैन भन्ने कुराको पनि उसलाई अनुमान हुदैन। यसरी हिसाबकिताबलाई वास्ता नगर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन सक्छ। त्यस कारण गरिएको कारोबार बेलामै टिपेर यस्ता विभिन्न समस्याहरूलाई सकेसम्म उब्जन दिनु हुदैन।

दैनिक लेखा खाता ‘डे बुक’ कसरी राख्ने?

व्यवसायको नियमित हिसाबकिताब राख्नका लागि अहिले बजारमा ‘डे बुक’ अर्थात् दैनिकी कारोबार लेख्ने किताब सजिलै किन्न सकिन्छ। यो सम्भव छैन भने पनि एउटा कापी अथवा डायरी किन्न सकिन्छ। त्यसमा आफैले आवश्यकता अनुसारका धर्काहरू कोरी हिसाब राख्न सकिन्छ। टिप्न चाही आफूलाई कसरी सजिलो लाग्छ सोही अनुरूप टिप्न सकिन्छ तर टिपीरहदा यी कुराहरू छुटाउनु हुँदैन:

कारोबार भएको मिति

मिति लेख्नाले दोहोराएर हेर्दा कुन मितिमा कति व्यापार भयो भन्ने कुराको ठेट हिसाब निकाल्न सकिन्छ। चाहिएको बेलामा पछिल्ला विवरणहरू सजिलै हेर्न सकिन्छ र भविष्यका लागि योजना बनाउन पनि यो निकै उपयुक्त हुन्छ।

कारोबार सम्बन्धी विवरण

बेचिएका तथा आफूले किनेका सामाग्रीहरूको नाम र मात्रा लेख्ने गर्नुपर्छ। जस्तै: एक दिनमा काउली, सिमी, साग र कागती किनियो र व्यापार गरियो। २ किलो काउली, १ किलो सिमी गर्दै सबै सामाग्रीको विवरण स्पष्ट हुने गरी सुची बनाइ राख्नुपर्छ।

खर्च तथा आम्दानी

व्यवसायले दिनमा कति खर्च र कति आम्दानी गर्दै छ भन्ने कुरा व्यापारीलाई थाहा हुनुपर्छ। यसले खर्च नियन्त्रण गर्न र भविष्यमा व्यवसाय बढाउन निकै मद्दत गर्छ।

नाफा तथा घाटा (ब्यालेन्स)

आम्दानी धेरै छ भने आम्दानीबाट खर्च घटाएर नाफा र खर्च धेरै छ भने खर्चबाट आम्दानी घटाएर घाटा निकाल्न सकिन्छ। दैनिक हिसाबमा नाफा तथा घाटा निकालेर आफ्नो व्यापार कुन दिशातर्फ जादैछ भन्ने कुराको जानकारी राख्न सकिन्छ।

कैफियत

पसलमा कहिलेकाहीँ बाकी तथा सापटी दिने गरिन्छ। यसको रेकर्ड नराख्दा भुल्ने समस्या बढी हुन सक्छ जसका कारण अनावश्यक झैझगडा उठ्ने समस्याहरू पनि आइपर्न सक्छन्। यसलाई पनि खातामा टिप्ने हो भने भोलिका दिनमा सजिलै कारोबार गर्न सकिन्छ।

नोट: यी माथिका कुराहरू नियमित रूपमा लेख्नुपर्छ। अझ किनबेच हुने बित्तिकै लेखिहाल्नु उत्तम हुन्छ।

माथि लेखिएको जसरी खाता बनाउनका लागि तलको खाताको नमुना हेर्नुहोस्:

त्यसै गरी सबै विवरण राखी आफूले सजिलै बुझ्ने हिसाबले खाता भर्न सकिन्छ। उदाहरणका लागि तलको १ दिनमा भएको कारोबारको सबै विवरण भरिएको खाता हेर्नुहोस्:

नोट: एकदिनको कारोबार एउटा पानामा लेख्ने गर्नुपर्छ। यसो गर्दा कुनै पनि हिसाब हेर्न तथा खोज्न सजिलो हुन्छ।



0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल