Photo Source : wittyvows.com

‘मेरो पनि एउटा सपना छ’, प्राय सबै व्यक्तिका मनमा यो भनाइ कहीँ कतै लुकी बसेको नै हुन्छ र त्यी सपना पूरा गर्न उमेरले छेक्दैन, चाहिन्छ त केवल इच्छा, लगन र मेहनत! सानै उमेरबाट आत्मनिर्भर बन्ने कोसिस गरेकी एलिसा बस्नेत पनि यस्तै सोचाई राख्छिन्। लुभु घर भएकी २२ वर्षीय एलिसा अहिले ललितपुरको कुमारीपाटीमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्छिन्।

सिन्धुलीमा जन्मेकी एलिसा ८ वर्षकी हुँदा उनका बाबा-आमा काठमाडौँमै घर बनाई बसाई आउने भए । ५ सदस्यको परिवारमा उनी, उनकी दिदी, भाइ, आमा, बुबा र उनकी हजुरआमा सबै काठमाडौँ आए । सानैबाट घरपरिवारको लाड-प्यार र राजधानीको शिक्षा-दिक्षा पाएकी एलिसालाई आफूले रोजेजस्तो खान र लगाउन कहिल्यै दुख भएन । उनी फुर्सदको समयमा आफूलाई शृङ्गार गर्न रुचि राख्थिन् र समग्रमा सुखी जीवन बिताई रहेकी थिइन् ।

तर पनि “मलाई आफ्नो मामुबाबाले सबै दिएकै छन्, मैले किन काम गर्नु पर्‍यो र?” भन्ने सोच उनमा कहिल्यै आएन, बरु घर-परिवारको लागि आफै केही गर्न सकु भन्ने लागिरहन्थ्यो।

१० कक्षाको फलामे गेट पार गर्ने बित्तिकै उनले लगनखेल स्थित हिमशिखर कोओपरेटीभ, नामक सहकारी संस्थामा क्यासीयरका रुपमा काम पाइन्। बालकुमारी स्थित एक कलेजमा म्यानेजमेन्ट विषयमा भर्ना पनि भइन् । उनी बिहान सबेरै उठेर कलेज पढ्न जान्थिन् र दिउसोभरि काम गरी घर फर्कदा रात पर्ने बेला हुन्थियो । रु ३००० तलबमा काम सुरु गरेकी उनलाई दिनभरि अरूको अधीनमा बसेर काम गर्न निकै गाह्रो पर्‍यो। तर सानो उमेर, त्यस बेला जागिर छोडी अन्य आफ्नै केही काम वा व्यवसाय सुरु गर्न पनि उनलाई तत्काल हिम्मत आएन।

यही दोधारको परिस्थितिमा उनलाई आँट दियो उही आफ्नो शृङ्गार प्रतिको रुचिले। त्यसबेलासम्म उनले घरमा आफूभन्दा ठूला दिदीहरू र युटुबमा हेरेरै पनि धेरै कुराहरू त सिकी सिकेकी थिइन्। त्यतिकैमा घर नजिकै एउटा ब्युटी पार्लर खोलेर बसेकी दिदीसँग उनको कुराकानी भयो । तिनै दिदीले उनलाई सिटिइभीटि (CTEVT) को निःशुल्क तालिमका बारेमा बताइन् र तालिमको फर्म भर्न समेत सघाइन्।

यही एउटा निर्णयले उनको भविष्यतर्फ नयाँ रेखा कोरिदियो। इन्टरभ्युमा उनी सजिलै सफल भइन् र तालिम लिन थालिन्। बिहान सबेरै उठेर उनी कलेज जान्थिन् र ११ देखि ३ बजे सम्म तालिम लिन जान्थिन्। बेलुकी ४-५ बजेसम्म भने उनले एक पार्लरमै मेहेन्दी लगाउने कक्षा दिएर आफ्नो खर्च आफै जुटाउँथिन्।

ब्युटिसियनको तालिम, पहिलो र दोस्रो गरी दुई तहमा दिइन्छ। पहिलो तहमा सामान्य र दोस्रो तहमा एडभान्स कुराहरू सिकाइन्छ। सामान्य भित्र थ्रेडीङ, वान लाइन मेहेन्दी, म्यानीक्योर, पेडीक्योर, ब्लोड्राइसेटिङ, स्यामपु, क्लिन्जिंग, रोल-सेटिङ्ग, हेयर कट, व्याकसिङ्ग, हेयर वाश आदि जस्ता कुराहरू सिकाइन्छन्। पहिलो तह पास गरेर ३ वर्षको अनुभव पछि मात्रै दोस्रो तहको अर्थात् एडभान्स् तालिम लिन पाइन्छ।

एडभान्सभित्र भने इस्ट्रेट, कर्ली, हेयर कलर, हेयर ब्लिच, हेयर हाइलाइट, हेयर कटिंग, फूल ब्राइडल मेकअप, स्किन ब्लिच, हेयर जुरो, फेस हाइलाइट र फेसीयलहरु पर्छन्। उनले यी दुवै तालिमहरू सजिलै पास गरिन् ।
तालिम लिनेक्रममा उनको एकजना साथीसँग राम्रै चिनजान भएको थियो। उनकी साथी पनि पार्लर खोल्ने सोचमा रहीछन्। दुवैजनाको राम्रो सल्लाह भयो र उनीहरूले एउटा ब्युटी पार्लर किन्ने निर्णय लिए। सातदोबाटोमा एउटा पार्लर बिक्रीमा रहेको थाहा भएपछि रु. ५०,००० बैना दिएर साझेदारीमा पार्लर चलाउन उनीहरू हौसिए। बैनाको लागि चाहिने पैसा भने उनले मेहेन्दी लगाउन सिकाएर नै जम्मा गरिसकेकी थिइन्। घरबाट केही थप सहयोग लिएपछि सुरु भयो एलिसाको सपनाको व्यवसाय।

समय बित्दै गयो एलिसाले आफ्नो तर्फबाट सक्दो मेहनत गरिन् तर पनि व्यवसाय सोचेजस्तो हुन सकिरहेको थिएन। त्यसमाथि पार्टनरसिपमा व्यवसाय सुरु गरेकी साथीसँग पनि पहिलेजस्तो मेलमिलाप हुन सकेन। एलिसालाई लाग्यो कतै यो ठाउँ पो पार्लरका लागि ठिक भएन की?

उनी पार्लरका लागि नयाँ ठाउँ खोज्न थालिन्। उनले अर्की एक साथीबाट कुमारीपाटिमा एउटा पसल बिक्रीमा रहेको थाहा पाइन्। यसपटक एलिसालाई पार्लर कस्तो ठाउँमा चल्दैन भन्ने कुराको राम्रो अनुभव भैसकेको थियो। पहिले भन्दा फरक यसपटक भने नजिकै कलेज, स्कुल देखि लिएर थुप्रै होस्टेलहरूसमेत रहेको पाएपछि उनलाई व्यापार राम्रो होला भन्ने अनुमान भयो।

यसपटक भने उनका बाबुआमा समेत आएर उनलाई ठाउँ हेरी निर्णय लिन सहयोग गरे र लगानी स्वरूप उनको हातमा ४,५०००० रकम थमाए। यसपटक उनलाई एक्लै यो पार्लर सञ्चालन गर्नुपर्ने थियो र उनी भर्खर १९ वर्ष मात्र लाग्दै थिइन्। यसबाट उनमा अझ बढी जिम्मेवारी बोध भएको महसुस भयो। सुरुको दिनमा एउटा राम्रो पार्लर चलाउनका लागि चाहिने उपकरणहरू उनीसँग थिएनन्। त्यसैले उनको पहिलो ध्यान आएको नाफाबाट पार्लरमा आवश्यक उपकरणहरू जोड्नेमा गयो।

सुरुमा खासै राम्रो नाफा हुन सकेन तर समय बित्दै जाँदा उनले नियमित ग्राहकहरू बनाउन थालिन्। उनी नियमित आउने नजिकै रहेको होस्टेलका विद्यार्थीहरूलाई विशेष छुटहरू दिई आकर्षित गर्न थालिन्। त्यसपछि आम्दानी पनि निकै राम्रो हुन थाल्यो। अहिले उनले आफूलाई सघाउन एकजना कामदार राखेकी छिन्। एकैजनालाई भएपनि रोजगारी दिन पाउँदा उनी निकै सन्तुष्ट रहेको बताउँछिन्।

“मैले मेरो पढाई खर्च येही पेसाबाट जुटाएँ। घर खर्चका लागि आमाबुबालाई पनि सहयोग गर्दै आएकी छु। बाबुआमाले पार्लर किन्दा दिनुभएको पैसा पनि मैले यो वर्ष उहाँहरूलाई तिरिसकेँ। अहिले पार्लरबाट महिनामा ५० देखि ६० हजारसम्म नाफा हुने गरेको छ। यस पेसालाई अङ्गालेर निकै खुसी छु।”

एक वर्ष अगाडी उनले सिप विकास तालिम केन्द्रमा १ महिने स्थरउन्नति तालिम पनि दिइन्। दिनको २ घण्टा तालिम दिएर एक महिनामा उनले २०,००० कमाएकी थिइन्। अहिले पार्लरबाट महिनामा ५० देखि ६० हजारसम्म नाफा हुने गरेको छ। उनको पार्लरमा तालिमको व्यवस्था पनि गरिएको छ। दुई देखि तीन जना तालिमका लागि कहिल्यै टुट्दैनन्।

अब त एलिसाले बि.बि.एस (B.B.S)सम्मको पढाई पनि पूरा गरिसकेकी छिन्। पढेका कुराहरूबाट व्यवसाय गर्न सजिलो भएको उनले बताइन्। आउँदो दिनहरूमा पार्लर सम्बन्धी नै पढाई गर्ने र आफ्नो व्यवसायलाई ठूलो रूप दिने उनको सपना रहेको छ।

‘यो पेसा पढेका तथा नपढेका दुवै किसिमका व्यक्तिले गर्न सक्छन्। पार्लर भनेको थोरै लगानीले पनि धेरै राम्रो आम्दानी गर्न सकिने व्यवसाय हो। अझै पनि हाम्रो देशमा श्रींगरसम्बन्धी व्यवसायलाई सम्मानपूर्वक हेरिँदैन। म यो पेसालाई समाजमा एउटा उचित ठाउँ दिने प्रयास गर्दैछु। एकदिन एउटा ठूलो तालिम केन्द्र खोल्ने मेरो सपना छ जसले नपढेका मानिसहरूलाई पनि सजिलै जीवन जिउन मद्दत गर्नेछ। येही सपना पूरा गर्न जाँगर चलाईरहेकी छु’,उनले थपिन्।

एलिसाका ग्राहकहरूसँग कुराकानी गर्दा पनि निकै राम्रो प्रतिक्रियाहरू आए। तिनै मध्ये एकजना ग्राहकले भनिन्,‘एकपटक दिदीको पार्लर आएपछि अन्त जान मन लाग्दैन’। एलिसाका लागि पनि ग्राहक भगवान् जस्तै हुन्, ग्राहकले दिएको पैसा उनी ढोगेर मात्र राख्ने गर्छिन्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल