व्यवसायमा बजार र विज्ञापन

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

वस्तु तथा सेवा खरिद बिक्री गर्ने ठाउँ बजार हो। वस्तु तथा सेवा ग्राहकसम्म पुर्‍याउने कामलाई बजार गर्ने भन्दछन्। जीवन सञ्चालनका लागि हामीले विभिन्न वस्तु तथा सेवाहरूको प्रयोग गरिरहनुपर्ने हुन्छ। यी वस्तुहरू हामी बजारबाट नै प्राप्त गर्दछौँ। व्यवसायमा बजारको ठूलो महत्त्व हुन्छ। 

बजार भएन भने व्यवसाय सफल हुन सक्दैन। त्यसैले व्यवसायको सोच र स्किम/योजना बनाउँदा नै बजारको बारेमा ध्यान दिनु अति आवश्यक हुन्छ। व्यवसायीहरूले आफ्ना वस्तुहरू तथा सेवाहरूको मूल्य, गुणस्तर, प्राप्त गर्न सकिने स्थान, समय आदिको बारेमा विभिन्न माध्यमबाट ग्राहक तथा उपभोक्ताहरूलाई जानकारी दिइरहेका हुन्छन्। वस्तु तथा सेवाको बजार गर्ने यो एउटा तरिका हो। यही माध्यमबाट जानकारी लिएर ग्राहक तथा उपभोक्ताहरूले सेवा तथा सेवाहरू खरिद गर्ने सोच तथा योजना बनाउँछन् ।  

“बोल्नेको पीठो बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन” भन्ने हाम्रो परम्परादेखि चल्दै आएको भनाइ छ। यसको अर्थ हो, आफ्नो सेवा वा उत्पादन उपभोक्तासम्म पुर्‍याउन बिक्रेताको, सक्रियता सीप र कला चाहिन्छ। कला भएन भने बजार हुँदैन। बजारको लागि वस्तु वा सेवाको परिचय, त्यसको गुणस्तर, मूल्य र उपलब्ध हुनसक्ने समय आदिले धेरै प्रभाव पार्दछ। यी आवश्यक कुराहरूको जानकारीबाट मात्र वस्तुको माग बढ्दछ। यसका लागि हिजोआज हरेक वस्तुको विज्ञापन गर्ने गरिन्छ। 

बिक्रीयोग्य सेवा वा वस्तुहरूको प्रचार-प्रसारका लागि रेडियो, टी.भी., पत्रपत्रिका, मोबाइल, वेबसाइट आदिबाट दिइने सूचना वा जानकारी विज्ञापन हो। विज्ञापन सम्बन्धमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मा विज्ञापन भन्नाले “कुनै वस्तु,सेवा,कार्यक्रम वा अवसरको बारेमा छापा, विद्युतीय माध्यम, अनलाइन, सामाजिक सञ्जाल ,होर्डिङ बोर्ड लगायतका माध्यमबाट सार्वजनिकरुपमा प्रचार-प्रसार गर्ने उद्देश्यले तयार गरिएका शब्द वाक्य, चित्र, तस्बिर, सङ्केत पोस्टर, पर्चा, प्रकाश चिन्ह, संरचना वा जुनसुकै किसिमको श्रव्य, दृश्य वा श्रव्यदृश्य सम्झनुपर्छ।”  भनिएको छ। 

व्यवसाय गर्ने हरेक व्यक्तिले आफ्नो वस्तुको विज्ञापन गर्दछन्। विज्ञापन व्यवसायको आकार, प्रकृति आदिमा भर पर्दछ। स्थानीय बजारमा मात्र सीमित भएका सानातिना व्यवसायीहरूले आफ्नो वस्तुको बारेमा व्यक्ति–व्यक्तिमार्फत पनि प्रचार-प्रसार गर्न सक्दछन्। टाढा-टाढासम्म बजार भएका व्यवसायहरूको लागि भने विज्ञापनका लागि माथि भनिएका अन्य उपायहरू अपनाउनु पर्दछ। आफ्नो व्यवसायका बारेमा प्रचार- प्रसार गर्न प्रत्यक्ष भेटघाट, भेला जस्ता माध्यमहरू अपनाउन सकिन्छ। 

विज्ञापन स्पष्ट बुझिने भाषामा हुनु पर्दछ। अवस्थाअनुसार स्थानीय भाषामा पनि गर्न सकिन्छ। सम्बन्धित व्यवसाय सम्बन्धमा बढाई-चढाइ तथा झुटा कुराहरूको विज्ञापन (प्रचारप्रसार) गर्नु हुँदैन। प्रचलित ऐन नियमबाट निषेध गरिएका विषयमा विज्ञापन गर्न पाइँदैन। आफ्नो सेवा वा बस्तुको विज्ञापन गर्दा आफूजस्तै व्यवसाय गर्ने अन्य व्यक्ति, संस्था अर्थात् प्रतिस्पर्धीहरूका बारेमा   नकारात्मक टिप्पणीहरू गर्न पाइँदैन, शिष्टता र मर्यादाको ख्याल गर्नुपर्दछ। विज्ञापन सम्बन्धमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ परिच्छेद २ मा भएको विज्ञापन सम्बन्धी व्यवस्थाहरूलाई ध्यान दिनुपर्दछ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।