कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू

पछिल्लो अपडेट गरिएको: साउन २१, २०७८

कुनै प्रकारको उद्योग व्यापार पेसा वा यस्तै प्रकृतिका अन्य कामहरू वा व्यवसाय सञ्चालन  गर्नेले नियमअनुसार कर तिर्नुपर्दछ। एकलौटी वा साझेदार आदि सबै व्यवसायमा नियमअनुसार आयमा कर लाग्दछ। कर तिर्नु व्यवसायीको दायित्व वा कर्तव्य पनि हो।

राज्य कोषको दिगो आयस्रोत भनेकै व्यवसायीहरू वा नागरिकहरूले तिरेको कर हुनाले यसले देशको विकास गर्न र गरिबी हटाउन ठूलो मद्दत पुग्दछ। कर तिर्नु देश विकासको निम्ति लगानी पनि हो, किनभने देश विकसित भयो भने नागरिकहरूले राम्रो सेवा प्राप्त गर्दछन्। हामीले तिरेको कर हाम्रै विकासका लागि हो।

उद्योग, व्यापार, पेसा  व्यवसायबाट कमाएको वा लगानीबाट हुने आम्दानीमा र रोजगारीबाट कमाएको पैसामा कर लाग्दछ। यी बाहेक आकस्मिकरुपमा भएको लाभ, जस्तै : चिट्टा पुरस्कार आदिमा पनि कर लाग्ने नियम छ।

नेपालको कर सम्बन्धी ऐन नियममा व्यवस्था  भएअनुसार निम्न व्यक्तिहरूले कर तिर्नु पर्दछ :

  • आयआर्जन गर्न चाहने व्यक्तिले।
  • सबै व्यावसायिक व्यक्ति तथा निकायहरूले, जस्तै: लेखा परीक्षक, डाक्टर, इन्जिनियर, वकिल, व्यक्तिगत परामर्शदाता, बीमा अभिकर्ता, कलाकार, कमिसन एजेन्ट, भाडाका सवारीसाधन धनी, प्राकृतिक व्यक्ति, फर्म र कम्पनी आदि ।
  • रोजगारीबाट आयआर्जन गर्ने व्यक्तिहरूले ।
  • नाफा कमाउने उद्देश्यले स्थापना भएका सामाजिक, धार्मिक, शैक्षिक एवं परोपकारी संस्थाहरूले।

कति कर तिर्नुपर्छ भन्ने सम्बन्धमा सरकारले हरेक वर्ष करको पुनरावलोकन, संशोधन गर्दछ र सोहीअनुसार करको दर तोक्दछ। आर्थिक ऐन २०७७ र आर्थिक अध्यादेश २०७८ मा कर सम्बन्धी कुराहरू उल्लेख गरिएको छ। हरेक व्यवसाय गर्ने मानिसले तिनै ऐन नियमले व्यवस्था गरेअनुसारको कर तिर्नुपर्दछ।

कर तिर्नुपर्ने व्यक्तिले स्थायी लेखा नम्बर (PAN) अनिवार्य लिनुपर्दछ। स्थायी लेखा नम्बर लिइसकेपछि आफ्नो कार्यक्षेत्रभित्र परेको आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय वा तोकिएको ठाउँमा गएर कर तिर्नु पर्दछ। कानूनले तोकेको सीमासम्मको आर्थिक कारोबार गर्ने व्यक्ति वा संस्थाले मूल्य अभिवृद्धि कर (मू.अ.कर/ भ्याट)मा गई दर्ता गर्नु पर्दछ। PAN मा मात्र दर्ता भएको भए कारोबार गरेपछि र भ्याटमा समेत दर्ता गरेको भए हरेक महिनाको २५ गतेभित्र अघिल्लो महिनाको आफ्नो आर्थिक कारोबारको हिसाब र मू.अ. कर बुझाउनु पर्दछ।

कर नतिर्दा केही समस्याहरू आउन सक्दछन्। जस्तै :

  • जरिवाना तिर्न पर्ने हुन्छ।
  • व्यवसाय सञ्चालन तथा वृद्धि गर्दा राज्यबाट प्राप्त हुनसक्ने सुविधाहरू लिन सकिँदैन।
  • राज्यप्रति आफूले पुरा गर्नुपर्ने नागरिक दायित्व पुरा हुँदैन।
  • व्यवसाय बिक्री तथा हस्तान्तरण गर्न सकिँदैन।

नियमअनुसार कर तिर्नाले आफ्नो व्यवसायको राम्रो पहिचान हुन्छ र राज्यबाट पाउन सकिने सुविधाहरू पनि लिन सकिने हुन्छ। त्यसैले हरेक व्यवसायले समयमा नै आफूले तिर्नुपर्ने कर चुक्ता गर्नु पर्दछ। कर सम्बन्धी कुनै कुरा अस्पष्ट भएमा नजिकैको कर कार्यालय वा स्थानीय पालिकाको सम्बन्धित शाखामा सम्पर्क गर्न वा आफ्ना विश्वासशिला र जानकार मानिसहरूसँग सल्लाह लिनुपर्दछ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।