व्यावसायिक साइबर सुरक्षा

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो। यसले गर्दा डेटा र सफ्टवेयरको सुरक्षा गर्न सकिन्छ। कम्प्युटर, मोबाइल जस्ता विद्युतीय माध्यमबाट हुनसक्ने आपराधिक क्रियाकलापहरूबाट बच्न सकिन्छ। यो विद्युतीय प्रविधिका माध्यमबाट प्रवाह हुने सूचनाहरूको सुरक्षा पनि हो। 

फेसबुक ह्याक गर्ने, अनुमतिविना व्यक्तिगत सूचनाहरू सार्वजनिक गरिदिने जस्ता क्रियाकलापहरू साइबर अपराध अन्तर्गत पर्दछन्। यस्ता  अपराधहरूबाट बच्चे उपायहरू र यस सम्बन्धमा रहेका कानूनी व्यवस्थाहरूलाई साइबर सुरक्षाको रूपमा बुझ्नु पर्दछ। 

अहिले विद्युतीय सञ्चार माध्यमहरूले एकातर्फ मानिसका जीवन पद्धतिलाई धेरै सजिलो बनाइदिएको छ। तर, अर्कोतर्फ तिनै माध्यमहरूको प्रयोग गरी ठगी गर्ने, चोरी गर्ने, चरित्र हत्या गर्ने जस्ता विभिन्न आपराधिक क्रियाकलापहरू पनि भइरहेका छन्। 

व्यवसायको क्षेत्रमा पनि विद्युतीय प्रविधिहरूको धेरै प्रयोग हुने हुनाले यस क्षेत्रले पनि साइबर अपराधबाट धेरै समस्याहरू झेल्न परिरहेको छ। त्यसैले यसबाट बच्न साइबर सुरक्षा सम्बन्धी ज्ञान हुनु सर्वसाधारण मानिसहरू लगायत व्यवसायीहरू सबैको लागि अति जरुरी छ। 

सामान्यतया: व्यवसायमा निम्न अनुसारका साइबर समस्याहरू आउन सक्दछन्। जस्तै:

  • व्यवसायको फेसबुक ह्याक गर्ने  र व्यवसायको बदनाम हुने, पहिचान तथा ख्यातिमा नराम्रो असर पर्ने खालका गलत सूचनाहरूको प्रचार-प्रसार गरिदिने।
  • व्यवसायको सूचना प्रणालीलाई ब्लक (बन्द) गरिदिने।
  • व्यवसायीको चरित्रहत्या गर्ने खालका सूचना, सामग्रीहरूको प्रचार-प्रसार गरिदिने।
  • विद्युतीय सञ्चारमाध्यम, जस्तै: फेसबुक, इमेल आदिको माध्यमबाट गालीगलौज गर्ने, धम्क्याउने।
  • इन्टरनेट बैङ्किङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति, जालसाजी आदि।

इन्टरनेटको व्यापक प्रयोगसँगै बढ्दै गएका विभिन्न आपराधिक क्रियाकलापबाट बच्न, व्यवसायलाई बचाउन सम्बन्धित व्यक्त्ति सजग हुनु पर्दछ। यस्ता केही समस्याहरू आइहालेमा सम्बन्धित निकायमा तुरुन्त खबर गर्नु पर्दछ।

साइबर अपराधहरूबाट व्यावसायिक क्रियाकलापहरूलाई सुरक्षित राख्न निम्न उपायहरू गर्न सकिन्छ। जस्तै :

  • अनावश्यक रूपमा आफ्नो व्यक्तिगत तथा व्यवसाय सम्बन्धी विवरण कसैलाई दिनुहुँदैन। 
  • व्यवसायको फेसबुक एकाउन्ट, पासवर्ड आदिलाई एक/दुई महिनामा फेरबदल गरिरहनु पर्दछ र तिनलाई गोप्य राख्नु पर्दछ।
  • छिटो लाभ पाइने लोभमा परेर राम्रो परिचय, पहिचान नभएका व्यक्तिसँग संस्थासँग व्यावसायिक कारोबारको विषयमा सम्बन्ध बढाउने, नेटवर्किङ गर्ने कार्य गर्नुहुँदैन।
  • होटल, पसल जस्ता सार्वजनिक ठाउँमा बसेर अनावश्यक रूपमा व्यक्तिगत तथा व्यावसायिक लेनदेनका विषयमा कुरा गर्नु हुँदैन।
  • लेनदेन तथा व्यवसाय सम्बन्धी अन्य विषयमा परिवारका सदस्यहरूलाई पनि राम्रो जानकारी गराउनु पर्दछ।
  • आपराधिक क्रियाकलापको शङ्का लागेमा वा भइहालेमा तुरुन्तै सम्पर्क समन्वय गर्न सकिने फोन नम्बरहरूको जानकारी राखिरहनु पर्दछ र सूचना गरिहाल्नु पर्दछ।
  • हरेक कुराहरूमा सजग वा सतर्क भइरहनु पर्दछ।

साइबर अपराधलाई नियन्त्रण गर्न वा त्यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थाहरूलाई दण्ड सजाय गर्ने कानूनी व्यवस्था पनि छ। नेपाल सरकारले साइबर सम्बन्धी अपराधहरूलाई नियन्त्रण गर्न राष्ट्रिय साइबर सुरक्षा नीति २०७३ को व्यवस्था गरेको छ र नेपाल पुलिस साइबर ब्युरोको व्यवस्था पनि छ। 

त्यसैले त्यस्तो आपराधिक कार्यमा आफू पनि संलग्न हुन हुँदैन र कसैले त्यस्तो कार्य गरी आफूलाई वा आफ्नो व्यवसायलाई हानी नोक्सानी पुर्‍याउने कार्य गर्‍यो भने १०० नम्बरमा फोन गरेर प्रहरीलाई सूचना दिन वा सहयोग लिन वा कानून अनुसार उजुरी गर्न पनि सकिन्छ। 

 

 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।