काठमाडौँ मोडल अस्पतालबाट केही पाहिला बागबजार जाने दिशातर्फ बढाउने हो भने दायाँतर्फ मोडमा देखिन्छ ‘दिप मोबाइल रिप्यरिङ्ग सेन्टर’। पसलभित्र नजर लगाउने हो भने मुक्तिनाथ घिमिरे हँसिलो अनुहार र मिजासिलो बोलिका साथ आफ्ना ग्राहकहरूसँग झुम्दै मोबाइल मर्मतमा व्यस्त भेटिन्छन्।

 मकवानपुरको ठिङ्गन गाउँपालिकामा जन्मिएका ४० वर्षीय मुक्तिनाथ घिमिरेको बाल्यकाल निकै सुखसँग बित्यो। त्यसबेला उनको परिवार गाउँमा सम्पन्न वर्गमा गनिने हुनाले उनलाई  खानलगाउनको कुनै कमी भएन। ७ कक्षा सम्मको पढाई उनले गाउँकै स्कुलमा घरपरिवारको माया प्रेममा भुल्दै पार गरे तर गाउँको त्यस स्कुलमा ७ कक्षाभन्दा माथिल्लो तहको पढाई हुँदैन थियो। त्यसपछि उनी जीवनमा पहिलो पल्ट घरभन्दा टाढा बस्नु पर्ने भयो; उनी आफ्नो घरभन्दा ३ घण्टा टाढा, ललितपुरको माल्टामा रहेको एक विद्यालयमा पढ्न बाध्य भए।

 सबै राम्रै चल्दै थियो, ललितपुरको त्यसै विद्यालयबाट उनले १० कक्षासम्मको पढाई पनि सजिलै उत्तीर्ण गरे। तर उता घरमा मुक्तिनाथका ३ दिदीबहिनीहरूको विवाह भैसकेको, त्यसमाथि १३० मुरी धान फल्ने खेतमा बर्सेनि बाली लगाउनु पर्ने, बाबुआमालाई घरमा सघाउनका लागि बुहारीको खाँचो महसुस हुन थाल्यो। केटी खोजियो, कुरा छिन्यो, १८ वर्षको कलिलो उमेरमा नै मुक्तिनाथ वैवाहिक जीवनको सुरुवात भयो।

 घरको जेठो छोरो उनी, विवाह पछि जिम्मेवारीहरू थपिनु स्वाभाविक नै थियो । तर मुक्तिनाथको धेरै पढ्ने इच्छालाई केहीले छेक्न सकेन। उनीले पाटन क्याम्पसमा पोलिटिकल साइन्स र इकोनोमिक्स मेजर लिएर १२ को पढाई पनि पूरा गरे। १२ सके पछि उनको पहिलो जागिर थियो- दरबारमार्ग स्थित फूडल्याण्डमा अकाउन्टेन्ट !

 एकदिन फुडल्याण्डमा खाजा खान आएका एक विदेशीले कतार स्थित आफ्नो कम्पनीमा कामदारहरू खोजिरहेको र कामदारसँग एक रुपैयाँ पनि नलिई विदेश लैजाने प्रस्ताव गरे। मुक्तिनाथलाई एक हिसाबले चिठ्ठै परेझै भयो।

 तर यो खुसी धेरै दिन टिकाउ भएन, नेपालमा हुँदा रीसेपसनको काममा भनी लगिएका मुक्तिनाथलाई कतार पुगेपछि मोबाइल तथा कम्प्युटरको मार्केटिङमा पठाईयो। खाडीको तीन तातो सहेर दिनको ३६ घण्टा नसुती काम गरेको ६ वर्षे लामो अनुभव बोकेर उनी नेपाल फर्किए।

 विदेशले मुक्तिनाथलाई जीवन भर नभुल्ने दुख दियो, तर जीवनभर काम लाग्ने पाठ पनि सिकायो । उनले विदेशबाट केही धन त आर्जन गरे नै सँगसँगै मोबाइल र कम्प्युटर सम्बन्धी मार्केटिङको ६ वर्षे लामो अनुभवबाट उनले धेरै कुरा सिके। अब त्यी अनुभवहरू तथा सीपलाई स्वदेशमै एउटा उचित ठाउँ दिन मात्र बाँकी थियो तर आफू पूर्ण हिसाबले यो क्षेत्रमा परिपक्व नभएका कारणले उनले तालिम लिने निर्णय गरे। उनले आफूले चिनेका ठाउँमा मात्र १५,००० रुपैयाँ तिरेर ६ महिने मोबाइल रिप्यरिंगसम्बन्धि तालिम पनि लिए। भन्छन् “अहिले यो तालिम दुवै ;बेसिक तथा एडभान्स कोर्स सिक्ने हो भने १ लाख पचासहजार लाग्छ”।

 हातमा लगानी त छँदै थियो, त्यस माथि सिप पनि भए पछि मुक्तिनाथमा आफ्नै व्यवसाय सुरु गर्ने हिम्मत पलायो| तर काठमाडौँमा सटर पाउन कहाँ सजिलो हुन्छ र? सुरुमा त सटर पाउनै उनलाई निकै कठिनाइ पर्‍यो। बागबजारको अस्तव्यस्त चोकमा खाली सटर पाएपछि सुरुवातमा पसलका लागि चाहिने समानहरु उनले असन तथा महाबौधका होलसेलबाट जुटाए, करिब ८ लाखको लगानीमा सुरु भयो “दिप मोबाइल रिप्यरिंग सेन्टर, बागबजार काठमाडौँ”।

 उनको  विदेशबाट आर्जित पैसा लगानी बन्यो, अनुभव सीप बन्यो, एक पछि अर्को गर्दै पसलमा कामहरू आउँदै जान थाल्यो| दिन बित्दै जाँदा उनको व्यापार पनि उचाइमा पुग्न केही बेर लागेन ।

मोबाइल, हेडफोन, इयरफोन र बिस्तारै सिम कार्ड, रिचार्ज कार्ड बेच्दै उनले आफ्नो ४ सदस्यको परिवार बिना कुनै आपत्तिका साथ सजिलै पाल्न थाले। यहाँसम्मकी उनी नोकिया फोन सबैभन्दा बढी बेच्ने व्यापारीमा दोस्रो नम्बरमा परेका थिए। यस्तो प्रतियोगितामा सफल हुँदा उनलाई निकै फाइदा भयो। एकातिर उनले उपहार स्वरूप मोटरसाइकल पाए भने अर्कातिर उनलाई सामान किन्न निकै सजिलो हुन थाल्यो। आफ्नै पसलमा आएर सामान बेचिदिनु भन्दै थुप्रै कम्पनीहरूका मान्छेहरू आउन थाले। उनको व्यवसायले एउटा नाम पाइसकेको थियो। उनले पसललाई नाम अनुसार बिस्तारै बिस्तारै बढाउँदै लगे।

 अब त उनले व्यवसाय सुरु गरेको पनि दस वर्ष बितीसक्यो तर मुक्तिनाथ अझै पनि बिहान ८ बजे देखि बेलुकी ८:३० बजेसम्म पसलमा मेहेनत गर्छन्। उनकी श्रीमतीले ११ बजे घरबाट खान तयार गरी पसल ल्याउँछिन् र आफूले सकेको मद्दत गर्छिन्। उनका १८ वर्षीय छोरा पनि बिहानको पढाई पुरा गरेर दिउसो पसलमा बसिदिन्छन् र फेसबुकमार्फत व्यवसायको प्रवर्धन गर्न पनि सघाउँछन्। त्यस्तै उनको सालो समेत दिउसो पसलमा बसिदिन्छन् काममा परिवारको यति राम्रो सहयोग हुँदा मुक्तिनाथलाई अचेल त्यति अप्ठेरो पर्दैन, उनी आफै पनि यो पेसामा राम्रैसँग अभ्यस्त भैसकेका छन्।

 सूचना प्रविधिको युग परिवर्तन भएसँगै हिजोआज मुक्तिनाथलाई फोन र फेसबुक मार्फत सामानको अर्डर आउँछ। उनी अर्डर अनुसारको सामान पुर्‍याउन मोटरसाइकल लिएर ग्राहकले दिएको ठेगानामै पुग्छन्।

 भन्छन् “हातमा सिप भयो भने जहाँ पनि बाँच्न सकिन्छ। प्र्याकटिकल (Practical) शिक्षा हाँसिल गर्ने हो भने दुख पाइँदैन। अझ इलेक्ट्रोनिक सम्बन्धी शिक्षा लिनु त निकै राम्रो हो। यो काम घरमै बसेर पनि गर्न सकिन्छ। अहिले महिनामै मेरो १ लाखको हाराहारीमा नाफा हुने गरेको छ।”

 मिठो बोलेर तथा विश्वासिलो काम गरेर  ग्राहकहरूलाई उनले दिगो बनाईसकेका छन्। नाम मुक्तिनाथ भएता पनि साथीभाइहरू माझ उनी ‘प्रलाद’का नामले चर्चित छन्। आएका ग्राहकहरूलाई नजानेका कुराहरू बताइदिने, सिकाइदिने हुनाले जुनसुकै उमेर समूहका ग्राहकहरूलाई पनि उनीसँग कुरा गर्न अप्ठ्यारो हुँदैन।




0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img