ऋण व्यवस्थापन

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यवसाय सञ्चालन गर्दा आफूसँग भएको पैसाले मात्र नपुग्न सक्छ। त्यस्तो बेलामा ऋण लिनुपर्ने हुन सक्दछ। व्यवसायका लागि एकमुष्ट लगानी रकम एकै पटक जुटाउन नसक्ने भएको हुनाले धेरै मानिसहरू बैङ्क तथा वित्तीय संस्था, सहकारीहरू, समूह, आदिबाट ऋण लिने गर्दछन्। ऋण लिएपछि त्यसको सही व्यवस्थापन गर्नुपर्ने हुन्छ।

ऋणको व्यवस्थापन भनेको ऋण लिएपछि त्यसलाई तोकेकै विषयमा लगानी गर्नु, मिहेनतपूर्वक काम गरी व्यवसायबाट फाइदा लिनु र ऋणको सर्तअनुसार समयमा त्यसको भुक्तानी गर्नु हो। केही मानिसहरू एउटा कामको लागि भनेर ऋण लिन्छन् र अर्को काममा प्रयोग गर्दछन्, केही मानिसहरू उत्साहित भएर ऋण लिन्छन् तर, त्यसै अनुसार लगनशील भएर अनि धैर्य धारण गरेर काम गर्दैनन्। केही मानिस ऋण लिएपछि तोकेकै काममा खर्च गर्दछन् र मिहेनतपूर्वक काम गरी राम्रो फाइदा लिन्छन्। ऋण लिइसकेपछि त्यसको सही व्यवस्थापन गर्नु जरुरी हुन्छ।

ऋण भनेको दायित्व हो, अर्थात तिर्नुपर्ने कुरा हो। यसलाई सबैले तोकिएको सर्त अनुसार समयमा नै तिर्नु पर्दछ। त्यसैले ऋण लिने बेला नै ऋण लिने मानिसले यो यो उपायबाट यसरी तिर्छु भन्ने सोच बनाउनु पर्दछ। त्यसो गरिएन भने ऋणले पछि धेरै समस्याहरू निम्त्याउन सक्दछ। 

सामान्यतया धेरै मानिसहरूको सोच व्यवसायको आम्दानीबाटै किस्ता तिर्न सकिन्छ, अरू उपाय किन आवश्यक पर्छ र भन्ने हुन्छ। तर कुनै कारणले सोचेको समयमा व्यवसायबाट आम्दानी लिन नसकिने र व्यवसाय पुरै बिग्रने अवस्था पनि आउन सक्ने हुन्छ र ऋण तिर्न कठिनाइ पर्न सक्दछ। त्यसैले यस्तो अवस्था समेतलाई ध्यानमा राखी भुक्तानीका अन्य उपायहरू पनि सोच्नु पर्दछ। परिवारमा हुने गरेका अनावश्यक खर्चहरू घटाएर र भइरहेको आम्दानीबाट सकेसम्म धेरै रकम बचाएर ऋणको किस्ता भुक्तानीलाई सजिलो बनाउन सकिन्छ। 

ऋण लिएपछि समयमा किस्ता तिर्न सकिएन भने जरिबाना तिर्न पर्ने, धितो राखेको भए गुम्न सक्ने, ऋणको कालो सूचीमा पर्न सकिने, सामाजिक विश्वास, इज्जत प्रतिष्ठा गुम्ने फेरी अर्को अर्को पटक ऋण पाउन नसकिने, मानसिक तनाव बेहोर्नुपर्ने आदि विभिन्न समस्याहरू आइपर्न सक्दछन्। त्यसैले कुनै पनि व्यवसायीले व्यवसाय सञ्चालनको लागि ऋण लिएपनि, त्यसको सही प्रयोग गरी समयमा भुक्तानी गर्नु पर्दछ। यो ऋणको सही व्यवस्थापन हो ।     

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।