Photo Source : Kharibot.com

दशैँ सकिए लगत्तै बजारमा तिहारको चहलपहल पनि सुरु हुन थालिसक्यो। अरु बेला त्यति प्रयोग नआउने सामाग्री जस्तै बत्ति, भइ मसला, सप्तरंगी टिका, आदिको ठूलो माग हुन्छ। तिहारमा यस्ता नभई नहुने सामान किन्नेको घुइँचो लाग्ने गर्छ। ५ दिन मनाइने यो चाडमा धेरै सामाग्री जुटाउनुपर्ने हुन्छ। यसबेला जुनसुकै व्यवसाय गर्नेले पनि आफ्ना पसल अगाडी तिहारका लागि चाहिने सामाग्री राखेर व्यापार बढाउन सक्छन्। आज हामी तिहारमा जुनसुकै व्यापारीले पनि बेच्न मिल्ने सामानहरूका बारेमा चर्चा गर्दैछौँ।

फूल र माला

तिहारमा घर, दैलो र आँगन सजाउनका लागि घरघरमा फूलको प्रयोग गरिन्छ। पूजा गर्दा पनि फूल आवश्यक पर्छ। तिहार लागेपछि फूलको माला बनाएर घरदैलो सजाउन थालिन्छ। काग तिहार देखि अन्तिम दिन भाइटिकासम्म नै फूल अनिवार्य चाहिन्छ। त्यसैले तिहारमा गोदावरी, मखमली र सयपत्री फूलहरू पसल अगाडी राखेर बेच्न सक्नुहुन्छ। प्लास्टिकका फूलहरू पनि राख्न सकिन्छ।

पूजा सामाग्री

तिहारमा अगरबत्ति,अबिर, केसरी, फूलहरू, लक्ष्मीको फोटो आदि पूजा सामाग्रीहरू तिहारमा प्रयोग हुन्छन्। यी सामाग्री नभई तिहार सम्पन्न हुँदैन। सबै घरमा पूजा हुने भएकाले तिहारमा यी कुराहरू नबिक्ने कुरै आउँदैन। त्यसैले तिहारमा पूजा सामाग्री बेचेर पनि आम्दानी गर्न सकिन्छ।

बत्ति

तिहारलाई उज्यालोको चाड भनिन्छ। यसबेला घरहरू विभिन्न बत्तिका उज्यालामा झलमल्ल बलेका हुन्छन्। सबै दिन अझ विशेषगरि लक्ष्मी पूजाको दिन घरलाई झलमल्ल बनाइन्छ। यसका लागि धेरैले विद्युतीय झिलिमिली बत्तिको प्रयोग गर्छन्। साथै दियो र मैनबत्तिको पनि उत्तिकै प्रयोग गरिन्छ। त्यसैले तिहारमा झिलिमिली बत्ति, दियो/ माटोको पाला र मैनबत्तिको धेरै बिक्री हुन्छ। यी सामानहरू तिहारका लागि मात्र ल्याएर बेच्न सक्नुहुन्छ।

टोपी

तिहारको पाचौँ दिन अर्थात् भाइटिकामा दाजुभाइलाई टिका लगाइदिँदा ढाकाको टोपी दिने चलन छ। टोपी लगाएर टिका लगाउने भएकाले तिहारमा टोपीको माग अरुबेला भन्दा ज्यादा हुन्छ। यसबेला ढाका टोपी बेचेर राम्रो आम्दानी गर्न सकिन्छ।

सप्तरङ्गी टिका

भाइटिका, नाममा नै टिका शब्द जोडिएको छ। यसका लागि टिका नबिक्ने त कुरै आउँदैन। यस दिन दिदीबहिनी र दाजुभाइले एक अर्कालाई सप्तरङ्गी टिका लगाइदिन्छन्। रातो, पहेलो, सेतो, हरियो, बैजनी, निलो, र सुन्तला रङ्गका टिकाहरू यसै दिनका लागि भनेर विशेष बिक्री हुन्छन्।

भाइ-मसला

तिहारमा धेरै बिक्री हुने सामाग्री मध्ये भाइ-मसला पनि एक हो। भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई ल्वाङ, सुकुमेल, नरिवल, छोकडा, काजु, किसमिस, ओखर, दालचिनी, बदम, मिश्री, अलैँची आदि मसलाहरू दिने चलन छ। सबै सामाग्रीको मात्रा मिलाएर प्याक गरेर वा खुल्ला रूपमा पनि यसलाई बेच्न सकिन्छ। यस दिन दाजुभाइको दीर्घ-आयुको कामना गरेर दिदीबहिनीले हाँडे ओखर फुटाउने चलन छ। हाँडे ओखर मात्र पनि धेरै बिक्री हुनसक्छ। 

फलफुल

तिहारमा पूजा गर्दा फलफुल चढाइन्छ।। त्यसैगरी भाइटिकामा दाजुभाइलाई भाइ-मसलासँगसँगै फलफुल पनि दिइन्छ। भाइटिकाकै दिन बिमिरो पूजा गर्नुपर्ने भएकाले यसको माग तिहारमा धेरै हुन्छ। तिहारमा स्याउ, सुन्तला, केरा, जुनार, भोगटे आदि फलफुल पसलमा राख्दा राम्रो बिक्री हुनसक्छन्।

रातोमाटो

तिहारमा लक्ष्मी भित्राउनका लागि घरको सरसफाइ गरिन्छ। त्यस्तै तिहारको रंगोलीमा पनि रातोमाटोको प्रयोग गरिन्छ। घर अगाडी बनाएको रंगोलीबाट वा तुलसाको मोठबाट रातोमाटोले नै घरको पूजा कोठा वा भण्डारसम्म डोरो बनाएर त्यसमा लक्ष्मीको पाइला बनाइन्छ। यहि रातोमाटोले बनाएको डोरो हुँदै लक्ष्मी घरमा भित्रिने जनविश्वास छ। रातोमाटो हत्तपत्त जताततै नपाइने भएकाले तिहारमा यसको व्यापार राम्रो हुनसक्छ। 

गोबर

तिहारमा अझ विशेषगरि गोबर्धन पूजामा गोबरको प्रयोग गरिन्छ। त्यस दिन गोबरबाट गोबर्धन पर्वत बनाएर त्यसको पूजा गरिन्छ। सहरतिर गोबर पाउन गाह्रो पर्ने भएकाले यसलाई धेरै ठाउँमा प्लास्टिकमा प्याक गरेर बेच्न राखिएको देखिन्छ। तिहारका अन्य सामाग्री सँगै गोबरको पनि बिक्री गर्न सकिन्छ।

चामलको पीठो

तिहारमा सेलरोटी र विभिन्न मिठाईहरू बनाइन्छ। यी सबै चामलका पीठोबाट बनाउने चलन छ। त्यसैले अरुबेला भन्दा तिहारका बेलामा चामलको पीठो धेरै बिक्री हुने सम्भावना हुन्छ।  

यी सामानहरू मध्ये फलफूल, भाइ-मसला, चामलको पीठो, गोबर र फूलमालाहरू बाँकी रहेमा आफ्नै घरमा पनि प्रयोग गर्न सकिन्छ। अरु सामान जस्तै बत्ति, टोपी, सप्तरङ्गी टिका, रातोमाटो आदि भने बाँकी रहेमा अर्को वर्ष पनि बेच्न सकिन्छ।  

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल