व्यवसाय दर्ता

सम्बन्धित निकायमा गएर नियमअनुसार आफूले गर्न खोजेको व्यवसायलाई सूचीकृत गर्नुलाई व्यवसायको दर्ता भनिन्छ। दर्ता नगरी उद्योग, व्यवसाय सञ्चालन गर्नु हुँदैन। दर्ता नगरी सञ्चालन गरेमा जरिवाना लाग्दछ।

लघु उद्यम र घरेलु उद्योगको सम्बन्धमा सञ्चालन भएको ६ महिनाभित्र दर्ता गर्न निवेदन दिनु पर्दछ। लघु उद्यम दर्ता गर्न कुनै शुल्क तिर्नु पर्दैन। व्यवसायको प्रकृतिअनुसार अन्य कुनै व्यवसाय दर्ता गर्दा तोकिएअनुसार केही शुल्क तिर्नु पर्दछ। औद्योगिक व्यवसाय ऐन २०७६ परिच्छेद २ दफा ३ मा उद्योग व्यवसाय दर्ता गर्नु पर्ने कुरा उल्लेख छ। 

व्यवसायको प्रकृतिअनुसार व्यवसाय दर्ता गर्ने स्थानहरू पनि फरक-फरक छन्। सामान्यतया आफ्नो क्षेत्रभित्रका सानातिना व्यवसायहरू सम्बन्धित स्थानीय तहमा नै दर्ता गरिन्छ। घरेलु तथा साना उद्योग व्यवसायहरू जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समिति वा कार्यालयमा दर्ता गर्नु पर्दछ। मझौला तथा ठूला उद्योगहरू उद्योग विभागमा दर्ता गर्नुपर्दछ । कम्पनीको रूपमा सञ्चालन गरिने उद्योग व्यवसायहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नु पर्दछ। 

व्यवसाय दर्ता गर्न गाह्रो हुन्छ, दर्ता गरेपछि कर तिर्नु पर्दछ, नवीकरण गर्ने झन्झट हुन्छ भन्ने केही मानिसहरूको धारणा पनि रहेको छ। तर यो गलत बुझाइ हो। व्यवसाय दर्ता गर्नुका धेरै फाइदा छन्। जस्तै :

व्यवसायले कानूनी पहिचान पाउँछ।

आवश्यक परेमा कर्जा अथवा ऋण लिन सजिलो हुन्छ।

व्यवसाय विस्तार गर्न, व्यवसायलाई आवश्यक पर्ने उपकरणहरू खरिद गर्न सजिलो हुन्छ।

राज्यले दिएका सुविधा तथा अधिकारहरू प्रयोग गर्न पाइन्छ।

दर्ता भएको व्यवसाय बिक्री वा हस्तान्तरण गर्न सकिन्छ।

व्यवसायले सम्पत्ति खरिदबिक्री गर्न पनि सक्दछ।

सामाजिक प्रतिष्ठा पाइन्छ। 

व्यवसायको दर्ताको तयारी गर्दा निम्न उल्लिखित कुराहरू गर्नु पर्दछ।

व्यावसायिक परियोजनाको स्किम अर्थात् विवरण बनाउनु पर्दछ।

साझेदार व्यवसाय भएमा साझेदारहरूको सहमति पत्र तयार गर्नुपर्दछ। 

व्यवसाय गर्ने ठाउँ आफ्नै भएमा त्यसको लालपुर्जा र भाडाको जग्गामा गर्ने भए भाडामा लिएको कागज तयार गर्नु पर्दछ।

छिमेकमा असर पर्ने खालको व्यवसाय भएमा छिमेकीहरुको स्वीकृति पत्र पनि तयार गर्नुपर्दछ।

वातावरणमा असर पार्ने खालका व्यवसाय हुन् भने वातावरणकोे अध्ययन प्रतिवेदन पनि तयार गर्नुपर्दछ। 

निवेदन तयार गर्नुपर्दछ । कुनै कुनै कार्यालयमा निवेदन फारमहरु तयारी पनि हुन्छन् ,ती फारमहरु भर्नुपर्दछ। 

आफ्नो फोटोहरु तथा नागरिकताका प्रतिलिपिहरु तयार गर्नुपर्दछ।

व्यवसाय दर्ता गर्नका लागि निम्न अनुसारका कागजपत्रहरू पेस गर्नु पर्दछ। जस्तै:

१.तोकिएको ढाँचामा निवेदन

२.नागरिकताको प्रमाणपत्र प्रतिलिपि 

३.व्यवसायको स्किम/योजना

४.दुई प्रति पासपोर्ट साइजको फोटो

५.आवश्यकता अनुसार सम्बन्धित निकायको सिफारिस वा सहमति 

६.वातावरण अध्ययन प्रतिवेदन

७.व्यवसाय वा उद्योग स्थापना गर्ने स्थानको भाडा सम्झौता र घर धनीको जग्गाको लालपूर्जा तथा नागरिकताको प्रतिलिपि 

 ८.साझेदारी व्यवसाय भएमा साझेदारहरूको सहमति पत्र 

उद्योग व्यवसाय दर्ता,सञ्चालन आदि सम्बन्धी थप जानकारी लिन औद्योगिक व्यवसाय ऐन २०७६ हेर्न सकिन्छ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।