व्यावसायिक जोखिम व्यवस्थापन र बीमा

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यक्ति, परिवार वा समुदायलाई हानी नोक्सानी वा दुःख हुने अवस्था आउनु जोखिम हो। भूकम्प, बाढी, पहिरो, आगलागी, हुरी बतास, दुर्घटना, रोगब्याधी जस्ता आकस्मिक रूपमा आइपर्ने घटनाहरू सबै जोखिम हुन्। यस्ता घटनाहरू कहिले आइपर्दछन् भन्ने ठेगान हुँदैन, आकस्मिक रूपमा आइपर्दछन्। व्यवसाय सञ्चालनमा पनि यस्ता घटनाहरू आइपर्न सक्दछन्। त्यसैले व्यवसायको सफलताको लागि त्यस्ता जोखिमहरूलाई व्यवस्थापन  गर्नु जरुरी छ। 

आकस्मिक रुपमा आइपर्ने जोखिमहरूलाई पूरै हटाउन सकिँदैन तर, तिनीहरूलाई घटाउन र यसबाट हुने नोक्सानीलाई कम गर्न भने अवश्य नै सकिन्छ। यसका विभिन्न उपायहरू छन्, जस्तै: सावधानी अपनाउने, बीमा गर्ने आदि।  

कतिपय जोखिमहरू हाम्रा आफ्नै असावधानीले हुने गर्दछन्। जस्तै: व्यवसायमा प्रयोग भएका औजारहरूको सही प्रयोग नगरेमा दुर्घटना हुन सक्दछ। पशुपन्छी पालन भए पशुस्वास्थ्य तथा आहारमा ध्यान नदिएमा बिरामी हुन र मर्न पनि सक्दछन्। कृषि व्यवसाय भए आवश्यक स्याहार सम्भार नभएर बाली बिग्रन सक्दछ। यस्ता जोखिमहरू आफ्नै असावधानीले हुन सक्दछन्। सावधानी बाहेक महामारी भूकम्प, बाढी, पहिरो, हुरी, बतास असिना पानी आदि आफ्नो काबुभन्दा बाहिरका जोखिमहरू हुन्। यस्ताखाले जोखिमबाट हुने हानी नोक्सानीबाट जोगिन बीमा गर्नु पर्दछ।

कुनै दुर्घटनाबाट हुने क्षति वा हानी नोक्सानीमा बीमा कम्पनीले बीमाशुल्कको आधारमा  क्षति बेहोरिदिने व्यवस्था बीमा हो। मानिस, पशुपंक्षी, बालीनाली तथा सम्पत्तिहरूको बीमा गर्न सकिन्छ। यस्तो सुविधा पाउन तोकिएअनुसार बीमाशुल्क तिर्नु पर्दछ। जीवन बीमा, स्वास्थ्य बीमा, निर्जीवन बीमा आदि नेपालमा चलनचल्तीमा रहेका बीमाहरु हुन्। 

जीवन बीमा बाहेकका सबै भौतिक सम्पत्ति सम्बन्धी बीमालाई निर्जीवन बीमा भनिन्छ। निर्जीवन बीमा अन्तर्गत बाली बीमा, पशुबीमा, आगलागी तथा सम्पत्तिहरूको बीमा पर्दछन् । निर्जीवन बीमा सेवा तथा उत्पादनसँग सम्बन्धित व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। अहिले नेपाल सरकारले बाली, पशुपन्छी बीमा तथा लघु बीमाको नीति ल्याएको छ। यो बीमाको उद्देश्य व्यवसायको प्रवर्धन तथा व्यवस्थापन गरी न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्ने रहेको छ। यसभित्र लघु जीवन बीमा व्यवसाय (जस्तैः सावधिक  लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र समितिले तोकिदिए बमोजिमका अन्य लघु जीवन बीमा) र लघु निर्जीवन बीमा व्यवसाय (जस्तै : सम्पत्ति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोग, कृषि तथा समितिले तोकिदिए बमोजिमका अन्य लघु निर्जीवन बीमा) पर्दछन्।

व्यवसाय सञ्चालन गर्ने व्यक्तिले चलनचल्तीका बीमा सेवाहरुको बारेमा बुझेर उपयुक्त हुने  बीमा सेवा लिनु पर्दछ। नेपालमा विभिन्न बीमा सेवा कम्पनीहरु छन्  र तिनीहरु व्यवसाय रहेको ठाउँ वरिपरि पनि हुन सक्दछन्। त्यसैले निम्न कुराहरू राम्ररी बुझेर बीमा गरी  आकस्मिक रूपमा आइपर्नसक्ने  जोखिमहरूबाट धनजनको सुरक्षा गर्नु पर्दछ। 

  • बीमा कम्पनी कानूनी मान्यता पाएको हो होइन विचार गर्ने।
  • आफूले छानेको बीमा कम्पनीले चाहेअनुसार सेवा दिन्छ दिँदैन राम्रो जानकारी लिने।
  • बीमा गराउने व्यक्ति मान्यताप्राप्त वा आधिकारिक हो होइन ऊसँग त्यस्तो परिचयपत्र छ, छैन जानकारी लिने।
  • बीमा गर्नुभन्दा पहिला आफ्ना विश्वासिला र जानकार मानिससँग राम्ररी कुरा बुझ्ने अनिमात्र बीमा गर्ने  अथवा बीमा पोलिसी लिने।  

बीमा गरेपछि बीमा शुल्क तोकिएको समयमा तिर्नुपर्छ। बीमाशुल्क तिर्न ढिला भएकै बेलामा घटना भयो भने बीमा सुविधा पाउन सकिँदैन। बीमा गराउँदा बनाइएका सबै कागजातहरू सुरक्षित तरिकाले राख्नुपर्छ। त्यस्ता काजगातहरु हराए भने कुनै घटना भैहालेमा बीमा दाबी गर्न गाह्रो हुन्छ। बीमा सम्बन्धी नीति नियमहरू फेरिइरहन सक्ने हुनाले त्यसको बारेमा जानकारी लिइरहनु पर्दछ। सकेसम्म आफूलाई पायक पर्ने, नियमित सम्पर्क भैरहने कम्पनी वा  संस्थासँग बीमा सेवा लिँदा सजिलो र भरपर्दो पनि हुन्छ। बीमा धनजनको सुरक्षाको आधार भएकोले व्यवसायको बीमा गर्नु पर्दछ। 

नेपालमा बीमा ऐन २०४९ को व्यवस्था रहेको छ। साथै राष्ट्रिय बीमा संस्थान, बीमा समिति र अन्य बीमा कम्पनीहरु प्नि सञ्चालनमा छन्। तिनीहरूसँग समन्वय गरी बीमा सम्बन्धी धेरै जानकारीहरू लिन सकिन्छ।    

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।