चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

विमला थापा, सिन्धुलीमा सफल उद्यमीका रूपमा परिचित नाम। कमलामाई नगरपालिका-५ धुराबजारमा उहाँको  सौगात गृह तथा सातु उद्योग र सौगात ललिपप उद्योग छ। यी उद्योगमा प्रायः सेवाग्राही/उपभोक्ताको भिड देखिन्छ। त्यही भिडमा उहाँ कहिले उद्योगको उत्पादन बेचिरहनुभएको, त कहिले सामान प्याकिङ गरिरहेको भेटिनुहुन्छ। उहाँको यही व्यस्तता, मेहनत, लगनशीलता र परिश्रम जीविकोपार्जनको दरिलो स्रोत बनेको छ।   

विमला विवाह हुनुपूर्व एउटा संस्थामा काम गर्नुहुन्थ्यो। तर, जब विवाह भयो, तब जागिर गर्ने अवसर मिलेन। आर्थिक जिम्मेवारी झन् बढ्यो। त्यसपछि गृहिणी जीवनमा मात्र सीमित रहनुभएको थापाले ४ हजार लगानी गरेर टिका उद्योग सञ्चालन गर्नुभयो। थोरै लगानीमा राम्रो आम्दानी हुने सम्भावना देखेपछि उहाँले टिका बनाएर बेच्न थाल्नु भयो। केही वर्षपछिको क्रियाशीलताले टिका उद्योगबाट राम्रो आम्दानी भयो। त्यसपछि सौगात गृह तथा सातु उद्योग स्थापना गर्नुभयो, जुन उद्योग अहिले ‘अर्ग्यानिक’ उद्योगका रूपमा स्थापित छ।   

उक्त उद्योगमा फापरको पिठो, विभिन्न प्रकारका सातु, मकैको पिठो च्याँख्ला, सर्वोत्तम पिठो, अचारका लागि तयारी गरिएको आलस, तिलको छोप, बेसारको धुलो, बाह्र मसला, लोकल जातका दालहरू, अचार लगायतका अन्य स्थानीय उत्पादनलाई तयारी बनाएर बेचिन्छ। यस्तै खुवाको ललिपप पछिल्लो समय निकै चर्चामा छ । उहाँले सिजनल चाडपर्व विशेष खानेकुराको उत्पादन तथा व्यापार पनि गर्नुहुन्छ।  ४ लाखबाट सुरु भएको उहाँको व्यवसायले अहिले ८० लाख वार्षिक कारोबार गर्छ।

उद्योगको उत्पादन विदेशमा समेत पुग्ने गरेको छ। अहिले घर परिवारका सबै सदस्यहरू उहाँको प्रगतिमा खुसी छन्। श्रीमान् पनि विमलाको मेहनतले सफल हुँदै गएको व्यवसायमा सहयोग गर्नुहुन्छ।  ५ जनाको परिवार पाल्ने, छोराछोरी पढाउने सबै खर्च उद्योगबाट जोहो हुन्छ। उद्योगमा सामान्य परिवारका ३ जना महिलाले पनि रोजगार पाएका छन्। पहिले र अहिलेमा फर्केर हेर्दा मैले धेरै कुरामा परिवर्तन पाएकी छु। विमला भन्नुहुन्छ,“ यो परिवर्तन मेरो मेहनत र लगावले सफल भएको हो।”  

“विवाहपछि पनि केही सामान चाहियो भने आमा-बा सँग हात फैलाएर माग्नु पर्थ्यो, किन्न पैसा हुन्थेन, श्रीमान् पनि बेरोजगार। अहिले त मागेर होइन, दिएर अगाडी बढेको छु। मेरो छोरा र छोरी पनि राम्रो विद्यालयमा पढाई रहेकी छु।“ विमलाले खुसी हुँदै सुनाउनु भयो। उहाँ उद्योगसँगै सामाजिक सेवा, सङ्घसंस्थामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।  उहाँको क्रियाशीलता र मेहनतले पटक-पटक सम्मान समेत पाएको छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।