उद्यमशीलता र उद्यमी

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो। यसमा व्यापार वा व्यवसाय सम्बन्धी  सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ। उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ।  

उद्यमशीलतालाई देशको आर्थिक विकासको मेरुदण्ड किन मानिन्छ? 

  • उद्यमशीलताले उद्यमीलाई आर्थिक रूपमा सबल बनाउँछ नै, यसले देशको आर्थिक विकासमा पनि ठुलो सहयोग गर्दछ।
  • उद्यमशीलताले उत्पादकत्व बढाउँछ। 
  • रोजगारीको सिर्जना गराउँछ। 

नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ। उद्यमी हुनु भनेको आफ्नो मालिक आफैँ हुनु हो। उद्यमीले व्यवसाय सुरु गरी विचारको सिर्जनाबाट चुनौतीलाई अवसरमा परिणत गर्छ। उद्यमी एउटा सर्जक हो भने उद्यमशीलता सिर्जना हो। 

उद्यमीका महत्त्वपूर्ण विशेषताहरू: 

  • नयाँ व्यवसायको सिर्जना।
  • व्यवसायलाई आवश्यक समय तथा प्रयास। 
  • जोखिम बहन।
  • उच्च उपलब्धिको चाहना।
  • सृजनशीलता तथा नवप्रवर्तन र पुरस्कारका रूपमा नाफाको अपेक्षा। 

यस अर्थमा समग्र रूपमा उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्।

उद्यम सुरु गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू:

  • आफूले जानेको सीप, काम वा व्यवसाय के हो ?  त्यो यकिन गर्ने।
  • आफूलाई गर्न मन लागेको र गर्न सक्ने कामको लागि आवश्यक सीप, ज्ञान जान्नको लागि कुनै तालिम लिने वा कोही पुराना उद्यमीसँग सरसल्लाह गर्ने। 
  • आफूले गर्न लागेको उद्यमको बारेमा परिवारमा सरसल्लाह गर्ने।  
  • उद्यमको लागि लाग्ने लगानी, त्यसबाट हुने आम्दानी र खर्चको अनुमानित हिसाब निकाल्ने।  
  • उद्यम सुरु गर्न आवश्यक लगानीको स्रोत यकिन गर्ने।
  • उद्यमको परियोजना विश्लेषण गर्ने र व्यावसायिक योजना निर्माण गर्ने।  
  • तपाईँले गर्ने उद्यममा के कस्ता कानुन छन्, ती सबै राम्रोसँग अध्ययन गर्नुपर्छ। कानुन नबुझेर गल्ती गर्नुभयो भने पनि कानुनले तपाईँलाई छाड्दैन।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।