कर्मचारीलाई तालिममा पठाउने कि नपठाउने ? यसरी गर्नुहोस् निर्णय

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

आफ्ना कर्मचारीलाई तालिममा पठाउँदा केही समयका लागि उसको अनुपस्थितिमा व्यवसायका कामहरूमा बाधा पुग्नसक्छ र कुनै-कुनै तालिमहरूमा त व्यवसायले आफ्नो पैसा नै खर्च गरेर कर्मचारीलाई तालिममा पठाउनु पर्ने हुन सक्छ। तर, यसो भन्दैमा आफ्ना कर्मचारीलाई थप सीप र दक्षता हासिल गर्न नदिई सधैँ काममा दलाएर राख्ने कुरा पनि त आउँदैन।

तत्काल केही घाटा भए पनि थप तालिमले कमचारीको क्षमतामा वृद्धि गरी व्यावसायलाई कालान्तरमा  नाफा हुने कुरा पक्का छ। तर आवश्यकता नै नपरी कर्मचारीलाई जुनसुकै समयमा जुनसुकै तालिममा पठाउनु पनि त भएन। त्यसैले यस्तो दोधारे परिस्थितिमा सही निर्णय लिनको निम्ति हामीले यस लेखमा ‘कर्मचारीलाई तालिम आवश्यकता परेको कुरा कसरी थाहा पाउने ? भन्ने विषय उल्लेख गरेका छौं।  

कर्मचारीहरूले गरेको कामलाई सधैँ नियाल्ने

कर्मचारीलाई आफूले के काम गर्नुपर्ने हो र त्यो काम कसरी गर्नुपर्छ भन्ने बारे ज्ञान छ, की छैन भनेर समय समयमा उनीहरूले गरेको कामलाई नियाल्न सकिन्छ। यसबाट त्यो काम गर्दा ऊसँग भएको सीप काम लागिराखेको छ, कि छैन भनेर अनुमान गर्न मद्दत पुग्छ। जस्तै: कर्मचारीले कुनै काम गर्दा कति समयमा पुरा गर्छ? कति आत्मविश्वासका साथ गर्छ? उसले गर्ने कामको गुणस्तर कस्तो छ? उसले गरेको कामबाट ग्राहक र अन्य कर्मचारीहरू सन्तुष्ट देखिन्छन् या देखिँदैनन् ? भन्ने विषयमा नियाल्न सकिन्छ। 

व्यावसायी र कर्मचारी सँगै बसेर छलफल र सुझाव सङ्कलन गर्ने

व्यावसायी र कर्मचारीसँगै बसेर आपसमा छलफल चलाउने र खुलेर एकअर्कालाई सुझाव आदान प्रदान गर्ने वातावरण बनाउन सके कर्मचारीहरूले आफूलाई कस्ता सीप अभावका कारण काम गर्न असहज भएको हो भनी खुलेर बताउन सक्छन्। यसबाट व्यावसायी र कर्मचारी बिचको दुरी कम हुनुको साथै कर्मचारीलाई तालिम आवश्यकता भएको वा नभएको सजिलै पत्ता लगाउन सकिन्छ। 

काम पुरा गर्न आवश्यक सीपको जानकारी लिने

पहिले त व्यवसाय सञ्चालनमा कस्तो काम गर्नको लागि कस्तो किसिमको सिप र ज्ञान आवश्यक हुन्छ भनी राम्रोससँग थाहा पाउनु पर्छ र त्यसपछि आवश्यक सिप आफ्ना कर्मचारीसँग भएको या नभएको थाहा पाउन लेखाजोखा गर्नु पर्छ। यदि यी कामहरू राम्रोसँग पुरा गर्नको लागि आफ्ना कर्मचारीहरूको सिप र क्षमता पुग्दैन भने बुझ्नुहोस् तपाईँको कर्मचारीलाई तालिम दिने समय भयो।

अन्तर्वार्ता लिने

आफ्ना कर्मचारीहरू र ग्राहकसँग  विभिन्न प्रश्नहरू सोधेर पनि तालिमको आवश्यकता सम्बन्धी जानकारी सङ्कलन गर्न सकिन्छ। जस्तै: व्यवसायका नियमित ग्राहकहरूसँग आफ्नो व्यवसायका कर्मचारीहरूले दिएको सेवाको बारेमा उनीहरूको अनुभूति र राय कस्तो छ भनेर सोध्न सकिन्छ। यदि ग्राहकहरूलाई कर्मचारीको कुनै पक्षमा गुनासो लागेको छ वा भनौ कर्मचारीले पेस गरेको सेवा चित्त बुझेको छैन भने त्यसको समाधानको लागि पनि सही तालिम पहिचान गरी उनीहरूलाई उपलब्ध गराउन सकिन्छ। 

व्यवसायको नयाँ योजना र रणनीति अनुसार कस्ता नयाँ सीप चाहिन्छ मूल्याङ्कन गर्ने

व्यवसाय बढ्दै जाने क्रममा नयाँ योजना र रणनीतिहरू बनाउनु पर्ने हुन्छ। जस्तै: नयाँ प्रविधि भित्रयाउने, कुनै नयाँ बस्तु वा सेवा थप गर्ने आदि यस्तो अवस्थामा त्यसैअनुसार चाहिने सीपहरू भएका कर्मचारी कार्यरत छन्, कि छैनन् र छैनन् भने भएका कर्मचारीलाई कस्तो तालिम दिन सकिन्छ भन्ने बारे अनुमान गर्नुपर्छ किनकी सही सीप र क्षमता भएका व्यक्तिहरू कार्यरत रहेनछन् भने उनीहरूलाई कामबाट निकाल्नु राम्रो होइन। यसरी पनि कर्मचारीलाई तालिम आवश्यक भए/नभएको थाहा पाउन सकिन्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।