अनलाइन व्यवसाय: यसका फाइदा र ध्यान दिनुपर्ने कुराहरु

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

इन्टरनेटको प्रयोग गरेर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने व्यवसायहरूलाई अनलाइन व्यवसाय भनिन्छ। यसमा इन्टरनेटको माध्यमबाट ग्राहकहरूसम्म सेवा तथा उत्पादनको बारेमा जानकारी गराउने वस्तुहरूको खरिद, बिक्री गर्ने आदि क्रियाकलापहरू गरिन्छ। अनलाइनबाट वस्तु वा सेवाको अर्डर गर्न, खरिद तथा बिक्री गर्न सकिन्छ। 

विशेष गरी फोन, इन्टरनेट आदिको सुविधाहरू राम्रो भएको ठाउँमा अनलाइन खरिद बिक्रीको चलन बढ्दै गएको छ। सहरी जीवनशैली भएका मानिसहरू धेरै अनलाइन नै खरिद बिक्री गर्न मन पराउन थालेका छन्। व्यक्तिगत हिसाबमा सामान्यतया दैनिक उपभोग्य वस्तुहरू, लत्ताकपडाहरू, घरायसी फर्निचरहरू तथा उपकरणहरू अनलाइनबाट खरिद बिक्री हुने गर्दछन्।

व्यवसायको सन्दर्भमा व्यवसायलाई आवश्यक पर्ने कच्चा सामग्रीहरू, औजार उपकरणहरू र अन्य आवश्यक सामग्रीहरू खरिद साथै उत्पादित बस्तु तथा सेवाहरूको बिक्री अनलाइनबाट नै गरिन्छ।   

प्रविधिको विकाससँगै आजभोलि इमेल, वेबसाइट, फेसबुक, ट्विटर, एपहरू, ह्वाट्सएप, इन्स्टाग्राम आदि डिजिटल माध्यमहरू प्रयोग गर्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। त्यसैले व्यवसायीहरूले पनि आफ्नो व्यवसायको प्रचारप्रसार गर्न, वस्तु तथा सेवाको खरिद बिक्री गर्न यही माध्यमको प्रयोग गरिरहेका छन्।

अनलाइन व्यवसायका धेरै फाइदाहरू छन्। ती निम्न अनुसार छन् : 

  • यस्तो माध्यमबाट छोटो समयमा नै धेरै मानिसहरूलाई व्यवसाय सम्बन्धी जानकारी गराउन सकिन्छ।
  • अनलाइनका माध्यमहरू धेरैजसो निःशुल्क नै छन्।
  • यस्ता विधिको प्रयोगबाट समयको र खर्चको बचत हुन्छ।
  • सामानहरू छिटो प्राप्त गर्न वा डेलिभरी गर्न सकिन्छ।
  • ग्राहकहरूसँग सजिलै सम्पर्क गर्न र वस्तु तथा सेवाका सम्बन्धमा उनीहरूका धारणाहरू बुझ्न सकिन्छ।

 अनलाइन व्यवसाय गर्दा ध्यान पर्ने कुराहरू:

  • यस्तो व्यवसाय लिनेदिने दुबै पक्षसँग सम्बन्धित भएको हुनाले कोबाट खरिद गर्न लागिएको हो र कहाँ बिक्री गर्न लागिएको हो, ती कत्तिका विश्वासिला हुन्,  त्यसको बारेमा स्पष्ट हुनु पर्दछ। 
  • राम्ररी कुरा नबुझी पैसाको कारोबार गरिहाल्नु हुँदैन। 
  • सेवा वा वस्तु लिँदा वा दिँदाका प्रमाणहरू (कुनै लिखत वा रेकर्ड) राख्नु पर्दछ। 
  • सामाजिक सञ्जालका माध्यमहरूको सही प्रयोग गर्नु पर्दछ। 
  • खरिद बिक्री सम्बन्धमा व्यवसायको स्पष्ट योजना हुनु पर्दछ।
  • व्यवसायको सूचना र सन्देश स्पष्ट र सही समयमा हुनु पर्दछ। बढाइचढाइ पनि हुनहुँदैन। 
  • दिइने सूचना र सन्देशहरू बेला-बेलामा अद्यावधिक गरिरहनु पर्दछ।
  • ग्राहकहरूको प्रतिक्रिया वा गुनासाहरूलाई ध्यान दिनु पर्दछ। त्यस्ता गुनासाहरूको तत्कालै जवाफ दिनुपर्दछ र कृतज्ञता व्यक्त गर्नु पर्दछ। आफू खरिदकर्ता हो भने पनि सामानको सम्बन्धमा सुझाव सल्लाहहरू दिनु पर्दछ।
  • ग्राहक वा उपभोक्ताहरूबाट सुझावहरू लिनु पर्दछ र त्यसका लागि धन्यवाद दिनुपर्दछ साथै सुझाव अनुसार आवश्यक सुधार पनि गर्दै लैजानु पर्दछ।
  • खरिद बिक्रीको सरोकार बाहेक अन्य व्यक्तिगत विवरणहरू कसैलाई दिनु हुँदैन। 
  • खरिद बिक्री बाहेक अन्य कुराहरू हुन थालेमा गलत नियत पनि हुनसक्छ भन्ने विचार गरी सजगता अपनाउने।
  • सजगता अपनाउँदा अपनाउँदै पनि केही समस्या आइपरेमा प्रहरी साइबर ब्युरोमा जानकारी गराउने।

अनलाइन विधिहरूको प्रयोग गर्न इन्टरनेट सुविधा हुनु पर्दछ। कम्प्युटर तथा मोबाइलहरू हुनु पर्दछ र तिनीहरूको प्रयोग सम्बन्धी प्राविधिक ज्ञान पनि हुनु पर्दछ। जस्तै: इमेल गर्ने, वेबसाइट बनाउने, फेसबुक पेजहरु बनाउने, ट्विटरहरु मोबाइल एपहरू प्रयोग गर्ने आदि। 

यस्ता सीपहरूको विकास गर्नु पर्दछ र व्यवसायलाई अनलाइन विधिबाट सञ्चालन गरी फाइदा लिनु पर्दछ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।