व्यवसायको कर

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

राजस्वमा दाखिला हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई दिनु पर्ने तिरो वा रकम, जस्तै: आयकर, मालपोत, बिक्रीकर, आयात निर्यात कर आदिलाई कर भनिन्छ।

 व्यवसाय गर्ने मानिसले पनि व्यवसायको आर्जनमध्येबाट कानूनमा तोकिएअनुसारको केही रकम करको रूपमा सरकारलाई बुझाउनु पर्दछ। कति कर तिर्नुपर्छ भन्ने सम्बन्धमा सरकारले हरेक वर्ष करको पुनरावलोकन, संशोधन गर्दछ र सोही अनुसार करको दर तोक्दछ। आर्थिक ऐन २०७६ मा कर सम्बन्धी धेरै कुराहरू स्पष्ट उल्लेख गरिएको छ। 

उद्योग, व्यापार, पेसा व्यवसायबाट कमाएको पैसाको र लगानीबाट हुने आम्दानीको कर लाग्दछ। कुनै प्रकारको उद्योग व्यापार, पेसा वा यस्तै प्रकृतिका अन्य कामहरू वा व्यवसाय सञ्चालन गर्नेले नियम अनुसार कर तिर्नुपर्दछ । उद्योग व्यवसाय गर्ने व्यक्तिले पान दर्ता नगरी व्यावसायिक कारोबार गरेमा कर नबुझाएमा, नक्कली बिल दिएमा अथवा स्थायी लेखा नम्बर भएको बिल नदिएमा जरिवाना र सजाय हुने कानूनी व्यवस्था छ। कर तिर्दा केही कानूनी प्रक्रियाहरू पूरा गर्नुपर्दछ। व्यवसाय सञ्चालन गर्ने व्यक्तिले कर तिर्दा निम्न केही प्रक्रियाहरू पूरा गर्नु पर्दछ। जस्तै :

  • स्थायी लेखा नम्बर (PAN) अनिवार्य लिनु पर्दछ।
  • स्थायी लेखा नम्बर लिइसकेपछि आफ्नो कार्यक्षेत्रभित्र परेको आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय वा तोकिएको ठाउँमा गएर कर तोकिए अनुसारको तिर्नु पर्दछ ।
  • पानमा मात्र दर्ता भएको भए कारोबार गरेपछि र भ्याटमा समेत दर्ता गरेको भए हरेक महिनाको २५ गतेभित्र अघिल्लो महिनाको आफ्नो आर्थिक कारोबारको हिसाब र मूल्य अभिवृद्धि कर (मू.अ.कर) बुझाउनु पर्दछ।

PAN भनेको करदातालाई दिइने एक स्थायी सङ्केत नम्बर हो। यो नौ अङ्कको हुन्छ। यदि तपाईले एकल स्वामित्वको व्यवसाय गर्नुभएको हो भने व्यवसाय सम्बन्धी कारोबार गर्न PAN लिनु पर्दछ। यदि साझेदारीमा कुनै व्यवसाय गर्नुभएको हो भने छुट्टै PAN लिनुपर्ने हुन्छ। उद्योग, व्यापार, पेसा व्यवसाय थालनी गर्नु अगावै पानका लागि आवेदन गरी पान लिनुपर्दछ।

पान लिनको लागि भर्नुपर्ने निवेदन तथा फारमको ढाँचा नेपाल सरकार आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np   बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ। साथै आन्तरिक राजश्व कार्यालयहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरू तथा उद्योग वाणिज्य सङ्घहरूबाट पनि प्राप्त गर्न सकिन्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।