हाम्रो बारेमा

नेपाल सरकार, घरेलु तथा साना उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ सम्ममा नेपालमा करिब ४ लाख साना तथा मझौला उद्योगहरू दर्ता भएका छन्।२०७८ सम्म आइपुग्दा स्वाभाविक रुपमा यो संख्या अझै बढेको छ ।तथापि देशमा हाल भैरहेका उद्यमी, व्यवसायी र नवोदित उद्यमीहरूका लागि आवश्यक हुनसक्ने उद्यम तथा उद्यमशीलता सम्बन्धी अति आवश्यक जानकारीहरू र सो सँग सम्बन्धित सरोकारवाला संस्थाहरु तथा तिनीहरुसँग सम्पर्क समन्वयको लागि आवश्यक सूचनाहरु समेत एकै ठाउँबाट सजिलै पाउन सकिने प्रभावकारी माध्यमको भने अभाव नै छ । उद्यम र उद्यमशीलता सम्बन्धी आवश्यक जानकारीहरू समयमा नै सबैको पहुँचमा पुर्याउन सकेमा देशमै बसी केही गर्न चाहनेहरू लाखौँ मानिसहरूलाई उद्यमशीलता (व्यवसाय) का बारेमा उत्प्रेरणा दिन र त्यसतर्फ डोर्याउन सकिन्छ । सही ठाउँमा आवश्यक सही सूचना र जानकारीहरु पाउने हो भने थुप्रै व्यक्तिले सहज रूपमा उद्यमशीलताको बाटो अँगाल्न सक्छन् र यसले पारिवारिक आम्दानी बढ्न गई समृद नेपालको सपना पूरा हुन सक्दछ । यसै यथार्थतालाई मनन गरी उद्यमी नेपाल को सुरुवात भएको हो ।

नेपालमा सबैतिर बेरोजगारीको समस्या छ । यसले दैनिक जीविकोपार्जन, बालबालिकाको पठन-पाठन, स्वास्थ्य उपचार आदि हरेक क्षेत्रमा समस्या पारेको छ । त्यसैले युवा जनशक्ति सामान्य रोजगारीको लागि पनि विदेशतिर भौतारिन पर्ने अवस्था सिर्जना भएको छ । मुलुकको लागि यो दुर्भाग्यको विषय हो । उद्यमशीलता सम्बन्धी आवश्यक सूचना, ज्ञान, सीप तथा सहजीकरणको अभाव व्यवसाय सञ्चालन तथा स्वरोजगार निर्माणका लागि मुख्य समस्याको रुपमा देखिएको छ । यसले गर्दा उद्यम व्यवसाय सञ्चालन आरभ्भ गरी स्वदेशमै रोजगारीको सिर्जना गर्न खोज्ने व्यक्तिहरुले आवश्यक हौसला तथा उत्प्रेरणा पाएका छैनन् । साथै वैदेशिक रोजगारीबाट सानोतिनो कमाइ गर्ने चाहने व्यक्तिहरुलाई पनि स्वदेश मै लगानी गरी उद्यम व्यवसाय सञ्चालन तथा प्रवर्धन गर्ने आवश्यक जानकारी सहज रुपमा उपलब्ध छैन । त्यसैले यस किसिमको जानकारी अनलाइनबाटै सहजरुपमा उपलब्ध हुन सक्ने माध्यम अहिलेको लागि अति आवश्यक छ ।

उपयुक्त यथार्थ अवस्थालाई मनन गरी मुनाफा वितरण नगर्ने गरी दर्ता भएको विकास उद्यमी नामक संस्थाद्वारा स्वदेशमै उद्यमी बन्न चाहने वा उद्यमशीलतामा संलग्न जो कोही महिला वा पुरुषहरूका लागि व्यवसायको सुरुवात, व्यवस्थापन र विकास गर्न सघाउने उद्देश्यले उद्यमशीलता सम्वन्धी अनलाइन कोर्ष वा कार्यक्रमको विकास गरिएको छ।यो उद्यमी वा उद्यमी बन्न चाहनेहरुका लागि उपयोगी थलो हो।जुनसुकै खालको व्यवसाय सञ्चालनका लागि पनि यस्तो जानकारी अति उपयोगी छ।यसले यसका सबै प्रयोगकर्ताहरू र नेपालभरबाट सामाजिक सञ्जालमा पछ्याउनेहरूका लागि सजिलो नेपाली भाषामा व्यवसायका हरेक चरणका विभिन्न पक्षहरू, जस्तैः व्यवसायको परिचय, यसको छनोट, सञ्चालन प्रक्रिया, व्यावसायिक योजना निर्माण आदिको बारेमा आवश्यक थुप्रै जानकारीहरु दिई व्यवसाय आरभ्भ र प्रवर्धनमा सधाउने लक्ष्य विकास उद्यमीको रहेको छ।व्यवसाय सञ्चालनका लागि आर्थिक स्रोत (फाइनान्स) को व्यवस्था, सरकारी नीति नियमहरू र व्यवसायको व्यवस्थापनसँग सम्बन्धित अन्य विषयहरूका सम्बन्धमा आवश्यक जानकारी दिई व्यवसाय प्रवर्धन गर्न सघाउने यसको उद्देश्य छ।एउटै ठाउँबाट उद्यम र उद्यमशीलताका बारेमा धेरै सूचनाहरू लिई व्यवसायलाई सफल रुपमा सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई यसले ठूलो योगदान पु¥याउनेछ भन्ने विश्वास विकास उद्यमीले लिएको छ ।