आफ्ना कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने ?

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कुनै पनि व्यवसायमा कर्मचारीहरूले आफूले परिश्रम गरे बापत केही पाउने आशाका साथ काम गरिरहेका हुन्छन्। त्यसैले जुनसुकै व्यवसायले  आफ्ना कर्मचारीहरूले सेवा प्रदान गरेबापत उनीहरूलाई केही न केही पारिश्रमिकको व्यवस्था गर्नुपर्छ। जसरी व्यवसायको उद्देश्य अनुसार आफ्नो सीप र क्षमताको प्रयोग गरी तोकिएको समयमा दिइएको जिम्मेवारी पुरा गर्नु कर्मचारीको दायित्त्व हुन्छ। त्यसरी नै कर्मचारीले पाएको जिम्मेवारी पुरा गरे बापत उसले अपेक्षा गरेअनुसारको पुरस्कार दिने व्यवस्था मिलाउनु व्यवसायको अनिवार्य दायित्त्व हुन जान्छ।

कर्मचारीलाई प्रोत्साहन गर्ने केही उपायहरू

कर्मचारीलाई प्रोत्साहन गर्न व्यावसायीहरुले एकभन्दा बढी उपायहरू अपनाउन सक्छन्। कुन कर्मचारीलाई कस्तो किसिमको प्रोत्साहनको व्यवस्था गर्ने भन्ने कुरा कर्मचारीहरूको तह, योग्यता, अनुभव, तालिम, उत्पादन गर्न सक्ने क्षमता, परिणाम, कामको महत्त्व, आदिमा निर्भर गर्छ।

धेरैजसो व्यावसायहरुमा कर्मचारीको प्रोत्साहनको लागि न्यूनतम मासिक तलबको व्यवस्था गरिएको हुन्छ तर यसका साथै थप भत्ता, पदोन्नति (प्रमोसन), खाने-बस्ने सुविधा, बाल-बच्चाको पढाई खर्च, प्रशंसा पत्र, औषधि खर्च, बिरामी बिदा, वार्षिक बिदा आदि पनि कर्मचारीको कामप्रतिको लगाव बढाउनका लागि यावत रूपमा प्रयोग भएका विधिहरू हुन् ।

कुन कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने ?

यस्ता जुनसुकै पुरस्कारहरू पनि प्रभावकारी हुनका लागि पुरस्कार पाउने व्यक्तिलाई त्यो पुरस्कारको महत्त्व हुनु पर्दछ। जस्तै: अबिवाहित कर्मचारीलाई बाल-बच्चाको पढाई खर्चको त्यति महत्त्व नहुन सक्छ।

त्यस्तै कर्मचारीलाई पुरस्कृत गर्ने भन्दैमा सधैँ पैसा वा कुनै धनको लोभमात्र देखाएर  नहुन सक्छ, किनकि कुनै कर्मचारीका लागि उसको सोच, सीप र ज्ञानको कदर गर्ने, उसको व्यक्तित्व विकासमा टेवा  पुग्ने खालको काम दिने र थप काम गर्न हौसला मिल्ने किसिमको सल्लाह सुझाव प्राप्त गर्ने किसिमको वातावारणले अझ ठुलो महत्त्व राख्ने हुन सक्छ।

व्यवसायको पैसा पर्ने पुरस्कार

तलब, ज्याला, बोनस, कमिसन, पेन्सन, बीमा रकम, तलबी बिदा, शैक्षिक खर्चहरू, खाजा खर्च, गाडी भाडाहरू, संचयकोष, नाफामा सहभागिता, आदि व्यवसायले आफ्नो पैसा सहजै खर्च गरेर कर्मचारीलाई प्रोत्साहन गर्ने विधिमा पर्दछन्। यसबाट व्यवसायको पैसा प्रत्यक्ष रूपमा खर्च हुने हुँदा व्यवसायको आर्थिक अवस्थालाई पनि ध्यानमा राख्दै कर्मचारी सन्तुष्ट हुने किसिमले पुरस्कार उपलब्ध गराउनु पर्दछ। जस्तै: व्यवसाय घाटामा गएको समयमा कर्मचारीलाई बोनस दिनु हुँदैन।

व्यवसायको पैसा नपर्ने पुरस्कार

ग्रेड, प्रोमोसन, प्रशंसापत्र, पदक, सम्मान आदि प्रत्यक्ष रूपमा व्यावसायको पैसा नपर्ने पुरस्कारहरू हुन्। त्यसै गरेर व्यवसायले पैसा खर्च नगरी आफ्ना कर्मचारीहरूलाई प्रोत्साहन गर्ने थप उपायहरू यस प्रकार छन्:

  • कहिलेकाहीँ कर्मचारीहरूलाई हाकिमले राम्रोसँग हाँसेर, हालखबर मात्र सोधिदिए भने पनि उनीहरूको पुरै दिन राम्ररी  बित्नसक्छ तर, त्यही हाकिमले अलिकति अनुहार बिगारेर हेरे मात्रै भने पनि उनीहरूलाई नराम्रो लाग्ने र काममा ध्यान नजाने हुन सक्छ।
  • व्यवसायमा हरेक दिन लिनु पर्ने साना-ठुला निर्णयहरूमा कर्मचारीलाई आबद्ध गराउनाले उनीहरूलाई संस्था प्रति अपनत्व र जिम्मेवारी बोध गराउन सक्छ।
  • काम गर्ने समयमा धेरै कडा नियम नबनाएर केही हद सम्मको छुट दिनाले कर्मचारीलाई कामको भोझ र तनाव हुनबाट घटाउन सकिन्छ।
  • सधैँभरि एकै खालको काम गर्नाले अल्छी लाग्ने र काम गर्न मन नलाग्ने हुन सक्छ। त्यसो हुन नदिन कहिलेकाहीँ कर्मचारी बिच काम साटासाट गर्न सकिन्छ भने कुनै रमाइलो हुने खालको कामहरू दिने गर्न सकिन्छ। 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।