व्यवसायका लागि कर्मचारी व्यवस्थापन

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

सरकारको कुनै ओहदामा काम गर्ने वा कुनै व्यवसाय, कम्पनी वा फर्ममा काम गर्ने व्यक्तिलाई कर्मचारी भन्दछन्। व्यवसायसँग सम्बन्धित काममा प्रत्यक्षता संलग्न भएर काम गर्ने व्यक्तिलाई कामदार वा श्रमिक पनि भन्ने गरिन्छ। सामान्यतया व्यवसायमा उत्पादन तथा सेवाको कामसँग प्रत्यक्ष सम्बन्ध राख्ने, जस्तैः मेसिन औजार उपकरणहरू चलाउने, प्रोसेस गर्ने आदि र प्रशासनिक कामहरू गर्ने जस्तै : लेखा राख्ने, सम्पर्क समन्वय आदि गर्ने गरी काम गर्ने व्यक्ति वा कर्मचारीहरू दुईथरी हुन्छन्। काम लगाउने व्यक्तिहरू चाहिँ रोजगारदाता हुन्। व्यवसायमा कर्मचारी वा काम गर्ने व्यक्ति कति चाहिन्छ भन्ने कुरा व्यवसाय कत्रो वा कुन आकारको छ त्यसमा भर पर्दछ। 

व्यवसायमा त्यसको दर्ता र व्यावसायिक योजना पछिको अर्को महत्त्वपूर्ण कार्य भनेको कार्य सञ्चालन हो। त्यसका लागि कर्मचारीहरूको आवश्यकता पर्दछ। व्यवसायको सफलताको मुख्य आधार पनि काम गर्ने व्यक्ति अर्थात् कर्मचारीहरू नै हुन्। व्यवसाय सुरु गर्ने चरणमा नै कर्मचारीहरूको आवश्यकता पर्दछ। त्यसैले त्यस्ता कर्मचारीहरूमा निम्न अनुसारका गुणहरू हुनु पर्दछ । जस्तै :

  • काम सम्बन्धी ज्ञान, सीप तथा अनुभव। 
  • सञ्चालित व्यवसायको बारेमा पूर्ण जानकार। 
  • कामको योजना बनाउने, सो अनुसार काम गर्ने खुबी। 
  • लगनशील, इमान्दार, विश्वासिलो र आवश्यक कुरामा गोपनीयता राख्न सक्ने खुबी।  
  • शारीरिक र मानसिक रूपमा तन्दुरुस्त, फुर्तिलो। 
  • सरोकारवालाहरूसँग राम्रो सम्पर्क समन्वय गर्न सक्ने खुबी।  
  • सकारात्मक सोच र धैर्यधारण गर्न सक्ने खुबी।
  • आवश्यक कुराहरूमा गोपनीयता कायम राख्न सक्ने।
  • समयअनुसार आफूलाई परिवर्तन गर्न सक्ने। 
  • सम्बन्धित सबैसँग घुलमिल हुनसक्ने।
  • नयाँ कुरा सिक्न चाहने प्रगतिशील सोच। 
  • काम कर्तव्य र अधिकारका विषयमा जानकार। 

कर्मचारी क्षमतावान् भएमा र कर्मचारीमा कामप्रति उत्प्रेरणा वा आकर्षण भएमा मात्र व्यवसाय सफल हुन्छ। त्यसैले रोजगारदाताले बेलाबेलामा कर्मचारीहरूलाई पेसागत ज्ञान, सीप सम्बन्धी तालिम तथा अध्ययन भ्रमणहरूको अवसर दिने साथै काम कर्तव्य र अधिकारका बारेमा पनि जानकारी गराइरहनु पर्दछ। कर्मचारीले पनि पूर्ण इमान्दारिताका साथ काम गर्नु पर्दछ र व्यवसाय, फर्म वा कम्पनीको अहित हुने गलत नियतले कुनै पनि काम गर्नु हुँदैन।  

कर्मचारीहरूलाई तालिम दिँदा हुने फाइदाहरू:

  • कर्मचारीको ज्ञान सीप र व्यवहारमा परिवर्तन हुन्छ। 
  • काम गर्ने तरिकामा परिवर्तन आउँछ। 
  • कामको सिलसिलामा हुन सक्ने दुर्घटनाहरू (विशेष गरी औजार तथा उपकरणहरू प्रयोग हुने व्यवसायमा) बाट बच्न सकिन्छ। 
  • उत्पादन तथा सेवाको गुणस्तर वृद्धि हुन्छ। 
  • सीप भएपछि थोरै समय, साधन स्रोतबाट पनि धेरै काम हुन सक्दछ। 
  • व्यवसाय सफलतातर्फ उन्मुख हुन्छ।  

कर्मचारीहरूबाट राम्रो काम लिन उनीहरूलाई उत्साहित गर्नु पर्दछ। काम अनुसारको तलब वा अन्य सेवा सुविधाहरू दिनुपर्दछ। काम अनुसार प्रोत्साहन भत्ताहरूको व्यवस्था गर्नु पर्दछ। कर्मचारीको कामको जिम्मेवारी, कार्य समय र सेवा सुविधाहरू लिखितरुपमा स्पष्ट तोकिनु पर्दछ। अतिरिक्त काम लगाएमा सो अनुसार अतिरिक्त भत्ताको व्यवस्था गर्नु पर्दछ। 

कर्मचारीहरूको परिवारप्रति चासो सुख-दुखमा साथ र  सहानुभूति राख्ने घुलमिल हुने बानीले कर्मचारीमा अपनत्व (काम वा व्यवसाय आफ्नै हो भन्ने भावना) भई काममा प्रभावकारिता आउँछ। कर्मचारीलाई हप्काउने, दप्काउने अति नियन्त्रणमा राख्नेभन्दा उनीहरूको मन विश्वास जितेर काममा संलग्न गराउनु राम्रो हुन्छ। 

ठूला व्यावसायिक फर्म तथा कम्पनीहरूले कर्मचारी सेवा नियमावली बनाई सो अनुसार कर्मचारीहरूको नियुक्ति, सेवा सुविधा अवकाश आदिको स्पष्ट व्यवस्था गर्नु पर्दछ। नेपालमा श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ को व्यवस्था छ। रोजगारदाताले कर्मचारी वा कामदारलाई काम लगाउँदा श्रम सम्बन्धी ऐन नियमको पालना गर्नु पर्दछ। 

नीति नियमहरूलाई बेवास्ता गरी गैह्र कानूनी तरिकाले काम लगाएमा, अमर्यादित काममा संलग्न गराएमा, तोकिए अनुसारको ज्याला नदिएमा, श्रम शोषण गरेमा वा कुनै अमानवीय व्यवहार गरेमा ऐन नियमअनुसार कारबाही हुन सक्दछ। त्यसैले त्यस्तो कुनै अवस्था आइपरेमा कर्मचारीले श्रमिकको हक हितमा काम गर्ने ट्रेड युनियनहरू, स्थानीय प्रहरी इकाइ तथा सम्बन्धित अन्य सरकारी निकायमा उजुर गर्न गर्दछन्।       

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।