भर्ना भनेको संभावित कर्मचारीहरुको खोजी गरी र प्रक्रिया पूरा गरी कुनै संगठन वा व्यवसायमा कर्मचारी नियुक्त गर्नु हो । व्यवसायमा त्यसको दर्ता र व्यावसायिक योजना पछिको अर्को महत्वपूर्ण काम त्यसको कार्यान्वयन वा कार्य सञ्चालन हो । त्यसका लागि कर्मचारीहरुको आवश्यकता पर्दछ । व्यवसायको सफलताको मुख्य आधार पनि काम गर्ने व्यक्ति अर्थात कर्मचारीहरु नै हुन् । व्यवसाय सुरु गर्ने चरणमा नै कर्मचारीहरुको आवश्यकता पर्दछ । यस्ता कर्मचारीहरु आवश्यक प्रक्रिया पूरा गरी छनोट गर्नुपर्दछ । आवेदन दिएका व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्ति छान्ने गर्ने प्रक्रियालाई छनोट भनिन्छ । छनोट भएपछि काम दिने र काम गर्ने बीच दोहोरो संझौता अर्थात करारनामा गर्नुपर्दछ ।
कर्मचारी स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । छनोट प्रक्रिया पूरा गरी छनोट भएका र परीक्षण अवधि पूरा गरेका कर्मचारीहरु स्थायी हुन्छन् । व्यवसायिक फर्म वा कम्पनीले आफ्नो तजवीज अनुसार अस्थायी वा स्थायी कर्मचारीको व्यवस्था गर्दछ ।
कर्मचारी छनोटको प्रक्रिया :
१.आवश्यक परेको योग्यता वा क्षमता खोली आवेदन आह्वान गर्ने ।
२.आवेदन संकलन गर्ने र आवेदकहरुबाट अन्तरवार्ताको लागि छनोट गर्ने ।
३.अन्तरवार्ता लिने ।
४.अन्तरवार्तामा धेरै अंक पाउने व्यक्तिलाई छनोट गर्ने ।
५.छनोट भएको व्यक्तिलाई काम र पारिश्रमिक तोकी नियुक्ति दिने ।
कर्मचारी छान्दा निश्चित आधारहरु तयार गरी सो अनुसारको सीप क्षमता भएको कर्मचारी मात्र छान्नु पर्दछ । यसरी छनोट भएको कर्मचारीमा निम्न अनुसारका गुणहरु हुनुपर्दछ । जस्तै :
- काम सम्वन्धी ज्ञान,सीप तथा अनुभव भएको र आफ्नो काम प्रति उत्तरदायी
- सञ्चालित व्यवसायको बारेमा पूर्ण जानकार
- कामको योजना बनाउने,सो अनुसार काम गर्ने खुबी
- लगनशील,इमान्दार विश्वासिलो र आवश्यक कुरामा गोपनीयता राख्न सक्ने खुबी
- शारीरिक र मानसिक रुपमा तन्दुरुस्त, फुर्तिलो
- सरोकारवालाहरुसँग राम्रो सम्पर्क समन्वय गर्नसक्ने खुबी
- सकारात्मक सोच र धैर्यधारण गर्नसक्ने खुबी
- आवश्यक कुराहरुमा गोपनीयता कायम राख्नसक्ने
- समय अनुसार आफूलाई परिवर्तन गर्न सक्ने
- सम्वन्धित सबैसँग घुलमिल हुनसक्ने
- नयाँ कुरा सिक्न चाहने प्रगतिशील सोच
- कामकर्तव्य र अधिकारका विषयमा जानकार