‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ शब्द मिलेर बनेको छ। मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ। समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र सङ्घसंस्था मिलेर बनेको हुन्छ। यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्धलाई जनाउँछ।
मनोसामाजिक समस्या
समाजमा व्यक्ति र उसका क्रियाकलापहरूले जसरी प्रभाव पारिरहेको हुन्छ, त्यसैगरी समाजमा घट्ने घटना र परिस्थितिहरूले मानिसको मनमा प्रभाव जमाई रहेको हुन्छ।
उदाहरणको लागि कुनै व्यक्तिले रक्सी खाएर होहल्ला गर्दा त्यसले छिमेकमा पनि असर पारिरहेको हुन्छ। यस अर्थमा पनि सामाजिक विभेद र बेरोजगारी बढी भएको समाजमा मानिसहरूलाई धेरै अनुपातमा मनोसामाजिक समस्याले सताउने गर्दछ।
यसरी व्यक्तिको आफ्नै जीवन र वरिपरिको समाजमा घटिरहने विभिन्न खाले घटनाहरूका कारण मन र समाज बिच तालमेल नमिलेर मनोसामाजिक समस्या देखिन सक्छ। यस्तो बेलामा व्यक्तिलाई भोक नलाग्ने वा धेरै भोक लाग्ने, निन्द्रा नलाग्ने वा बढी निन्द्रा लाग्ने, एक्लै बस्ने र अरूसँग घुलमिल हुन मन नलाग्ने जस्ता असरहरू देखा पर्न सक्छन्।
कुनै व्यक्तिमा यस्ता असरहरू केही समयसम्म देखापरी नै रहन्छन् र त्यसले दैनिक जीवनयापनमा पनि समस्या देखा पर्न थाल्छ। ।
मनोसामाजिक समस्याका कारणहरू व्यक्तिगत, सामाजिक र वातावरणीय लगायत धेरै हुन सक्छन् जसमध्ये मुख्य-मुख्यलाई यहाँ वर्णन गरिएको छ।
प्राकृतिक तथा मानव निर्मित प्रकोपहरू: भूकम्प, बाढी, आगलागी, पहिरो, दुर्घटना, चोरी डकैती, युद्ध, द्वन्द्व, हिंसा, यातना जस्ता कारणहरू।
वंशाणुगत तथा व्यक्तित्व सम्बन्धी कारणहरू: परिवारमा कसैलाई मानसिक समस्या, बढी आक्रामकता, अधिक महत्त्वाकाङ्क्षा अरूमाथि धेरै भर पर्ने बानी, असुरक्षित र कठिन बाल्यकाल, अत्यधिक नकारात्मकता, आदि।
परिवारमा उत्पन्न हुने परिस्थितिहरू: रक्सी तथा लागूपदार्थको सेवन, नजिकका व्यक्तिको मृत्यु, आफैलाई वा परिवारमा कसैलाई लागेको दिर्घरोग, परिवारमा बेमेल, झैँ-झगडा, बुबाआमा वा परिवारका सदस्यबाट हुने तनाव र बेवास्ता, आदि।
वैवाहिक जीवनमा उत्पन्न हुने परिस्थितिहरू: लैङ्गिक हिंसा, महिलामाथि हुने विभेद, असमानता, सम्बन्ध विच्छेद, यौन दुर्व्यवहार तथा अन्य शारीरिक र मानसिक यातनाहरू, अन्तरजातीय विवाह, अनमेल विवाह, बालविवाह र बहुविवाह, दाइजो प्रथा, आदि।
शैक्षिक समस्या: सिकाइमा समस्या, अभिभावकबाट दिइने दबाब, अस्वाभाविक अपेक्षा तथा उच्च महत्त्वाकाङ्क्षा साथै स्कुल र कलेजमा साथीभाइ वा शिक्षकबाट हुने तनाव र दुर्व्यवहार, आदि।
सामाजिक कारणहरू: गरिबी, बेरोजगारी, अशिक्षा, छोराछोरी बीचमा विभेद, समाजमा घुलमिल हुन नसक्नु, छिमेकीको असहयोग, सामाजिक तथा जातीय भेदभाव, असमानता, छुवाछूत, लाञ्छना, छाउपडी, देउकी प्रथा, बोक्सीको आरोप, मानव बेचबिखन, अपहरण, दबाब, धम्कीका साथै असुरक्षित बसाइसराइ र सुकुम्वासी जीवन, आदि।
व्यवसाय वा पेसासँग सम्बन्धित कारणहरू: अत्यधिक कामको चाप, कामको उचित मूल्याङ्कन नहुनु, जागिर जाने डर, कठिन कार्य, कार्य असन्तुष्टि, हाकिम वा सहकर्मीसँग मनमुटाब, आदि।
लामो समयसम्म सेवन गरिने कतिपय औषधिहरू : परिवार नियोजन र मधुमेहका औषधीहरू, आदि।
अन्य कारणहरू: स्वास्थ्य सेवामा पहुँच नहुनु, सरकारी तथा गैरसरकारी सेवा, राहत आदिमा पहुँच नहुनु, कानूनी झै-झमेला वा मुद्दा मामिला खेप्नु, आदि।
मनोसामाजिक समस्याका लक्षणहरू
मनोसामाजिक समस्याका लक्षणहरूलाई समग्रमा शरीर, मन, व्यवहार र सम्बन्ध गरी चार भागमा वर्गीकरण गर्न सकिन्छ, जसलाई मनोसामाजिक समस्याका कारण मानिसहरूमा देखा पर्ने चार पक्षीय असरहरू भन्ने गरिन्छ।
१. शरीरमा देखा पर्न सक्ने लक्षणहरू
- टाउको भारी हुनु, टाउको दुख्नु, जिउ अररो हुनु, शिथिल हुनु, झमझम गर्नु, हातखुट्टा नचल्नु
- मुटुको धड्कन बढ्नु, श्वासको गति बढ्नु र श्वास फेर्न गाह्रो हुनु
- रिङ्गटा लाग्नु, एकोहोरो हुनु, टोलाइरहनु
- धेरै थकित, कमजोर हुनु
२. मनमा देखा पर्न सक्ने लक्षणहरू
- खान मन नलाग्नु वा धेरै खाने चाहना हुनु
- चिन्ता लाग्नु वा पिर पर्नु
- निकै डर लाग्नु वा मन झसङ्ग हुनु
- धेरै रिस उठ्नु वा चिडचिडेपन हुनु
- धेरै नकारात्मक विचार आउनु
- आत्मबल वा आत्मसम्मानमा कमी आउनु
- पछुतो वा आत्मग्लानि हुनु
३. व्यवहारमा देखा पर्न सक्ने लक्षणहरू
- एक्लै बस्नु र काम गर्ने जाँगर नहुनु
- निदाउन गाह्रो हुनु वा धेरै सुत्नु
- बढी रुन्चे हुनु वा रोइरहनु
- बढी सतर्कता अपनाउनु र अधिक शङ्कालु हुनु
- रक्सी वा लागूपदार्थको प्रयोग गर्नु
४. सम्बन्धमा देखा पर्न सक्ने लक्षणहरू
- अरूसँगको सम्बन्धबाट टाढिने
- झरै-झगडा हुने वा बेमेल हुने, अरूप्रति अविश्वास बढ्ने र सञ्चारमा कठिनाइ हुने
मनोसामाजिक समस्याबाट बच्न के गर्ने ?
प्रत्येक व्यक्तिसँग मनोसामाजिक समस्याका असरहरूसँग सामना गर्न केही न केही सीप र क्षमता अवश्य हुन्छ। कतिपय अवस्थामा परिवार, साथीभाइ, छरछिमेक र समुदायमा रहेका अन्य व्यक्ति वा सङ्घसंस्थाको सहयोगले मद्दत मिल्न सक्छ भने कतिपय अवस्थामा मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग आवश्यक पर्न सक्छ।
यस्तो अवस्थामा सहयोग गर्नको लागि मनोसामाजिक सहयोगकर्ताहरू तालिम प्राप्त हुन्छन्। यदि कसैलाई केही समयसम्म मनोसामाजिक समस्याका लक्षणहरू देखा परिरहन्छन्, जसको कारणले गर्दा दैनिक जीवन यापनमा पनि कठिनाइ हुन्छ भने विशेषज्ञको सेवा लिनुपर्छ।
साभार: मनोसामाजिक स्वास्थ्य