जीवन भोगाईका क्रममा परेका समस्याहरुलाई तपाई कत्तिको महत्वका साथ हेर्नुहुन्छ? कहिले सोच्नुहुन्छ? “यो समस्या मैले मात्र भोगी रहेको छु कि अरुलाई पनि यस्तै समस्या परिरहेको होला?” अनि यस्ता समस्याका समाधान कसरी निकाल्नुहुन्छ? आफ्नो लागि मात्र निकाल्नुहुन्छ कि आफू जस्तै समस्या भोगिरहेका सबैलाई हुने गरि निकाल्नुहुन्छ?

आफूलाई समस्या पर्दा त्यसको समाधान भने सबैको लागि निकाल्ने व्यक्तिहरु कमै भेटिएलान्। यस्तै निकै बिरलै भेटिने मानिसहरूमा पर्छन् दुई युवा उद्यमी विजय शर्मा र तारा केशर खत्री।

हामीकहाँ एउटा समस्या छ। पढ्नेबेलामा टिउसन पढाउने भरपर्दो शिक्षक नपाउने, अनि आफै ट्युसन पढाउ कि भन्यो भने बिद्यार्थी नपाउने। विजय र तारालाई पनि ट्याक्कै यहि समस्या पर्यो। तर समधान यस्तो निस्कियो जसले उनीहरू दुईलाई मात्र हैन कयौलाई सजिलो बनायो।

हो त्यही समाधान बन्यो Whpedia, जहाँ ट्युसन पढ्न चाहानेले अनलाइनबाटै शिक्षक भेटाउछन् भने पढाउन चाहनेले, विद्यार्थी।

विजय र तारा बर्दियामा नजिकै घर भएका साथी हुन्। उनीहरुको घर मात्र नजिक नभएर रुची पनि एकअर्कासँग नजिक थियो। त्यसैकारण उनीहरु एउटै विषय लिएर स्कूल र कलेज पनि एउटै पढे। उनीहरु स्कुल पढ्दा पढाइमा आफुलाई कोही कसैले सहयोग गर्दिए हुन्थ्यो कि भन्ने लागिरहन्थ्यो। तर उनीहरुका परिवारको आर्थिक स्थितिले त्यो आवश्यकतालाई सम्भव हुन दिएन। जस्तो छ त्यस्तै वातावरणमा उनीहरुले आफ्नो पढाइलाई निरन्तरता दिए।

१० कक्षा बर्दियाबाट र १२ नेपालगन्जबाट सकेर दुवै जना स्नातकको पढाइ गर्न भनी काठमाडौँ आए। दुवैले त्रिचन्द्र कलेजमा बि.एस.सि पढ्न सुरु गरे। बिहानको कलेज थियो। १० बजे कलेज छुट्टि भएपछि उनीहरुसँग खासै केही काम हुदैन थियो। काठमाडौँको ठाउँ, यहाँको महंगी र खर्च धान्न निकै गार्हो  थियो उनीहरुलाई। पढ्दै गरेका विद्यार्थी, काम पाईहाल्न पनि सजिलो थिएन।

कहिलेकाही कोहि बिद्यार्थी पाए आफूले पढेको कुरालाई प्रयोग गर्दै यसो ट्युसन पढाउन पाए पढाईलाई पनि सजिलो हुन्थ्यो र केहि कमाई पनि हुन्थियो भन्ने दुवैजनालाई लाग्थ्यो।तर यो अन्जान सहरमा कसलाई पढाउने?, पढ्न चाहने बिद्यार्थी कसरी भेटाउने?, उनीहरु अन्योलमा थिए।

एकदिन उनीहरू कलेजमा आफूभन्दा ठूला एकजाना दाजुसँग कुराकानी गर्दै थिए। ती दाजुसँग उनीहरूले आफ्नो समस्या राखे। दाजूले एउटा निकै राम्रो उपाय दिए।

त्यसपछि उनीहरु कोठामा गए। ‘ट्युसन पढाउने शिक्षक चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्, सम्पर्क नम्बर:’  भनि खाली कागजमा लेखे। र त्यस्ता थुप्रै कागजहरु बनाए। आफ्नो कोठा वरिपरीका ठाउँहरुमा त्यी कागजहरु टाँस्दै हिडे।

सुरुमा त उनीहरुलाई यसो गर्न पनि निकै अफ्ठ्यारो लाग्यो। यसरी पनि विद्यार्थी भेटिएलान् भन्ने कुरामा उनीहरुलाई शंका थियो। कागजहरु टासेको २-३ दिनपछि फोन आउन थाल्यो। एकपछि अर्को गर्दै फोनहरु आउन थाले। उनीहरुले विद्यार्थी भेट्टाए। साँझ ४:३० देखि बेलुकी ९ बजेसम्म उनीहरु ट्युसन पढाउन थाले। पढाएको ठाउँबाट विस्तारै राम्रो प्रतिक्रियाहरु आउन थाल्यो। अब त्यी पढाएका विद्यार्थीहरुको चिनजानबाट अरु विद्यार्थीहरु पनि भेटिन थाले। ट्युसन पढाएर नै उनीहरुले आफ्नो खर्च हेर्न थाले। स्नातकको पढाइ पनि सके।

उनीहरुले आफ्नो अनुभवबाट ट्युसनका बारेमा धेरै कुराहरु बुझे। विद्यार्थी नपाउने, पाए पनि भनेको जस्तो विद्यार्थी नहुने, पढाउने विषय नमिल्ने, ठाउँ नमिल्नेजस्ता समस्याहरु ट्युसन पढाउन थालेपछि आइ नै रहने रहेछ भन्ने उनीहरुलाई थाहा भयो। त्यस्तै आफूलाई जस्तै अरुलाई पनि यस्तो समस्या भइरहेको उनीहरुले थाहा पाउँदै गए।

विजय र ताराले यसबारेमा छलफल गरे। छलफलबाट ट्युसनलाई एउटा व्यवस्थित रुपमा अगाडी बढाउने निष्कर्ष निक्लियो। त्यसबेला उनीहरुले बिनोद चौधरीको किताब पढिरहेका थिए। किताबबाट उनीहरुले व्यवसायलाई अनलाइनबाट संचालन गर्ने हो भने धेरै प्रभावकारी हुँदो रहेछ भन्ने कुरा थाहा पाएका थिए। उनीहरुलाई पनि त्यसै गर्ने मन भयो तर कसरी गर्ने भन्ने बारे थाहा थिएन। एउटा वेबसाइट बनायो भने विद्यार्थीको अभिभावक र शिक्षकलाई भेटाउन सकिन्छ भन्ने उनीहरुलाई लाग्यो। उनीहरुले एउटा वेबसाइट बनाउने निधो गरे।

 त्यस पछि वेबसाइट बनाउन भनि एक कम्पनीमा बुझ्न गए। अनि पो थाहा भयो, सानो रकमबाट वेबसाइट बनाउन सकिने रहेनछ। आफूले दुख गरेर कमाएको सबै पैसा एकै पटकमा खर्च गर्ने आँट पनि उनीहरुलाई आएन।

यस्तो हुँदा उनीहरुले सुरुमा आफ्नै तरिकाले मार्केटिङ्ग गर्ने सोच बनाए। १३०० रुपैयाँ लिएर ट्युसन पढ्ने विद्यार्थी आवश्यकता भनि पर्चाहरु छपाए। ४००० पर्चाहरु छापिए। अब उनीहरु पर्चा लिएर घरघरमा बाढ्न हिंडे। उनीहरुको प्रयास सफल हुदै गयो। विस्तारै अभिभावकहरुले फोन गर्न थाले र यसरी विजय र ताराको डबल्युयाचपेडिया (WHpedia) सुरु भयो। विजय भन्छन्, “ डबल्युयाचपेडिया (WHpedia)ले  किन, कसरी र केका लागि सिक्ने भन्ने अर्थ बुझाउँछ।”

उनीहरुले एउटा आइटि (IT) कम्पनिसँग व्यवसाय शेयर गरी वेबसाइट पनि बनाए। वेबसाइट बनाउन समय लगभग ६ महिना लाग्यो तर भनेको जस्तो वेबसाइट भने बनेन। उनीहरुलाई वेबसाइट चित्त बुझेन। यस विषयमा ज्ञान नहुदा उनीहरुलाई अप्ठ्यारो भयो, उनीहरु ठगिए।

उनीहरु त्यस आइटि (IT) कम्पनिबाट फुट्न बाध्य भए र २ देखि ३ महिना आफ्नै हिसाबले काम गर्न थाले। केहि समयपछि उनीहरुले नयाँ आइटि (IT) कम्पनि (जुनकिरी इन्फोसिस्) लाई रु. ८०,००० रकम बुझाइ वेबसाइट बनाउन लगाए। वेबसाइट बन्ने प्रक्रियामा थियो। यो समस्या समाधान हुदै गरेतापनि उनीहरुलाई अर्को पुरानै समस्याले सताइरहेको थियो र त्यो थियो काम गर्नका लागि ठाउँ। उनीहरुसँग आफ्नो कामको रेकर्ड राख्न, मानिसहरु भेटघाट गर्न एउटा व्यवस्थित ठाउँ थिएन। यसकारण उनीहरुलाई काम गर्न अप्ठ्यारो परिरहेको थियो। उनीहरुको यो समस्यालाई समाधान गर्न मद्दत गर्यो ‘युनुस सोसल बिजनेस च्यालेन्ज’ ले।

किंग्स कलेज र युनुस बिजनेस सेन्टरबाट आयोजना गरिएको सोसल बिजनेस च्यालेन्ज (Social Business Challenge) मा ३०० बिजनेसहरु सहभागी भएका थिए। त्यी मध्य विजय र ताराको डबल्युयाचपेडिया (WHpedia) टप टेनमा पर्न सफल भयो साथै उनीहरुले “जुरी स्पेसल अवार्ड” पनि जित्न सफल भए।

यही सफलताले उनीहरुको अबरुद्द बाटो खोलिदियो। युनुस बिजनेस सेन्टरसँग आफूसँग बिजनेसका लागि ठाउँ नभएको कुरा बताएपछि उनीहरुले ठाउँ दिने कुरा गरे। त्यसैकारण डबल्युयाचपेडिया (WHpedia) लाई अहिले किंग्स कलेजको दोस्रो तल्लामा भेट्न सकिन्छ। उनीहरुले दुईवटा कोठामा अफिस राखेर आफ्नो व्यवसाय व्यवस्थित रुपमा चलाउदै आएका छन्।

वेबसाइट बन्न समय लागेकाले उनीहरुसँग शिक्षकको अभाव भइरहेको थियो। यसो हुँदा उनीहरु शिक्षकको फारम बोकी विभिन्न कलेजहरु गए र त्यहाँ भेटिएका ट्युसन पढाउन मन भएका विद्यार्थीहरुलाई फारम भराए। फारम संकलन गरे र विद्यार्थीहरुको आवश्यकता अनुसार शिक्षक छानी घरघरमा अनुभवी शिक्षकहरु पठाए।

केही समयपछि वेबसाइट ( www.whpedia.org ) पनि तयार भयो। वेबसाइट हालसालै बनेको हो तर दिनहुँ मानिसहरुको संलग्नता बढ्दो क्रममा छ। वेबसाइटमा शिक्षक र विद्यार्थी दुवैले फारम भर्नुपर्ने हुन्छ। फारम हेरी शिक्षक र विद्यार्थी मिलाउने काम उनीहरुको हुन्छ।

उनीहरु अहिले १ कक्षा देखि स्नातक तहका विद्यार्थीहरुलाई आवश्यकता अनुसारको शिक्षक र शिक्षकलाई आवश्यकता अनुसारको विद्यार्थी भेटाएर ट्युसन कक्षाहरु संचालन गर्ने काम गरिरहेका छन्। यस्तै उनीहरुसँग ३५०० देखि ४००० शिक्षकहरु उपलब्ध छन्।

त्यस्तै हिजोआज उनीहरुले विभिन्न स्टेशनरीहरुसँग सम्पर्क राखेर पनि विद्यार्थीहरु समेट्ने गरेका छन्। फेसबुकमा धेरै भन्दा धेरै मानिसहरुको संलग्नता हुने भएकाले उनीहरुले फेसबुकबाट पनि मार्केटिङ गर्दै आइरहेका छन्। त्यसकारण अहिले विद्यार्थीहरु भेट्न उनीहरुलाई धेरै गार्हो पर्दैन। हाल २१४ वटा ट्युसन कक्षाहरु संचालन भइरहेको उनीहरु बताउछन्। उनीहरुले शिक्षक र अभिभावक दुवैजनाबाट १० देखि १५ प्रतिशतसम्म फिस् लिने गरेका छन्। यसबाट मासिक रुपमा ७० देखि ८० हजार रुपैयाँ कमाउने गरेको उनीहरु बताउछन्।

समस्याहरुसँग जुझ्दै आज डबल्युयाचपेडिया (WHpedia) ले धेरै जनालाई मद्दत गरिरहेको छ। विजय र तारा अहिले यो व्यवसाय गरेर निकै खुसि छन्। अबको २ वर्षपछि उपत्यका बाहिर पनि आफ्ना सेवाहरु पुर्याउने उदेश्यले दिनरात विजय र तारा खटिएका छन्। आउने दिनहरुमा उनीहरु पढाइका लागि मात्र नभएर देशभरी विभिन्न कलाहरु बाढ्ने वातावरणको सृजना गर्ने सोचमा छन्।

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !