व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

इन्टरनेट र प्रविधिको विकाससँगै आजकाल फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्राम आदि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू विश्व भर नै बढ्दो सङ्ख्यामा छन्। यो प्रयोगकर्ताहरूको सङ्ख्या मात्र हैन, ग्राहकहरूको ठुलो जमात पनि हो, भन्ने कुरालाई बुझेर हिजोआज साना-ठुला सबै प्रकारका व्यावसायहरुले आफ्नो समानको बिक्री, वितरण र विज्ञापन गर्नका निम्ति यसको भरपुर प्रयोग गरी रहेका छन् ।

अझ राम्रो कुरा त के छ भने यी मध्यमका धेरै सुविधाहरू त निःशुल्क रूपमै प्रयोग गर्न सकिन्छ । यी मध्य मुख्य पाँच माध्यमहरू यस्ता छन्:  

फेसबुक

फेसबुक, आजकाल सबैभन्दा धेरै नेपालीहरूले चलाउने सामाजिक सञ्जालमा गनिन्छ। आफ्नो व्यापारिक सामाग्रीहरूको प्रचार मात्र नभएर सामान किनबेच गर्न पनि अहिले फेसबुकको बढ्दो मात्रामा प्रयोग गरिन्छ। यसका लागि आफ्नो व्यवसायको फेसबुक पेज बनाउनु पर्ने हुन्छ। सामाग्रीका आकर्षक फोटो तथा भिडियोहरू पेजमा पोस्ट गरी ग्राहकहरूलाई आफ्ना सेवाहरूका बारेमा सजिलै थाहा दिनुका साथसाथै फेसबुकमै ग्राहकहरूबाट अर्डर लिन पनि सकिन्छ। पोस्ट गर्दा धेरैजसो मानिसहरू सामाजिक सञ्जालमा सक्रिय रहने समयमा गर्नु बुद्धिमानी हुन्छ। आजकाल त लाइभ भिडियोहरू बनाएर अझ बढी प्रभावकारी रूपमा व्यवसाय विस्तार गर्न सकिन्छ। त्यसै गरी आफ्नो पेजलाई लाइक गर्न साथीहरूलाई निमन्त्रणा पठाउने, नियमित रूपमा पोस्ट गर्ने, पोस्ट गर्दा व्यास ट्यागको प्रयोग गर्ने, आफ्ना पोस्टहरू अन्य सम्बन्धित पेज तथा ग्रुपहरूमा शेयर गर्ने, ग्राहकहरूका लागि समय समयमा  अफरहरूको व्यवस्था गर्ने र चाडपर्वमा शुभकामना सन्देश दिने जस्ता अत्यन्त जरुरी जुक्तिहरूको प्रयोग गर्नु आवश्यक हुन्छ। ग्राहकहरूका जिज्ञासाको उत्तर समयमै दिनु चाही आफ्नो पहिलो प्राथमिकता हुनुपर्छ।

ट्विटर

ट्विटरबाट पनि फेसबुक जसरी नै सन्देश आदानप्रदान तथा सामाग्री किनबेच गर्न सकिन्छ। ट्विटर पेज खोलेर आफ्ना सेवाहरू फोटो र भिडियोहरू मार्फत पेजमा राख्न सकिन्छ। फोटो, भिडियो राख्दा व्यास ट्यागको प्रयोग गरेर ग्राहकहरूलाई चाहिएको कुरा भेट्न सजिलो बनाइदिन सकिन्छ। पोस्ट गर्दा पोस्टसम्बन्धी जानकारी छोटो तथा प्रभावकारी हुनुपर्छ। ट्विटरमार्फत गरिएको पोस्ट केही समयको लागि मात्र देख्न सकिन्छ। पोस्टहरू दोहोर्‍याउने व्यवस्था नभएका कारण उचित समयमा पोस्ट गरेर ग्राहकहरूलाई सन्देश दिन सक्नुपर्छ। त्यसै गरी ग्राहकहरूको कमेन्ट र म्यासेजहरूको जवाफ दिनु चाही निकै नै जरुरी हुन्छ। यसले उनीहरूमा विश्वसनीयता कायम राख्न मद्दत गर्छ।

इमेल

आफ्ना ग्राहकहरूलाई उनीहरूको इमेल ठेगाना सोध्ने, टिप्ने काम सधैँ गरिराख्नुपर्छ। ग्राहकहरूसँग इमेल साटासाट गरी आफ्ना नयाँ उत्पादनहरूलाई छोटो समयमा उनीहरूसम्म पुर्‍याउन सकिन्छ। नयाँ उत्पादनहरूको फोटोहरू र त्यसका बारेमा थप जानकारी लेखी आफ्ना ग्राहकहरूलाई अग्रिम सूचना दिन सकिन्छ र कुराकानीमार्फत  नै अर्डर पनि लिन सकिन्छ। यसरी उनीहरूको पसलसम्म धाउनुपर्ने समयको पनि बचत हुन्छ। धेरै ग्राहकहरूलाई एकसाथ मेल गर्नुपर्ने अवस्थामा ‘मेलचिम्प’ नामक वेबसाइटको सहायता लिन सकिन्छ। यस वेबसाइटले धेरै व्यक्तिहरूलाई एकैसाथ सन्देश पठाउन मद्दत गर्छ। कुनै पनि उद्यमीले मेल पठाउँदा ग्राहकहरू सामाजिक सञ्जालमा कुन समयमा बढी सक्रिय हुन्छन्? भन्ने कुराको ख्याल गर्नुपर्छ। सोही समयमा आफ्नो मेल पठाउँदा ग्राहकहरूले खोलेर हेर्ने र जवाफ पनि दिने बढी सम्भावना हुन्छ। आधारातमा मेल गर्दा पठाइएको मेल खोलेर हेर्ने सम्भावना निकै कम हुन्छ।

ह्वाट्सएप

ह्वाट्सएप, एकैचोटी धेरै व्यक्तिहरूसमक्ष पुग्न सकिने एक उपयुक्त सामाजिक सञ्जाल हो। फोन नम्बरबाट साथी बन्न सकिने यस सञ्जालबाट एकैसाथ धेरै व्यक्तिहरूलाई सन्देश पठाउन सकिन्छ। यसको सुविधा अन्तर्गत पर्ने ब्रोडकाष्ट लिस्टमा आफ्ना ग्राहकहरू राख्दा पुराना तथा नयाँ ग्राहकहरूलाई छुट्टाछुट्टै लिस्टमा राख्नुपर्छ। यसो गरेर पुराना र नयाँ ग्राहकहरूलाई छुट्टाछुट्टै किसिमका सन्देश पठाउन सकिन्छ। यसबाट फोटो, भिडियो, अडियो राखी पनि सन्देश पठाउन सकिन्छ जसले गर्दा ग्राहकहरूलाई आफ्ना सेवा तथा उत्पादनहरू दर्साउन सजिलो हुन्छ।

इन्स्टाग्राम

आजकाल इन्स्टाग्राम चलाउने सङ्ख्या पनि बढ्दो मात्रामा भेटिन्छ। अझ विशेष गरेर युवा पीढीहरू यस सञ्जालमा बढी झुलिरहेका भेटिन्छन्।  खाना, लुगा तथा जुत्ताका नयाँ उत्पादनहरू हेर्न इन्स्टाग्राम चलाउने मानिसहरू बढ्दो मात्रामा छन्। यसो हुँदा आकर्षक फोटो तथा भिडियोहरू राखी ग्राहकहरूलाई सजिलै आकर्षित गर्न सकिन्छ। यसरी फोटो तथा भिडियोहरू राख्दा व्यास ट्यागको प्रयोग गर्न बिर्सिनुहुँदैन। आफ्नो व्यवसायको नाम प्रोफाइलमा स्पष्ट रूपमा राख्नुपर्छ र आफ्नो व्यवसायको बारेमा पनि छोटकरीमा जानकारी दिन जरुरी हुन्छ। जानकारीसँगै आफ्नो व्यवसायसँग सम्बन्धित लिङ्क पनि राख्दिन सकिन्छ। आफ्ना ग्राहकहरूसँग ग्रुप बनाएर पनि आफ्ना सामाग्रीको प्रचार अथवा बेच्नै पनि सकिन्छ।

आफ्नो व्यवसायको ‘फेसबुक पेज’ कसरी बनाउने ?

फेसबुक, ट्विटर, युट्युब, स्काइप आदि सामाजिक सञ्जालहरू आज धेरै नेपालीहरूले प्रयोग गर्छन्। यी मध्यमा पनि फेसबुक नेपालीहरू माझ सबैभन्दा बढी प्रयोग हुने गरेको भेटिन्छ।  

फेसबुकमा आफ्नो व्यक्तिगत खाता खोली आफ्ना विचार, भावना, तस्बिर आदि आफ्ना साथीहरू माझ राखेर रमाउनेहरू त छँदै छन्, सँगसँगै थुप्रैले यस मार्फत आफ्नो व्यवसाय प्रवर्धन गरी कमाई समेत गरी रहेको भेटिन्छन् । यदि तपाईँ पनि आफ्नो व्यवसायको फेसबुक खाता (Facebook Page) खोली आफ्नो व्यवसायको आम्दानी बढाउन चाहनुहुन्छ भने यो लेख पुरा पढ्नु होला ।

कसरी खोल्ने त व्यवसायको फेसबुक खाता?

मोबाइलबाट खोल्दै हुनुहुन्छ भने:

  • सर्वप्रथम आफ्नो फेसबुक खोल्नुहोस् र सबैभन्दा माथि देखिएका चिन्हहरू मध्ये आफ्नो दायाँ हात पट्टीको तीनवोटा तेर्सा धर्का भएको चिन्हमा थिच्नुहोस्।
  • स्क्रिनमा देखिएका अप्सनहरुमा क्रियेट पेज (Create Page) भन्ने अप्सनमा थिच्नुहोस्।
  • स्क्रिनमा ठुलो अक्षरमा गेट इस्टारटेड (Get Started) लेखिएको भेट्न सकिन्छ, त्यसमा थिचेर अगाडी बढ्नुहोस्।
  • त्यसभित्र देखिने पेज नेम (Page Name) बक्समा आफ्नो व्यवसायको नाम टाइप गर्नुहोस्।
  • त्यसै गरी क्याटेगोरी (Category) मा लोकल बिजनेस (Local Business), पर्सनल ब्लग (Personal blog), प्रोडक्ट/सर्भिस (Product service) र आर्ट (Art) गरेर ४ वटा अप्सनहरू देखाइएका हुन्छन्।
  • त्यसमध्ये लोकल बिजनेस (Local Business) अप्सन छान्नुहोस्।
  • लोकल बिजनेस (Local Business) भित्र पनि लोकल बिजनेसेस् (Local Businesses) र लोकल बिजनेस (Local Business) भन्ने अप्सनहरू देखिन्छन्।
  • यी दुई अप्सनहरूभित्र पनि विभिन्न अप्सनहरू हुन्छन्। त्यी अप्सनहरू मध्ये आफ्नो व्यवसाय कुन अप्सनसँग सम्बन्धित छ सोही अप्सनमा क्लिक गर्नुहोस्।
  • जस्तै: तपाईँ पुस्तक पसल चलाउनुहुन्छ भने बुक सप (Book Shop) अप्सनमा जान सक्नुहुन्छ।
  • त्यसपछि स्क्रिनमा आफूले बनाएको खाताको प्रोफाइल देख्न सकिन्छ।
  • जानकारीका लागि इडीट पेज इन्फो (Edit page info) लेखिएको अप्सनमा जानुहोस्।
  • त्यहाँ व्यवसायका बारेमा छोटो जानकारी, वेबसाइट, ठाउँ र फोन नम्बरजस्ता जानकारी भर्नका लागि खाली ठाउँहरू राखिएका हुन्छन्।
    • त्यी दिइएका खाली ठाउँहरू भर्नुहोस्।
  • अब आफ्नो व्यवसाय राम्रोसँग झल्किने किसिमका आकर्षक फोटाहरू खिचेर प्रोफाइल पिक्चर (Profile Picture) र कभर फोटो (Cover Photo) राख्नुहोस्।
    • प्रोफाइल पिक्चर राख्दा व्यवसायको लोगो राख्ने चलन व्यापक छ
  • त्यसै गरी नयाँ बनेको फेसबुक पेजबाट इन्भाइट फ्रेन्डसमा क्लिक गरी फेसबुकमा रहेका आफ्ना साथीहरूलाई आफ्नो व्यावसायिक पेज लाइक गर्नका निम्ति निमन्त्रण गर्न नभुल्नु होला।

कम्प्युटरबाट खोल्दै हुनुहुन्छ भने:

  • सर्वप्रथम आफ्नो फेसबुक खोल्नुहोस् र सबैभन्दा माथि देखिएका चिन्हहरू मध्ये आफ्नो दायाँ हात पट्टीको तीनकुने आकार भएको चिन्हमा थिच्नुहोस्।
  • स्क्रिनमा देखिएका अप्सनहरू मध्यमा क्रियेट पेज (Create Page) भन्ने अप्सनमा थिच्नुहोस्।
  • त्यसपछि स्क्रिनमा बिजनेस अर ब्र्यान्ड (Business or brand) र कम्युनिटी अर पब्लिक फीगर (Community or public figure) भनी दुई अप्सन देख्न सकिन्छ।
    • पहिलो अप्सन अर्थात् बिजनेस अर ब्र्यान्ड (Business or brand) लाई छान्नुहोस्।
  • त्यसभित्र देखिने पेज नाम (Page Name) बक्समा आफ्नो व्यवसायको नाम टाइप गर्नुहोस्।
  • थप जानकारीका लागि व्यवसायको किसिमलाई क्याटेगोरी (Category) मा, व्यवसाय सञ्चालन भइरहेको ठाउँ, पोस्टल ठेगाना, फोन नम्बर आदि कुराहरू दिइएको खाली ठाउँहरूमा स्पष्ट रूपमा भर्नुहोस्।
  • त्यसपछि Upload a profile picture लेखिएको अप्सन देखिन्छ,अब Upload लेखिएको अप्सनमा गएर प्रोफाइल पिक्चर (Profile Picture) राख्नुहोस्।।
    • प्रोफाइल पिक्चर राख्दा व्यवसायको लोगो राख्ने चलन व्यापक छ।
  • त्यस्तै Upload a cover photo भनेर फोटो हालेपछि तुरुन्तै देखिन्छ। त्यहाँ आफ्नो व्यवसाय राम्रोसँग झल्किने किसिमको आकर्षक फोटो राख्नुहोस्।
  • त्यसै गरी नयाँ बनेको फेसबुक पेजबाट इन्भाइट फ्रेन्डसमा क्लिक गरी फेसबुकमा रहेका आफ्ना साथीहरूलाई आफ्नो व्यावसायिक पेज लाइक गर्नका निम्ति निमन्त्रण गर्न नभुल्नु होला।

यसरी पेज खोलिसकेपछि त्यसलाई नियमित रूपमा ईस्ट्याटस (Status) हरू राखी अपडेट (Update) गर्न पनि जरुरी हुन्छ। आफ्नो वस्तु, उत्पादन सेवा आदिको जानकारी राखेर दिनमा कम्तीमा दुई देखि तीन वटासम्म पोस्टहरू गर्नुपर्छ। अनलाइन अर्डर लिएर, आफ्ना ग्राहकको प्रश्नहरूको छिटो तथा मिठो उत्तर दिएर व्यवसायलाई उच्च स्थानमा लैजान सकिन्छ।

विकिहाउद्वारा तयार पारिएको फोटाहरू सहितको विस्तृत जानकारीका लागि दिइएको लिङ्क खोल्नुहोस्।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।