कर्मचारी व्यवस्थापन

पछिल्लो अपडेट गरिएको: माघ २१, २०७८

कुनै व्यवसायिक फर्म वा कम्पनीले कर्मचारीहरुको छनोट, नियुक्ति, सेवा सुविधा, सरुवा, वढुवा कामको मूल्यांकन, अभिलेख व्यवस्था आदि सबैको व्यवस्था मिलाउने काम कर्मचारी व्यवस्थापन हो । यसले कर्मचारीको कामलाई व्यवस्थित गर्न,निष्पक्ष,पारदर्शी र नीतिसम्मत बनाउन  मद्दत पुग्दछ । 

कर्मचारीहरुको व्यवस्थापन गर्ने तरिका :

  • कर्मचारी सेवा नियमावली अनिवार्य बनाउने 
  • कर्मचारी अभिलेख दुरुस्त राख्ने
  • सेवा,सुविधा,शर्तहरु(तलब, भत्ता, बिदा आदि) स्पष्ट तोक्ने  
  • कार्य जिम्मेवारीहरु स्पष्ट उल्लेख गर्ने 
  • कामको नियमित अनुगमन मूल्यांकन गर्ने 
  • राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने व्यवस्था गर्ने 

कर्मचारीहरुबाट राम्रो काम लिन उनीहरुको क्षमता विकास गर्नुपर्दछ । कर्मचारी क्षमतावान् भएमा र कर्मचारीमा कामप्रति उत्प्रेरणा वा आकर्षण भएमा मात्र व्यवसाय सफल हुन्छ । त्यसैले रोजगारदाताले बेलाबेलामा कर्मचारीहरुलाई पेशागत ज्ञान, सीप सम्वन्धी तालिम तथा अध्ययन भ्रमणहरुको अवसर दिने साथै काम कर्तव्य र अधिकारका बारेमा पनि जानकारी गराइरहनुपर्दछ । कर्मचारीले पनि पूर्ण इमान्दारिताकासाथ काम गर्नुपर्दछ र व्यवसाय,फर्म वा कम्पनीको अहित हुने गलत नियतले कुनैपनि काम गर्नुहुँदैन । 

कर्मचारीहरुलाई तालिम दिँदा हुने फाइदाहरु :

  • कर्मचारीको ज्ञान सीप र व्यवहारमा परिवर्तन हुन्छ 
  • काम गर्ने तरिकामा परिवर्तन आउँछ 
  • कामको सिलसिलामा हुनसक्ने दुर्घटनाहरु(विशेष गरी औजार तथा उपकरणहरु प्रयोग हुने व्यवसायमा) बाट बच्न सकिन्छ 
  • उत्पादन तथा सेवाको गुणस्तर वृद्धि हुन्छ 
  • सीप भएपछि थोरै समय,साधनस्रोतबाट पनि धेरै काम हुन सक्दछ । 
  • व्यवसाय सफलतातिर उन्मुख हुन्छ 

कर्मचारीहरुबाट राम्रो काम लिन उनीहरुलाई उत्साहित गर्नुपर्दछ । काम अनुसारको तलब वा अन्य सेवा सुविधाहरु दिनुपर्दछ । काम अनुसार प्रोत्साहन भत्ताहरुको व्यवस्था गर्नुपर्दछ । कर्मचारीको कामको जिम्मेबारी,कार्यसमय र सेवा सुविधाहरु लिखितरुपमा स्पष्ट तोकिनुपर्दछ । अतिरिक्त काम लगाएमा सो अनुसार अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्दछ । कर्मचारीहरुको परिवारप्रति चासो सुख दुखमा साथ र सहानुभूति राख्ने घुलमिल हुने बानीले कर्मचारीमा अपनत्व (काम वा व्यवसाय आफ्नै हो भन्ने भावना) भै काममा प्रभावकारिता आउँछ । कर्मचारीलाई हप्काउने, दप्काउने अति नियन्त्रणमा राख्नेभन्दा उनीहरुको मन वा विश्वास जितेर,प्रोत्साहन दिएर काममा लगाउनु राम्रो हुन्छ । 

ठूला व्यावसायिक फर्म तथा कम्पनीहरुले कर्मचारी सेवा नियमावली बनाई सो अनुसार कर्मचारीहरुको नियुक्ति,सेवा सुविधा अवकास आदिको स्पष्ट व्यवस्था गर्नुपर्दछ । । नेपालमा श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ को व्यवस्था छ । रोजगारदाताले कर्मचारी वा कामदारलाई काम लगाउँदा श्रम सम्वन्धी ऐन नियमको पालना गर्नुपर्दछ  । नीति नियमहरुलाई बेवास्ता गरी गैह्र कानूनी तरिकाले काम लगाएमा,अमर्यादित काममा संलग्न गराएमा,तोकिए अनुसारको ज्याला नदिएमा,श्रम शोषण गरेमा वा कुनै अमानवीय व्यवहार गरेमा ऐन नियम अनुसार कारबाही हुन सक्दछ । त्यसैले त्यस्तो कुनै अवस्था आइपरेमा कर्मचारीले श्रमिकको हक हितमा काम गर्ने ट्रेड युनियनहरु,स्थानीय प्रहरी इकाइ तथा सम्वन्धित अन्य सरकारी निकायमा उजुर गर्न गर्दछन् ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।