व्यवसाय बजारीकरणको योजना

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

वस्तु वा सेवाको बिक्री गर्ने काम,बिक्री गर्ने तरिका वा कला नै बजारीकरण हो। बजारीकरण  ग्राहकमुखी  क्रियाकलाप पनि हो  जसले  ग्राहकको  आवश्यकता  र  चाहनालाई  कसरी  पूर्ति  गर्न  सकिन्छ  भन्ने सम्बन्धमा  बाटो  देखाउँछ। व्यवसायमा ग्राहकलाई देवता मान्ने चलन छ। ग्राहकको सन्तुष्टिले बजारीकरणलाई ठुलो टेवा पुर्‍याउँछ।   

जुनसुकै व्यवसायमा पनि ग्राहकहरूको आवश्यकता  र  चाहनालाई परिपूर्ति गर्ने,उनीहरूलाई सन्तुष्टि दिने र  नाफा पनि कमाउने उद्देश्य रहेको हुन्छ। यसैका लागि बजारीकरणको राम्रो योजना चाहिन्छ। एउटै प्रकारको व्यवसाय गर्ने मानिसहरूमा पनि कोही सफल छन्, नाफा कमाइरहेका छन् भने कसैले घाटा व्यहोर्नु परिरहेको र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ। यसको मुख्य कारण नै बजारीकरणको खुबी हो त्यसैले बजारीकरणको योजना आवश्यक छ। 

बजारीकरणको योजनाका धेरै फाइदाहरू छन्। जस्तै :

  • यसले उत्पादन र सेवाहरूको प्रवर्धन गर्न मद्दत पुग्दछ।
  • लक्षित बजारको पहिचान गर्न सजिलो हुन्छ।
  • उत्पादन तथा सेवाको लक्ष्य पुरा गर्न सहयोग हुन्छ।
  • वस्तु तथा सेवाको बजारीकरणको प्रक्रियालाई सजिलो र पारदर्शी बनाउँछ।
  • विक्रीमा आउने चुनौतीहरू घटाउन सहयोग पुग्छ।
  • बजारीकरणमा सुधार ल्याउन मद्दत गर्दछ।

बजारीकरणको योजनाभित्र निम्न विभिन्न कुराहरू पर्दछन्। जस्तै:

  • वस्तु वा सेवाको योजना 

यसमा ग्राहकको सन्तुष्टि अनुसारको गुणस्तर, रङ्ग, तौल, प्याकेजिङ् आदि कुराहरूको योजना गर्ने कुराहरू पर्दछन् ।

  • वस्तुको मूल्यको योजना 

यसमा मूल्य,कमिसन वा छुट दिने बोनसको व्यवस्था गर्ने आदि कुराहरूको योजना गर्ने  कुराहरू पर्दछन्।  

  • बजारको स्थानको योजना 

जस्तैः कहाँ कुन ठाउँमा लगेर बेच्ने हो,ग्राहकलाई पायक पर्ने स्थान कुन हो आदि ।  

  • प्रवर्धनको योजना
  • प्रचार प्रसार अर्थात् विज्ञापनको योजना 
  • प्रक्रियाको योजना  

सेवा दिने प्रक्रिया के हो अर्थात् ग्राहकसम्म वस्तु वा सेवा कसरी पुर्‍याउने

  • बजार गर्ने व्यक्तिको योजना  

ग्राहकसम्म वस्तु कसले पुर्‍याउने हो र कत्तिको सीप अनुभव भएको छ, त्यसको योजना व्यवसायको सफलता  वा  असफलता वस्तुको बजारीकरणको सीपमा भर पर्दछ। व्यवसायीले  आफ्नो  ग्राहकको  आवश्यकता  तथा  चाहना बुझेर सो अनुसार ग्राहक सम्म वस्तु तथा सेवा पुर्‍याउन सक्यो भने बजारीकरण प्रभावकारी हुन्छ। व्यवसाय जति ग्राहकमुखी हुँदै जान सक्छ त्यति नै त्यसको बजार बिस्तार हुँदै जान्छ  र व्यवसायबाट लाभ हुन्छ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।