व्यवसायको लेखा

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, खाताबही, आदि र उक्त कागजपत्र, आयव्ययको विवरण, हिसाब वा गणनालाई लेखा भन्दछन्। यसरी लेखा राख्ने कार्यलाई लेखापाल भन्ने पनि गरिन्छ। 

व्यवसायमा लगानी, आम्दानी र खर्च आदि पैसाको कारोबारसँग सम्बन्धित कुराहरू धेरै हुने हुनाले त्यसको स्पष्ट र पारदर्शी हिसाब किताब राख्नु अत्यन्त जरुरी हुन्छ। लेखा कुनै पनि व्यवसायको आर्थिक अभिलेख हो। 

व्यवसायको लेखा राख्दा धेरै फाइदाहरू हुन्छन्। यसबाट के-के काममा कति खर्च भयो हेर्न सजिलो हुन्छ र के-के बाट कति आम्दानी भयो, त्यो पनि थाहा पाउन सकिन्छ। लेखा राख्ने गर्दा आम्दानी र खर्चको तालमेल मिले नमिलेको हेर्न वा त्यसको लेखाजोखा गर्न सजिलो हुन्छ। अनावश्यक खर्चको चुहावट नियन्त्रण गर्न  पनि लेखाले नै सहयोग गर्दछ। 

थप लगानीको लागि आवश्यक पर्ने पूँजीको अनुमान गर्न तथा व्यवसाय सफल तथा असफल कुन अवस्थातिर जाँदै छ, त्यसको पूर्व अनुमान गर्न र सो अनुसार आवश्यक निर्णयहरू गर्न पनि सजिलो हुन्छ। लेखा राख्दा लिनुपर्ने वा तिर्नुपर्ने कुराको स्पष्ट हिसाब हुनेहुँदा लेनदेन सम्बन्धी विवाद हुन पाउँदैन। स्पष्ट लेखाले साझेदारी व्यवसाय भएमा लाभ तथा हानीको बाँडफाँड गर्न सजिलो हुन्छ र व्यवसायको नाफा घाटाको मूल्याङ्कन गर्न सजिलो हुन्छ । 

लेखाका धेरै फाइदाहरू छन् तर, लेखा राख्दा धेरै कुराहरूमा ध्यान पुर्‍याउनु पर्दछ। पहिलो कुरा व्यक्तिगत खर्च र व्यवसाय सम्बन्धी खर्चलाई एकै ठाउँमा राख्नु हुँदैन। यसले व्यवसायको वास्तविक आम्दानी खर्च कति हो भन्ने कुरा थाहा पाउन सकिँदैन र व्यवसायको नाफा घाटाको अवस्था पत्ता लगाउन सकिँदैन। 

त्यसरी नै आम्दानी र खर्चका खाताहरू पनि छुट्टा-छुट्टै बनाउनु पर्दछ। व्यवसायको हरेक दिनको कारोबारको हिसाब त्यही दिनमा नै दुरुस्त गर्ने र व्यवसाय तथा कारोबारको आकार अनुसार दैनिक साप्ताहिक वा मासिक रूपमा त्यसको परीक्षण गर्ने गर्नु पर्दछ। 

हिसाब-किताब सकेसम्म कम्प्युटरमा नै राख्नु पर्दछ र कुनै असावधानी वा अन्य प्रविधिक कारणले समस्या आउन सक्ने हुनाले व्याकअपको व्यवस्था गर्नुपर्दछ। आजभोलि बजारमा विभिन्न किसिमका सफ्टवेयरहरू पाइने हुनाले व्यवसाय अनुसार आफूलाई मिल्दो सफ्टवेयर प्रयोग गर्दा हिसाब-किताब दुरुस्त हुनुको साथै समयको पनि बचत हुन्छ। व्यवसायमा आर्थिक कारोबार पनि भइरहने हुनाले व्यवसायको नाममा अनिवार्यरुपमा बैङ्क खाता खोल्नु पर्दछ र आर्थिक कारोबार  बैङ्क चेकबाट मात्रै गर्ने गर्नु पर्दछ।

लेखा राख्नका लागि विभिन्न माध्यमहरू प्रयोग गरिएका हुन्छन्। ती माध्यमहरू भनेका डने बुक, खर्च तथा आम्दानी खाताहरू, सम्पत्ति तथा दायित्व खाताहरू, कम्प्युटर सफ्टवेयर आदि हुन्। आफ्नो व्यवसायको अवस्थाको आधारमा यी माध्यमहरूको प्रयोग गरी व्यवसायको लेखालाई दुरुस्त, पारदर्शी र अद्यावधिक राख्नु पर्दछ। यसका लागि कर्मचारीलाई आवश्यकता अनुसार तालिमहरूको व्यवस्था गर्नु पर्दछ। 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।