व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

सञ्चालन भइरहेको व्यवसायलाई कुनै कारणले सञ्चालन गर्न छोड्नु व्यवसायको बहिर्गमन हो। यसमा व्यवसाय हस्तान्तरण वा बिक्री र बन्द वा खारेज गर्ने कुराहरू पर्दछन्।

व्यवसाय गर्दा यति वर्ष मात्र सञ्चालन गर्ने भन्ने हुँदैन। व्यवसाय सुरु गरेपछि सकेसम्म त्यसलाई सफल रूपमा सञ्चालन गर्ने र बढाउँदै लैजाने मानिसको उद्देश्य हुन्छ, तापनि  कहिलेकाहीँ विभिन्न परिस्थिति आउन गई यसलाई निरन्तरता दिन नसक्ने र व्यवसायको नियमित सञ्चालन व्यवस्थापनलाई रोक्नुपर्ने अवस्था हुन्छ, जसलाई व्यवसाय बन्द भनिन्छ।

व्यवसाय बन्द 

सामान्यतया: व्यवसायमा योजना बनाएअनुसार नाफा आउन छोडेमा, आफ्ना उत्पादन तथा सेवाका ग्राहकहरू घट्दै गएमा, आफ्नो स्वास्थ्यमा नराम्रो असर परेमा, कामदारहरूले काम छोड्दै जान थालेमा, साझेदार व्यवसाय भए साझेदारहरू बीच अविश्वास र आशङ्का बढ्दै गएमा, व्यवसायमा बढी जोखिम देखिँदै जानथालेमा, व्यवसायमा पर्याप्त नाफा नभएमा  तर, तिर्नुपर्ने ऋण वा दायित्व बढी भएमा, सुधार, परिवर्तन गरेर पनि अगाडि बढ्न सक्ने परिस्थिति नभएमा र सञ्चालन गर्न मन नलागेमा पनि त्यसलाई बन्द गर्नु पर्दछ।  

व्यवसाय बन्द गर्दा पनि दर्ता गर्ने बेलाका झैँ केही कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्दछ । बन्द गर्ने प्रक्रियाहरू एकलौटी व्यवसाय र साझेदारी व्यवसायका फरक-फरक छन्। 

एकलौटी व्यवसाय भएमा: 

  • कुनै करार वा सम्झौता छन् भने तिनलाई बन्द गर्नु पर्दछ। 
  • बाँकी रहेका वस्तुहरू बिक्री गर्नु पर्दछ। 
  • तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ।
  • सम्बन्धित सरोकारवालाहरूलाई बन्द गर्न लागेको कुराको जानकारी गराउनु पर्दछ। 
  • व्यवसायको दर्ता नम्बर आदि बन्द गर्नु पर्दछ। 

 साझेदार व्यवसाय भएमा:

  • सबै साझेदारहरूको बैठक गरेर बहुमतबाट बन्द गर्ने निर्णय गर्नु पर्दछ।
  • बाँकी वस्तुहरू भएमा लिलाम बिक्री गर्नु पर्दछ।
  • बाँकी सम्पत्तिको दुरुस्त हिसाब गरी नियम अनुसार सबैलाई भाग लगाउनु पर्दछ। 
  • तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ।
  • सम्बन्धित सरोकारवालाहरूलाई बन्द गर्न लागेको कुराको जानकारी गराउनु पर्दछ। 
  • व्यवसायको दर्ता नम्बर आदि बन्द गर्नु पर्दछ। 

व्यवसायको बिक्री 

व्यवसाय बन्द गर्नु बाहेक व्यवसायबाट बाहिरिने अर्को उपाय भनेको बिक्री गर्ने हो। बिक्रीमा आफूले चलाइरहेको व्यवसाय सहमतिका आधारमा कुनै निश्चित मूल्य कायम गरी अरूलाई हस्तान्तरण गरिन्छ। व्यवसाय बिक्री गर्दा व्यवसायको कानूनी पहिचान बन्द गर्नु पर्दैन, त्यो एकबाट अर्कोमा हस्तान्तरण हुन्छ। 

बिक्री गर्ने निर्णयमा पुग्नु अगाडि बिक्री गरिहाल्ने कि केही समय बन्दमात्र गर्ने भन्ने सोच्नु पर्दछ। व्यवस्थापनमा परिवर्तन ल्याएर हो कि त्यसको पनि पुनरावलोकन गर्नु पर्दछ। आफ्ना नजिकका मानिसहरूसँग सल्लाह गर्नु पर्दछ। वित्तीय सल्लाहकार तथा कानूनी सल्लाहकार सँग छलफल गर्नु पर्दछ। बिक्री गर्ने सोच बनाएपछि  कर्मचारीहरूलाई समयमा नै जानकारी दिनु पर्दछ र नियम वा सम्झौताअनुसार तिर्नुपर्ने बाँकी रकमहरू तिर्नु पर्दछ। तर कर्मचारीका अभिलेखहरूलाई भने कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्दछ। भाडामा लिइएका जग्गा वा अन्य कुनै वस्तुहरू भएमा सम्झौताअनुसार तिर्नुपर्ने बाँकी रकम भएमा तिर्नु पर्दछ वा बाँकी बक्यौता छैन भने सम्झौता खारेज गर्नु पर्दछ।  

बिक्री वा हस्तान्तरण गर्दा पनि दर्ता गर्ने बेलाका जस्तै कानूनी प्रक्रियाहरू पूरा गर्नु पर्दछ। बिक्री वा हस्तान्तरण गर्ने अवस्थामा पनि एकलौटी व्यवसाय र साझेदारी व्यवसायका प्रक्रियाहरू फरक-फरक छन्।

 एकलौटी व्यवसाय भएमा: 

  • कुनै करार वा सम्झौता छन् भने तिनलाई खारेज गर्नुपर्छ वा किन्ने बेच्नेको सहमतिमा कानूनी रूपमा तिनको हस्तान्तरण गर्नु पर्दछ। 
  • बाँकी रहेका वस्तुहरूको सूची (स्टक लिष्ट) तयार गर्नु पर्दछ र तिनीहरूको मूल्य निर्धारण गरी बिक्री वा हस्तान्तरण गर्नु पर्दछ।  
  • तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ।
  • सम्बन्धित सरोकारवालाहरूलाई बिक्री गर्न लागेको कुराको जानकारी गराउनु राम्रो हुन्छ। 
  • बिक्री वा हस्तान्तरणका अन्य कानूनी प्रावधानहरू केही छन् कि भन्ने बारेमा मानिसहरूसँग कानूनी सल्लाह लिनु पर्दछ।

साझेदार व्यवसाय भएमा:

  • सबै साझेदारहरूको बैठक बसी बिक्री गर्ने निर्णय गर्नु पर्दछ।
  • बाँकी रहेका वस्तुहरूको सूची (स्टक लिष्ट ) तयार गर्नुपर्दछ र तिनीहरूको मूल्य निर्धारण गरी बिक्री वा हस्तान्तरण गर्नु पर्दछ।  
  • तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ।
  • सम्बन्धित सरोकारवालाहरूलाई बन्द गर्न लागेको कुराको जानकारी गराउनु राम्रो हुन्छ। 
  • बिक्री वा हस्तान्तरणका अन्य कानूनी प्रावधानहरू केही छन् कि भन्ने बारेमा मानिसहरूसँग कानूनी सल्लाह लिनु पर्दछ।

व्यवसाय निरन्तर सञ्चालन नगर्ने र कानूनी रूपमा बन्द वा हस्तान्तरण नगर्ने कुरा राम्रो होइन। त्यसो गर्दा अनावश्यकरुपमा जरिवाना तिरिरहनु पर्ने वा सम्बन्धित निकायले निष्क्रिय सूचीमा राख्ने साथै बेला-बेलामा प्रतिवेदनहरू बुझाउन, नवीकरण गर्न कर भुक्तानी गर्न ताकेता गरिरहने हुन सक्दछ। त्यसैले व्यवसाय सञ्चालन गर्न नसकेमा वा नसक्ने परिस्थिति आएमा कानूनअनुसार नै व्यवसाय बन्द वा बिक्री गर्नु उपयुक्त हुन्छ।       

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।