आफ्नो व्यवसायको लेखा व्यवस्थापन गर्दा यी कुरामा ध्यान दिनुहोस्!

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यवसाय गर्दा पैसाको कारोबार भईहाल्छ। पैसाको कारोबारलाई राम्रोसँग सम्हाल्न सकिएन भने व्यवसाय अस्तव्यस्त हुन्छ। आफ्नो व्यवसायलाई सहि हिसाबले चलाईरहनका लागि हिसाब-किताबलाई चुस्त राख्नुपर्छ। हिसाब-किताब राख्न र व्यवसायलाई व्यवस्थित किसिमले चलाउन के के कुरामा ध्यान दिनुपर्छ त? त्यसका लागि तल दिइएको उपायहरु अपनाउन सकिन्छ।

  • आफ्नो व्यवसायको नाममा बैंकमा खाता खोल्नुहोस्: कुनै पनि व्यवसाय गर्दा कम्पनीकै नाममा बैंकमा छुट्टै खाता खोल्नु उपयुक्त हुन्छ। व्यवसायबाट हुने गरेको एक दिनकोसम्पूर्ण आम्दानी अर्को दिनमा बैंकमा जम्मा गरेमा यसबाट दैनिक, मासिक र वार्षिक रुपमा हुने गरेको आम्दानी पनि स्पष्ट देख्न सकिन्छ। व्यवसायसँग सम्बन्धित सबै कारोबार बैंकबाटै गर्नु छरितो र भरपर्दो पनि हुन्छ। यसबाट चोरी हुने, प्रकोप र विपत्तिमा पैसा नष्ट हुने, जस्ता समस्या पनि आउँदैन। बैंकले नै स्टेटमेन्टको रुपमा दैनिक हिसाब राखिदिनाले आफ्नो काम पनि सहज हुन्छ।
  • व्यक्तिगत र व्यावसायिक खर्चलाई एकैठाउँमा नामिसाउनुहोस्: व्यक्तिगत कारोबार र व्यावसायको कारोबारलाई एकैठाउँमा मिसिन दिनु हुँदैन। तपाईंले व्यक्तिगत रुपमा गर्नुभएको कारोबार र लेनदेनलाई व्यवसायसँग जोडेमा त्यसले व्यवसायको हिसाब अस्पष्ट हुन सक्छ। यतिमात्र होइन, व्यक्तिगत खर्च व्यवसायमा मिसियो भने तपाईंले थाहै नपाई व्यवसाय घाटामा गईसकेको पत्तो नहुन सक्छ। आफ्नो कारोबार र व्यवसायको कारोबारलाई फरक राखेमा हिसाबकिताब पारदर्शी हुन्छ। यसले व्यवसायको नाफा र घाटाको स्थिति छर्लङ्ग हुन्छ।
  • आफ्नो दैनिक हुने हरेक कारोबार, आम्दानी र खर्चको हिसाब लिखित रुपमा राख्नुहोस: ढड्डा होस् वा कम्प्युटर, जे सम्भव छ त्यसैमा हरेक कारोबारको रेकर्ड राख्नुपर्छ। कुन दिन, कुन समयमा कति उत्पादन बिक्रि भयो, कसले उधारो कारोबार गर्यो, कसले सापटी लग्यो, कोबाट तपाईंले सापटी लिनुभयो, जस्ता सबै विवरणको रेकर्ड राख्नुपर्छ। त्यस्तै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ दैनिक ढुवानी गर्नुपर्ने हुन सक्छ। भाडामा ठाउँ लिनुभएको छ भने भाडा तिर्नुपर्ने हुनसक्छ अनि कर तिर्ने, तलव दिने पनि गर्नुपर्छ।
  • आम्दानी र खर्चको विवरण तल दिइएको जसरी बनाउन सकिन्छ:
  • आफ्नै लागि पनि तलब छुट्टाउनुहोस्: आफ्नै लागि पनि तलब तोक्नुपर्छ र कम्पनीको नाममा बाँकी रकम जम्मा गर्नुपर्छ जसले आगामी लगानी र व्यवसाय विस्तार गर्नुपर्छ। आफ्नै लागि तलव नछुट्ट्याउँदा व्यवसाय घाटामै चलेको पनि थाहा नहुन सक्छ। त्यसैले हरेक व्यवसायीले आफ्नो तलव तोक्नैपर्छ।
  • अंक र तथ्यलाई बढी ध्यान दिनुहोस:  सामान्य अड्कल मात्रै गर्ने होइन कि कति फाइदा र कति घाटा, कति लगानी र कति आम्दानी भन्ने बारेमा ठोस अंकमा नतिजा हेर्ने बानि गर्नुपर्छ। अड्कलले मात्रै व्यवसाय राम्रोसंग चल्न सक्दैन। त्यसैले अंकमा बढी विश्वास गर्ने र हिसाबकिताबलाई भावी योजना र रणनीतिको केन्द्र बनाउनुपर्छ। दिमागमा याद भईहाल्छ भन्ने लापार्वाही सोंचले पनि व्यवसायको स्थितिको राम्रो ज्ञान नहुन सक्छ।
  • व्यावसायिक रुपमा काम गर्न सक्ने लेखापाल राख्नुहोस्: सबै काम आँफैले गर्न नसकिने हुन सक्छ। व्यवसायलाई कानुनी रुपमा आवश्यक पर्ने न्युनतम मापदण्ड पनि पुरा हुन सकेन भने व्यवसाय राम्ररी फस्टाउँदैन। त्यसका लागि व्यावसायिक रुपमा लेखा व्यवस्थापन गर्ने लेखापालको आवश्यकता पर्न सक्छ। तलब दिनुपर्ने लोभमा लेखापाल नराख्दा व्यवसायले सक्नेजति फाइदा पनि नदिएको हुन सक्छ।
  • आफुले अपनाएको तरिकाको पुनरावलोकन गर्नुहोस्:  तपाईंले लेखा व्यवस्थापन गर्नका लागि अपनाउने गरेको तरिकाहरुले सहि नतिजा दिएको छ कि छैन भन्ने बारेमा पनि सोंच्नुपर्छ। त्यसैले आफुले काम गर्ने तरिका गलत भएको महसुस भएमा त्यसलाई सच्याउनु पनि पर्छ र नयाँ तरिका प्रयोग गर्नुपर्ने हुन्छ। हिसाब राखेमा व्यवसायमा चाहिने वा नचाहिने खर्च के के हुन्छन्, पुराना समयमा कस्ता गल्ति भए र अब कसरी अघि बढ्ने भन्ने बारे गतिलो योजना बनाउन सहयोग हुन्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।