सरकारले दिँदै आएको सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन गर्दै २ वटा नयाँ कर्जाहरू थपेको छ। यस अघि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितका लागि निजी आवास कर्जा गरी ७ वटा कर्जाहरू दिइँदै आएको थियो। सरकारले अब कपडा उद्योग सञ्चालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट तालिम लिनका लागि पनि कर्जा दिने भएको छ।
कति कर्जा पाइन्छ?
- कपडा उद्योग सञ्चालन गर्ने हो भने ५ करोड रुपैयाँसम्म
- तालिमका लागि २ लाख रुपैयाँसम्म
धितो चाहिन्छ कि चाहिँदैन?
- कपडा उद्योग सञ्चालन गर्नका लागि धितो आवश्यक छ
- सीटीईभीटीबाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागि भने धितो चाहिँदैन । एकै घर परिवारका सदस्यको व्यक्तिगत जमानीमा कर्जा लिन सकिन्छ
कति अनुदान पाइन्छ?
- कर्जामा ५% ब्याज अनुदान पाइन्छ
कर्जा लिन केके गर्नुपर्छ?
- कपडा उद्योगका लागि व्यवसायको सञ्चालन अवस्था, रुग्ण भएको छ भने पुनः सञ्चालनमा आउन सक्ने अवस्था र व्यावसायिक योजना समेतका आधारमा कर्जा दिने बैङ्कबाट सम्भाव्यताको सिफारिस गर्नुपर्छ
- कपडा उद्योगीलाई कर्जा दिने नियम आउनु भन्दा अघि नै यसका लागि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएकाले पनि ५ प्रतिशत ब्याज अनुदान पाउँछन्। अनुदान लिन चाहने कपडा उद्योगले आफूले अगाडी लिएको ऋणको सम्पूर्ण विवरण सम्बन्धित बैङ्कबाट प्रमाणित गराएर पेस गर्नुपर्छ
- सिटिइभिटीबाट तालिम लिनका लागि सिटिइभिटी अन्तर्गतको मान्यताप्राप्त संस्थाबाट भर्ना भएको र तालिम लिन चाहेको विषय खुल्ने कागजात पेस गर्नुपर्छ
के गर्नुहुँदैन?
- के कार्य गर्न दिएको कर्जा हो सोही कार्यमा उपयोग नगरी अन्यमा गर्नुहुँदैन। यसो गरेको पाइएमा सावाँमा १५ प्रतिशत ब्याज थपेर तिर्नुपर्छ।
नोट: संशोधन भएर आएको कार्यविधिमा अब १० लाख रुपैयाँसम्मको कर्जा लिँदा सामूहिक जमानीको सट्टामा एकै घर परिवारको व्यक्ति जमानी बसेर पनि ऋण लिन सकिन्छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रदान गरिने कर्जालाई पनि सरल गरिएको छ।