व्यवसाय कहाँ गर्ने ? व्यवसायको लागि उचित स्थान यसरी पत्ता लगाउनुहोस् :

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

हामीले हाम्रो दैनिक जीवनमा विभिन्न किसिमको व्यवसाय गरिरहेका व्यक्ति, उद्योग व्यवसायहरू देख्छौँ। कुनै व्यवसाय राम्रोसँग चलिरहेको हुन्छ भने कुनै व्यवसाय मुस्किलले अलिअलि मात्रा। 

एउटा सामान्य किराना पसलको नै उदाहरण लिऊँ न, कुनै पसल ग्राहकहरूले भरिभराउ, पसलेलाई नै भ्याईनभ्याई भएको देखिन्छ भने कुनैमा ग्राहक नै नआएर पसले चिन्तामा देखिन्छन्। आखिर किन यस्तो हुन्छ? कुनै स्थानमा राम्रोसँग चलिरहेको पसल अर्को स्थानमा लैजाँदा त्यही पसल किन चल्दैन?

व्यापार व्यवसाय गर्दा स्थानले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्थान सही भएन भने न व्यवसायले ग्राहक भेटाउन सक्छन्, न त ग्राहकले चाहिएको व्यावसायिक सेवा लिन सक्छन्। कुनै-कुनै स्थान महँगो पर्ने तर भने जस्तो प्रतिफल नदिने खालका हुन्छन्। त्यसैले व्यवसाय गर्न स्थान छनौट गर्दा विभिन्न कुराहरूमा ध्यान दिनुपर्छ।

व्यवसायको किसिम: तपाईको व्यवसाय कुन प्रकारको हो, स्थान छनौट त्यही अनुरूपको हुन्छ। जस्तै: यदि खुद्रा किराना पसल हो भने मानिसहरूको बसोबास भएको स्थान, धेरै आवात-जावत भइरहने चोक आदिमा गर्दा उपयुक्त हुन्छ। उत्पादनमूलक व्यवसाय छ भने बसोबास गर्ने स्थानभन्दा पर नै गर्दा ठिक हुन्छ।

 ग्राहकको प्रकार: आफ्नो  ग्राहक कस्ता प्रकारका हुन्, त्यही अनुरूपको स्थानमा व्यवसाय गर्नुपर्छ। जस्तै: विद्यार्थी आफ्ना मुख्य ग्राहक हुन भने स्कुल, क्याम्पसको छेउछाउमा गर्नुपर्छ। 

कच्चा पदार्थको पहुँच: व्यवसाय गर्दा व्यवसायलाई चाहिने कच्चा पदार्थ कहाँ पाइन्छ, त्यसकै नजिक हुनुपर्छ। जस्तै : यदि तपाईले होटेल व्यवसाय गर्दै हुनुहुन्छ भने होटलको लागि आवश्यक कच्चा पदार्थ , खाद्यान्न , तरकारी आदि  विभिन्न सामानहरू सजिलै पाइने स्थानमा हुनुपर्छ। ती समानहरू ल्याउन सकिने स्थानमा हुनुपर्छ।

पार्किङ लगायतको सुविधा: यदि तपाईको व्यवसायमा धेरै ग्राहकहरू आवतजावत भइराख्ने किसिमको हो, र व्यस्त बजारमा व्यवसाय गर्दै हुनुहुन्छ भने पार्किङको सुविधा पनि हेर्नुपर्ने हुन्छ। पार्किङको सुविधा नभएकै कारण पनि कतिपय ग्राहकहरू फर्किन सक्छन्। 

प्रतिस्पर्धा  तथा अन्य उस्तै किसिमको व्यवसायसँगको दुरी : स्थान छनौट गर्दा आफूजस्तै व्यवसाय गरिरहेकासँग कत्तिको प्रतिस्पर्धा हुन्छ? आफ्नो व्यवसायलाई सहयोग पुर्‍याउने अन्य व्यवसाय नजिकै छन्/छैनन् ? त्यो पनि बिचार गर्नुपर्छ। जस्तै : तपाईको हेल्मेटको व्यवसाय छ भने नजिकै मोटरसाइकलको व्यवसाय हुँदा राम्रो हुन्छ।

अन्य प्रशासनिक खर्चहरू: विभिन्न प्रशासनिक खर्चहरू, जस्तै: टेलिफोन, राज्यलाई बुझाउने कर,आदि विभिन्न प्रशासनिक खर्चहरू पनि स्थान छान्दा विचार पुर्‍याउनु पर्छ। 

 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।