नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त ठिकै छ तर किनेर खानेहरूलाई यसले निकै समस्यामा निम्त्याएको छ। यस्तै समस्यामा झापाका सञ्जीव पाठक पनि परेका थिए। तरकारी सधैँ किनेरै खानुपर्ने। उनलाई यो समस्या न्यूनीकरण गर्न मन थियो। त्यसैले यसको समाधान खोज्न भनि जाँगर चलाए। विषादीरहित र ताजा तरकारी खान र अरूलाई पनि खुवाउन के गर्न सकिन्छ भन्ने बारेमा लामो समय अनुसन्धान गरे।

एरोपोनिक्स, हाइड्रोपोनिक्स र एरोरुट्स। उनले सुनिरहेका यी शब्दहरू अगाडी आए। यस्ता कुरामा पहिले देखि नै रुचि थियो। यो प्रविधिका बारे राम्ररी खोजे। नेपालमा नयाँ थियो। सुरु गरिहाल्ने सोच बनाइहाल्न सकेनन्। गर्न सकिने हो या होइन भन्ने कुरामा उनलाई शङ्का थियो। एक दिन चिनजानका दाइले काठमाडौँमा एरोरुट्स सफल भइसकेको खबर सुनाए। अझ हाइड्रोपोनिक्स र एरोपोनिक्स प्रयोग गरेर धेरै तरकारी फलाइसकेको कुरा कानमा परेपछि उनलाई नयाँ ऊर्जा मिल्यो। काठमाडौँमा सफल भएको प्रविधि झापामा पनि भित्राउन उनी आतुर भए।

उनका मिल्ने साथीहरू थिए। इलामका प्रकाश दाहाल र बिर्तामोडका आफूसँगै नाम मिल्ने सञ्जीव घिमिरे। उनीहरूसँग कुरो चलाए। प्रतिक्रिया सकारात्मक नै आयो। अनि ३ जना साथीहरू मिलेर काम सुरु गरे।

हावाबाट गरिने तरकारी खेती अर्थात् एरोरुट्स झापामा पहिलो पटक भित्रिँदै थियो। बिरुवा रोप्न प्लास्टिकका थुप्रै ट्याङ्कीहरू किने। यसमा माटोको प्रयोग हुँदैन त्यसैले ट्याङ्कीहरूमा हावा छिर्ने प्वालहरू बनाए। यसमा के कसरी प्वालहरू बनाउने, कसरी रोप्ने, डिजाइन आदि बारे उनीहरूले अध्ययन गरिसकेका थिए। पढेर बुझेर सोही अनुरूप काम गर्दा उनीहरू सफल पनि भए।

एउटा ट्याङ्कीमा बिरुवा रोप्न लगभग ४५ देखि ५० हजार लाग्यो होला भनी उनी अड्कल काट्छन्।

उनी भन्छन्, “यो वान टाइम इन्भेस्टमेन्ट हो, सुरुमा धेरै लगानी गर्नुपर्छ अनि १५ वर्ष जति सम्म उत्पादनलिइरहन सकिन्छ। लामो समयको लागि हेर्ने हो भने माटोमा गर्नु भन्दा यो प्रविधि नै सस्तो हुन आउँछ।”

उनले यसका थप फाइदाका बारे पनि बताए। एउटै ट्याङ्कीमा ६० देखि ७० वटा सम्म बिरुवा रोप्न सकिन्छ।

यसरी थोरै ठाउँमा धेरै उत्पादन हुन्छ। यसमा पानीबाट बिरुवालाई आवश्यक पर्ने तत्त्वहरू दिइन्छ। माटोमा हुने सबै तत्त्व बिरुवालाई चाहिँदैन। पानीमा आवश्यक तत्त्वहरूको मात्रा मिलाएर छर्किन सकिन्छ। यसरी रोप्दा माटोमा उब्जिने बिरुवाहरूलाई भन्दा ९५ प्रतिशत कम सिँचाइले नै पुग्छ। बिरुवा उमार्न कुनै कीटनाशक वा हानिकारक रसायन पनि प्रयोग गरिरहनुपर्दैन। आवश्यक तत्त्वहरू मिसाइएको पोषणयुक्त पानीलाई फेरी पनि प्रयोगमा ल्याउन सकिन्छ।

फाइदा सँगसँगै उनले चुनौती पनि सुनाए। गर्मीले पानी तात्छ र तापक्रम नमिल्ने समस्याले सञ्जीवलाई बेलाबेलामा सताइरहने रहेछ। धेरै युवाहरू रोजगारीका लागि विदेश जाँदैछन्। तर सञ्जीव यसो भन्छन्, “विदेश जानुको सट्टा यहाँ यो व्यवसाय सुरु गर्नुहोस्, विदेशको भन्दा राम्रो कमाइ हुन्छ।”  

धेरै ठाउँहरूमा धमाधम घरहरू बनिरहेका कारण खेति योग्य जग्गा भेट्न गाह्रो छ। त्यसैले पनि होला सञ्जीवले यस प्रविधिमा भविष्य देखेका छन्। अरू फाइदाहरू पनि नियाल्ने हो भने एरोपोनिक्स प्रणालीले कृषक र ग्राहक दुवैलाई सजिलो बनाउँछ।

उद्यमी नेपालको टिमले सञ्जीव पाठकसँग झापामा गरेको कुराकानी हेर्नका लागि तलको भिडियो लिङ्कमा जानुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल