विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने, गरेमा सिधै जेल!

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

टि.भी हेर्दा नेपाली झण्डा प्रयोग भएका विज्ञापनहरू कत्तिको याद गर्नुभएको छ? त्यस्ता विज्ञापनहरू आइरहन्छन्। विशेषगरी सिमेन्टको विज्ञापनमा झण्डाको प्रयोग बढी भएको देखिन्छ। त्यस्ता विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ अनुसार राष्ट्रिय झण्डा प्रयोग गरेर आफ्ना उत्पादन तथा सेवाको विज्ञापन गर्न नपाइने भनिएको छ।

के के गर्न निषेध गरिएको छ?

  • राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि काम आफूले गर्न वा अरु कोही मार्फत गराउन
  • राष्ट्रिय झण्डामा अंकित चन्द्र सूर्यलाई तलमाथि पर्ने गरी उल्टो राख्न 
  • च्यात्न, जलाउन, फ्याँक्न, झण्डामा कुनै सामान पोको पार्न 
  • विज्ञापनमा राष्ट्रिय झण्डाको प्रयोग गरेर अवमूल्यन वा दुरुपयोग गर्न 
  • आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्य ठाँउमा लगाउन वा चन्द्र सूर्य तल माथि गराउन 
  • शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको चिन्ह राख्न 
  • फहराउने बाहेक अरु काममा राष्ट्रिय झण्डाको प्रयोग गर्न 

दुरुपयोग गरेमा के सँजाय हुन्छ?

विज्ञापनमा झण्डा प्रयोग गरेर झण्डाको दुरुपयोग गरेको भेटिएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय पनि हुनसक्छ। त्यसैले राष्ट्रिय झण्डा प्रयोग गरेर त्यस्ता सामाग्रीहरू तयार गर्दा सावधानी अपनाउनुहोला। 

स्रोत: यो लेख विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५   राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धि कार्यविधि, २०६९ पढेर तयार पारिएको हो।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।