व्यवसायका प्रकार

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

उद्यम वा व्यवसाय विभिन्न किसिमका हुन्छन्। औद्योगिक व्यवसाय ऐन २०७३ मा उद्योग वा व्यवसायलाई त्यसको सेवा, प्रकृति लगानी आदिको आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ। 

१.प्रकृतिका आधारमा व्यवसाय 

प्रकृतिका आधारमा व्यवसायहरू फरक-फरक हुन्छन् । जस्तै:

क) कृषिमा आधारित 

अन्नबाली, तरकारी, फलफूल, तोरी, उखु, चिया, कफी अलैँची खेती जस्ता व्यवसाय कृषिमा आधारित व्यवसाय हुन्। जस्तैः जाम, जेली, पाउरोटी, घिउ, अचार बनाउने, तरकारी, फलफूल फलाउने बेच्ने जस्ता व्यवसायहरू सबै।    

ख) गैर कृषिमा आधारित 

प्रत्यक्ष रुपमा कृषिमा आधारित नभएका व्यवसायहरू गैर कृषिमा आधारित व्यवसाय हुन्। यस्ता व्यवसायहरूमा फर्निचर उद्योग, छालाका सामानहरू, भाँडाकुँडा, कागज बनाउने जस्ता व्यवसाय पर्दछन्। 

ग) पर्यटन   

होटेल लज तथा होमस्टे चलाउने व्यवसायहरू, ट्राभल एजेन्सी, टुरिस्ट गाइड, चिया खाजा घरहरू, पर्यटकहरूका लागि हस्तकलाका सामानहरू बनाउने आदि व्यवसायहरू पर्यटन सम्बन्धी व्यवसाय हुन्। 

त्यसरी नै उद्योग व्यवसायलाई ऊर्जामूलक, उत्पादनमूलक, खनिज, निर्माण सूचना प्रसारण तथा प्रविधिमा आधारित र सेवामूलक आदिको रुपमा वर्गीकरण गरिएको छ। 

२.हक र स्वामित्वको आधारमा व्यवसाय 

आफ्नो इच्छा वा लगानीको आधारमा कुनै व्यवसायहरू एक्लै सञ्चालन गरिने र कुनै साथीहरू मिलेर सञ्चालन गरिने हुन्छन्। त्यो भनेको व्यवसायको हक र स्वामित्व हो। एउटै व्यक्तिले लगानी गरेको व्यवसायमा एक जनाको मात्र हक र स्वामित्व हुन्छ भने धेरै जना मिलेर चलाएको व्यवसायमा धेरै नै जनाको स्वामित्व हुन्छ। यसको आधारमा व्यवसायहरू एकलौटी र साझेदारी गरी दुई किसिमका हुन्छन्।

क) एकलौटी व्यवसाय 

आफू एक्लैले लगानी गरेको अथवा एक जनाको मात्र हक वा स्वामित्व भएको व्यवसाय एकलौटी व्यवसाय हो। एकलौटी व्यवसायमा कामदारको व्यवस्था, व्यवसाय सञ्चालन  जस्ता सबै कुरामा आफैँ पूर्ण रूपले जिम्मेवार हुनु पर्दछ। यस्तो व्यवसाय स्थापना र सञ्चालन गर्न सजिलो हुन्छ। व्यवसायको सम्पत्ति र व्यवसाय सम्बन्धी कुराहरूको निर्णय आफूले मात्र गर्न सकिन्छ। व्यवसाय सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर पनि एक्लैले तिर्नुपर्दछ।  

ख) साझेदारी  व्यवसाय

दुई वा दुईभन्दा धेरै मानिसहरू मिलेर लगानी गरी सञ्चालन गरिने व्यवसाय साझेदारी व्यवसाय हो। यस्ता व्यवसायको लगानी, सञ्चालन व्यवस्थापन जस्ता सबै कुरामा साझेदारहरूको सहभागिता हुन्छ। धेरै जना हुने हुनाले लगानीको लागि पैसा जम्मा गर्न सजिलो हुन्छ। व्यवसायमा हानी नोक्सानी हुन पुगेमा एक्लैले बोझ लिनु पनि पर्दैन।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।