व्यवसायको लागि पूँजीको खोजी

व्यवसाय सुरु गर्न वा बढाउन पूँजी (वित्त) को आवश्यकता पर्दछ। कति पूँजी आवश्यक पर्छ भन्ने कुरा कस्तो र कुन आकारको (कत्रो) व्यवसाय गर्ने भन्ने कुरामा भर पर्दछ। त्यस्तो पूँजीको स्रोत भनेको आफूसँग  भएको नगद र बाँकी ऋण नै हो। 

व्यवसायको योजना गर्दा लगानी गर्ने पैसा कति चाहिन्छ भन्ने कुरा थाहा हुन्छ। त्यसको आधारमा आफैसँग कति छ र कति ऋण लिनुपर्ने हो त्यसको लेखाजोखा गर्नु पर्दछ। व्यवसाय गर्दा यति आफूसँग पहिल्यै हुनुपर्छ अनि यति ऋण नै लिनु पर्छ भन्ने छैन। त्यो आफ्नो अवस्थाको कुरा हो। 

आफूसँग चाहिने जति पैसा भएपछिमात्र व्यवसाय गर्छु भन्दा धेरै समय पर्खनु पर्ने हुन सक्छ र सबै ऋणको पैसालेमात्र गर्दा पनि ऋण नै नपाइने वा चुनौती धेरै आउने हुन सक्दछ। अर्थात् कुनै परिस्थितिले व्यवसाय बिग्रियो भने ऋणको किस्ता तिर्न गाह्रो हुन्छ र त्यसले झन् ठूलो समस्या निम्त्याउन वा तनाव दिन सक्छ। त्यसैले व्यवसाय सुरु गर्दा सामान्यतया जम्मा लगानीको आधा जति पैसा आफैसँग हुनु र आधा जति ऋणको भर गर्नु सबै हिसाबले राम्रो मानिन्छ। 

ऋणका स्रोतहरू विभिन्न हुन्छन्। जहाँबाट ऋण पाइन्छ वा लिइन्छ ती ऋणका स्रोत हुन्। बैङ्कहरू, लघुवित्त वित्तीय संस्थाहरू, सहकारीहरू, साथीहरू, नातागोता, साहू महाजन आदि आवश्यक परेको बेला ऋण लिने स्रोतहरू हुन्। व्यवसाय सञ्चालन गर्नको लागि पनि तिनैबाट ऋण लिन सकिन्छ। तर ऋण लिँदा  सरकारबाट पैसाको कारोबार गर्ने अनुमति पाएका बैङ्क तथा वित्तीय संस्थाहरूबाट लिनु राम्रो हुन्छ, किनभने  तिनीहरूमा निश्चित, ठिक्क हुन्छ र तिनीहरू विश्वासिला पनि हुन्छन्। साथीहरू, आफन्त, साहू महाजन आदिबाट लिने हो भने पनि ऋण लिएको मिति, रकम, व्याज आदिका सर्तहरू र लिने दिने तथा साक्षीहरूको हस्ताक्षर आदि दुरुस्त उल्लेख हुनुपर्दछ।

समय-समयमा केही गैह्र सहकारी संस्थाहरू, सरकार तथा स्थानीय निकायहरूबाट तोकिएका व्यवसायहरू, (जस्तैः कृषिमा आधारित, लघु, घरेलु आदि उद्यम व्यवसायहरू) र तोकिएका वर्ग (जस्तैः विपन्न वर्ग तथा महिला आदि) तथा उमेर (जस्तै: युवा) आदिका लागि अनुदान तथा सहुलियत ब्याजदरका ऋणहरू पाउन सकिन्छ। त्यसका लागि आवश्यक सूचनाहरू लिइरहनु पर्दछ। 

ऋण त्यसै हचुवाको भरमा लिन हुँदैन। त्यसका लागि केही आवश्यक कुराहरूमा विशेष ध्यान दिनुपर्दछ । जस्तै:

  • ऋणको योजना गर्दा र ऋण लिँदा परिवारका सदस्यसँग  छलफल गर्नु पर्दछ।
  • आफ्नो व्यावसायिक योजनाको आधारमा कति ऋण आवश्यक पर्ने हो, त्यति मात्र लिनु पर्दछ। पाइन्छ भन्दैमा धेरै लिन हुँदैन। 
  • ऋण लिँदा किस्ता, व्याज,सेवा शुल्क आदि सर्तहरूको बारेमा स्पष्ट हुनु पर्दछ।
  • ऋणको किस्ता तिर्ने उपायहरू के-के हुन सक्दछन्, त्यसको बारेमा पहिल्यै विशेष ख्याल गर्नु पर्दछ।

ऋण लिएपछि त्यसलाई तोकिएकै व्यवसायमा लगानी गर्नु पर्दछ र मिहिनेतपूर्वक काम गर्नु पर्दछ। 

नेपाल सरकारले हाल सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको छ। कार्यविधिको परिच्छेद २ दफा ३ मा बैङ्क तथा वित्तीय संस्थाहरूबाट दिइने विभिन्न किसिमका सहुलियतपूर्ण कर्जाको उल्लेख गरेको छ। जुन यस प्रकार छन् :

  क) व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा,रु. पाँच करोडसम्म 

  ख) शिक्षित युवा स्वरोजगार कर्जा, रु. सात लाखसम्म 

  ग) विदेशबाट फर्केका युवा परियोजना कर्जा, रु. दश लाखसम्म 

  घ) महिला उद्यमशील कर्जा, रु. पन्ध्र लाखसम्म 

  ङ) दलित समुदाय व्यवसाय विकास कर्जा, रु दश लाख सम्म 

  च) उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, रु. पाँच लाखसम्म 

यी सबै कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको हुनेछ। किस्ता भुक्तानी अवधि बैङ्क तथा वित्तीय संस्थाले व्यवसायको प्रकृति हेरी तोक्ने छ। सहकारीमार्फत पनि व्यवसाय सञ्चालनका लागि सहुलियत ऋणहरू पउन सकिन्छ। त्यस्तो अनुदानका लागि सहकारी विभागले समय समयमा सूचना जारी गरी अनुदानका लागि आह्वान गर्दछ र त्यसबारे आफूले जानकारी लिइरहनु पर्दछ।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।