सीप साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरूको उत्पादन गर्ने कार्यलाई उद्योग भनिन्छ । रोजगारी र निर्यात प्रवर्धन गरी देशको आर्थिक विकास गर्न उद्योगको विकास आवश्यक छ। उद्योगलाई देश विकासको मेरुदण्ड मान्न सकिन्छ। बेरोजगारी कम गरी गरिबी निवारणमा उद्योगको ठूलो भूमिका रहन्छ। औद्योगिक व्यवसाय ऐन २०७६ को परिच्छेद ३,दफा १७ मा उल्लेख भए अनुसार उद्योगहरूलाई पाँच किसिममा वर्गीकरण गरिएको छ।
१) लघु उद्योग
उद्यमी स्वयं उद्योगको सञ्चालन व्यवस्थापनमा संलग्न रहेको, उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको साथै घर जग्गा बाहेक बढीमा बीस लाख सम्मको स्थिर पूँजी रहेको र वार्षिक कारोबार एक करोड भन्दा कम रहेको उद्योगलाई लघु उद्यम भनिएको छ । जस्तो की, इन्जिन उपकरण वा मेसिन प्रयोग गरिएको भएमा त्यस्तो इन्जिन उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा इन्धन वा तेल इन्जिन क्षमता बीस किलोवाट वा त्यो भन्दा कम रहेको।
२) घरेलु उद्योग
परम्परागत सीप र प्रविधि, कला संस्कृतिमा आधारित र स्थानीय कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने व्यवसायहरू घरेलु उद्योग हुन्। इन्जिन उपकरण वा मेसिन प्रयोग गरिएको भएमा बढीमा पचास किलोवाट क्षमताको विद्युतीय ऊर्जा प्रयोग गरेको मूर्तिकला बनाइका वा हाते कागजले बनेका, चोया बाबिया आदिबाट बनेका सामान, हस्त निर्मित भाँडा वर्तन तथा सुन चाँदीले बनाएका गरगहना र पौभा, थाङ्का आदि चित्र र पस्मिना आदि घरेलु उद्योग हुन्।
३) साना उद्योग
लघु उद्यम र घरेलु उद्योग बाहेकका पन्ध्र करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योग साना उद्योग हुन्।
४) मझौला उद्योग
पन्ध्र करोड रुपैंया भन्दा बढी पचास करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योग मझौला उद्योग हुन्।
५) ठूला उद्योग
पचास करोड रुपैयाँसम्म भन्दा बढी स्थिर पूँजी भएका उद्योग ठूला उद्योग हुन्।
सामान्यतया सानोतिनो लगानीबाट गर्न सकिने, परिवारका मानिस मात्र मिलेर चलाउन सकिने, आफूसँग भइरहेको अनुभवले पनि हुने, पछि बढाउँदै लैजान सकिने, दर्ता, नवीकरण जस्ता कानुनी कुराको केही झन्झट पनि नहुने, आम्दानी पनि भइरहने जस्ता धेरै कुराहरूको विचार गर्दा समुदायका मानिसहरूको लागि लघु उद्यम तथा व्यवसायहरू उपयुक्त हुने देखिन्छन्।