उद्यमीमा हुनुपर्ने गुणहरू

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

एउटा सफल उद्यमी बन्नको लागि धेरै गुणहरूको आवश्यकता पर्दछ। विभिन्न अध्ययनहरूका अनुसार सफल उद्यमी बन्नको लागि केही नभई नहुने गुणहरू हुन्छन्, जसमध्य केही निम्नअनुसार छन्।   

लगाव (प्यासन): उद्यमीले आफ्नो रुचीको क्षेत्रमा उद्यम/व्यवसाय गर्दै छ भने लगाव अनि निरन्तरता दिन सक्छ, जसले गर्दा व्यवसायलाई उचाइमा लैजान मद्दत पुग्छ। त्यसैले उद्यम वा व्यवसाय गर्नको लागि इच्छा भएर मात्र हुँदैन। “म गर्न सक्छु।” भन्ने दृढता पनि हुन जरुरी छ।

आत्मविश्वास: उद्यमीले अनुभवीहरूको सल्लाह लिन जरुरी हुन्छ। तर, आफू प्रति विश्वास नभई अरूले भनेको कुरालाई सही मानेर व्यवसाय गर्दा घाटामा जाने सम्भावना धेरै हुन्छ। त्यसैले उद्यमीले आफू सफल हुन्छु र म गर्न सक्छु भन्ने पूर्ण विश्वासका साथ आफ्नो कामलाई निरन्तरता दियो भने मात्र सफल बन्न सकिन्छ।

निरन्तरता: सानोतिनो समस्याले आत्तिनु हुन्न, व्यवसाय सुरुमा घाटामा गए पनि आफू सक्दो प्रयास गरी धैर्य गरेमा सफल बन्न सकिन्छ। सबै काम योजना बनाएर गर्नुपर्छ।

दुरदर्शीता: नयाँ अवसरका साथै जोखिम तथा अनिश्चितता पनि पहिले नै अनुमान गर्न सक्ने हुनुपर्छ। जसले गर्दा आइपर्ने चुनौतीहरू हटाउनका लागि पहिले नै तयारी गर्न सकिन्छ। कहीँ अवसरहरूबाट फाइदा पनि लिन सकिन्छ।

धैर्यता: कुनै पनि समस्या आइपरेमा धैर्यताका साथ राम्रोसँग समाधान गर्न सक्ने हुनुपर्छ। छिटै नाफा खोज्ने अनि घाटा भयो भन्दैमा निराश हुने हुनुहुँदैन। साथै उत्पादन गरेको वस्तुको प्रचारप्रसार पनि गर्दै जानुपर्छ।  

परिवर्तनशीलता: समय, ग्राहकको चाहना अनि माग अनुसार व्यवसाय नै बदल्न सक्ने हुनुपर्छ। जस्तै: तपाई पुस्तौँदेखि चली आएको दौरासुर्वल सिलाउने व्यवसाय गरिरहनु भएको छ भने अहिलेको समय र मागअनुसार सुट, पेन्ट पनि सिलाउनु पर्ने हुनसक्छ।

सही व्यवस्थापनको सिप: खास गरी पैसाको सही सदुपयोग गर्नुपर्छ, त्यसका साथसाथै मेसिनरी समान, कर्मचारी, ग्राहक, आदि सबै कुराहरूलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले व्यवस्थापन गर्न सक्ने हुनुपर्छ।

सिर्जनात्मक सिप: नयाँ उपाय, नयाँ काम गर्ने तरिका, नयाँ प्रविधि आदिको बारेमा सामान्य मानिसभन्दा धेरै सक्रिय भएमा धेरै ज्ञान लिन सकिन्छ। नयाँ कुराको खोजी गर्ने, नयाँ वस्तुको उत्पादन गर्ने जस्ता कुरामा पनि सक्रिय हुनुपर्छ। प्रतिस्पर्धा गर्नेहरूबाट सकेसम्म फाइदा लिने कोसिस गर्नुपर्छ।

जोखिम उठाउन सक्ने क्षमता: व्यवसाय/उद्यममा जति धेरै जोखिम उठाउन सकियो, त्यति नै नाफा लिन सकिन्छ। जोखिम उठाउन डर मान्ने हो भने व्यवसाय घाटामा पनि जान सक्छ। तर जोखिम उठाउने भन्दैमा फाइदा नहुने ठाउँमा पनि जोखिम उठाउनु हुँदैन। 

कुराकानी गर्ने कला: कुशल उद्यमीसँग कुरा गर्ने राम्रो कला हुनु जरुरी छ, जसले गर्दा ग्राहकको ध्यान खिच्न सकिन्छ। खासगरी ग्राहकहरूसँग मिठो बोल्नुका साथै राम्रो व्यवहार पनि गर्नुपर्छ। वस्तुहरू उत्पादन गर्दा आफ्नो फाइदाको लागि नभई ग्राहकको फाइदाको लागि भन्ने सोचेर उत्पादन गर्नुपर्छ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।