व्यवसाय सञ्चालन भएपछि त्यसको वार्षिक लेखापरीक्षण गर्नु पर्दछ। विधिसम्मत तरिकाले कुनै संस्था, व्यवसाय, कम्पनी आदिको आम्दानी खर्चको सम्परीक्षण गर्नुलाई लेखापरीक्षण भनिन्छ। लेखा परीक्षण आन्तरिक र बाह्य गरी दुई तरिकाले गरिन्छ।
बाह्य लेखा परीक्षण हरेक आर्थिक वर्ष समाप्तिपछि गरिन्छ। कानुनी रूपमा दर्ता भएका संस्था, व्यवसाय, कम्पनी आदिले अनिवार्य रूपमा आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्रमा मान्यता प्राप्त (रजिस्टर्ड) लेखा परीक्षकबाट लेखापरीक्षण गराउनु पर्दछ।
आन्तरिक लेखा परीक्षण संस्थाको तजबिज अनुसार सामान्यतया आर्थिक वर्षको मध्यतिर अर्थात् अर्धवार्षिक (छ महिनामा) रूपमा गरिन्छ। कुनै संस्था, व्यवसाय,कम्पनीको आर्थिक पारदर्शिता तथा आर्थिक सुशासनका लागि आन्तरिक लेखापरीक्षण गर्नु राम्रो हुन्छ।
लेखापरीक्षण किन गर्ने ?
- आयव्ययको हिसाबकिताब दुरुस्त र अद्यावधिक गर्न।
- आयव्ययको पारदर्शिता कायम राख्न।
- विधिसम्मत तरिकाले खर्च भए नभएको वा आर्थिक सुशासन भए नभएको पत्ता लगाउन।
- लेखापालमा आवश्यक सुधार संशोधन आवश्यक भए नभएको पत्ता लगाइ आर्थिक नीतिमा परिवर्तन गर्न।
- कारोबारको आधारमा नीतिगत रूपमा सरकारलाई तिर्नुपर्ने कर रकम निर्धारण गर्न।
- कानूनी मान्यताप्राप्त कुनै पनि संस्था वा व्यवसायले अनिवार्य रूपमा वार्षिक लेखापरीक्षण गराउनुपर्ने नीतिको पालना गर्न।
लेखापरीक्षण कसले गर्ने ?
वार्षिक (बाह्य) लेखा परीक्षण प्रचलित कानुन बमोजिम दर्ता भएका अर्थात् लेखा परीक्षकको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिबाट गराउनु पर्दछ। वार्षिक साधारण सभाबाट लेखा परीक्षकको नियुक्ति गर्नु पर्दछ र लेखापरीक्षण बापत निजलाई दिने पारिश्रमिक तोक्नु पर्दछ। लेखा परीक्षण गरेपछि प्रचलित ढाँचामा त्यसको प्रतिवेदन पनि तयार गर्नु पर्दछ।