धरानका श्रवण लिम्बुको माछाफर्म हामीले देखिरहेका अरू माछा फर्म भन्दा केही फरक छ। उनले अर्नामेन्टल माछा अर्थात् सजावटका लागि प्रयोग हुने आकर्षक माछाहरूको प्रजनन गरेर देशभर आपूर्ति गर्छन्। नेपालभर यसरी प्रजनन गरेर माछा सप्लाई गर्ने फर्म दुई वटा मात्र छन्। एउटा मोरङको गछियाको हो र अर्को श्रवणकै एभरेस्ट एक्वापोनिक्स फिस फर्म। फर्ममा विभिन्न रङ्गका गोल्ड फिस, कोए, फ्लावर अनर, एंगल आदि विभिन्न प्रजातिका माछाहरू छन्। 

माछा पालन उनको शोख हो। उनको घरमा अक्युरीयम थियो। उनलाई अक्युरीयमका माछाहरू मनपर्थे। घरका माछाहरू हेरिरहँदा तीनको प्रजननका बारेमा उनलाई चासो बढ्न थाल्यो। नबुझेका कुरा युट्युबमा खोज्ने उनको बानी थियो। माछाको बारेमा खोज्न थाले। त्यो खोजले उनलाई विस्तारै लोभ्याउन थाल्यो। जति भिडियो हेर्दै गयो उति उनमा अझ बढी जान्ने उत्सुकता बढ्दै गयो| अन्त्यमा युट्युबमा देखाए जसरी नै माछा पाल्न मन भयो। तर आँटिहाल्ने स्थिति थिएन। असफल भएमा लगानी डुब्न सक्थ्यो। त्यसैले एकैचोटी व्यवसाय सुरु गरेनन्। 

३ वर्षसम्म घरमै परीक्षण गरे। उनलाई मनपरेको विषय भएकाले मेहेनत गर्न पनि अल्छि गरेनन्। फलस्वरूप परीक्षण सफल भयो। यो सफलता पछि आधुनिक तरिकाबाट माछा पाल्ने तरिकाका बारेमा इन्टरनेटबाट अझ राम्रो ज्ञान हाँसिल गरे। एक्लै सुरु गर्न उनीसँग पर्याप्त रकम थिएन। साथीहरूसँग मिलेर सुरु गर्ने सोच बनाए। साथीहरूसँग सल्लाह राखे। कुरा मिल्यो। उनी लगायत अरू ३ जना साथीहरू मिलेर माछा फर्म सुरु गरे। 

फर्मका लागि १७ कट्ठा जग्गा भाडामा लिए। थुप्रै सिमेन्टका पोखरीहरू बनाए। त्यी पोखरीहरू ठूला माछालाई र भुराहरूलाई छुट्टाछुट्टै राख्न हुने गरी तयार गरिएका थिए। त्यहाँ अहिले उनीहरू माछाको प्रजनन पनि गराउँछन्। त्यी पोखरीमा हप्ता दिन पुगेका माछाहरूलाई राख्छन् र एक महिनापछि अर्कोमा सार्छन्। शुद्ध अक्सिजनबाट माछा पाल्नका लागि पोखरीमाअक्सिजन पाइपको पनि प्रयोग गरेका छन्। यसरी फर्म उनीहरूले भनेजस्तै आधुनिक तरिकाबाटै सुरु भयो। सबैभन्दा राम्रो कुरो, सीप सिक्न कतै भौँतारिरहनु परेन। इन्टरनेटले सबै सिकाइदियो।

श्रवणले धानबारीमा पनि माछा पाल्ने सोच बनाएका छन्। उनी भन्छन्, “यसलाई राइस फिस कल्चर (Rice fish culture) पनि भनिन्छ। त्यसरी पाल्दा धान र माछा सँगसँगै हुर्किन्छन्। धान रोपेको १५ देखि २० दिन पछि माछा हाल्नुपर्छ। यसले दोहोरो फाइदा हुन्छ। एकातीर धानले माछाको फोहोरबाट आवश्यक पोषक तत्त्व लिन्छ र अर्कोतीर फोहोर पानीलाई धानले सफा पनि गरिदिन्छ।”

अहिले फर्ममा चारो दिने, प्रजनन सम्बन्धी काम हेर्ने र माछाहरूको के कस्तो अवस्था छ भनी जाँच गर्ने भिन्नाभिन्नै मान्छे राखिएको छ। उनी पनि फर्ममा उत्तिकै जाँगरका साथ काम गरिरहेका हुन्छन्। काम बिहान ८ बजेदेखि सुरु हुन्छ। यो समयमा उनी माछालाई खाना खुवाउँछन्। खाना खुवाउने समय माछाको प्रजाति अनुसार फरक पर्छ। कुनै माछालाई दिनमा ५ पटकसम्म खुवाउनुपर्छ भने कुनैलाई ३ पटक मात्र खुवाए पुग्छ। अहिले उनीसँग कोए माछाको भुरा २० देखि ३० हजार र गोल्ड फिसको भुरा १० हजार जति छन्। थुप्रै पसलहरूसँग उनको सम्पर्क छ। माछाको माग निकै बढ्दो छ। उनले माग अनुसारको माछा पुर्‍याउन भने सकिरहेका छैनन्। 

सुरुवाती चरणमा नै भएकाले अहिले व्यवसायले खासै नाफा गर्न सकिरहेको छैन। तर श्रवण र उनका साथीहरू आउने दिनमा एक लाख जति भुराहरू प्रजनन गर्ने सोचमा छन्। अहिले प्रयोग गरेका भन्दा फरक तरिका प्रयोग गरेर पनि माछा पाल्ने सोच रहेको छ उनीहरूको। भविष्यमा बायो फ्लक कल्चर (Biofloc Culture)र एक्वापोनिक्स कल्चर (Aquaponics Culture) बाट माछा पाल्ने योजना बनाएका छन्। 

आफ्नै देशमा बसी नयाँ कुराहरू सिकेर श्रवण र उनका साथीहरूले निकै प्रेरणादायी काम गरिरहेका छन्। यो कथाबाट हामीले धेरै कुराहरू सिकेर आफ्ना जीवनमा लागु गर्न सक्छौँ। उद्यमी नेपालको टिमबाट उनीहरूलाई सफलताको धेरैधेरै शुभकामना।

एभरेस्ट एक्वापोनिक्स एण्ड फिस फर्मको सम्पर्क नं.: ९८५२०५६३०१

उद्यमी नेपालले एभरेस्ट एक्वापोनिक्स एण्ड फिस फर्मका सञ्चालक श्रवण लिम्बुसँग गरेको कुराकानी हेर्नुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल