उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३” अनुसार भएको हो । यस प्रतिष्ठानले उद्यमी बन्न चाहने र सञ्चालन भइरहेका व्यवसायीहरूका लागि विभिन्न किसिमका उद्यमशीलता तथा व्यवसाय व्यवस्थापन तालिमहरू सञ्चालन गर्दै आएको छ भने यस क्षेत्रमा संलग्न संघसंस्थाहरूको मानव संसाधन विकास गर्न विभिन्न विषयगतका प्रशिक्षक प्रशिक्षण तालिमहरू सञ्चालन गरिरहेको छ । साथै प्रतिष्ठानले उद्योग व्यवसाय प्रवर्धनको क्षेत्रमा आवश्यक पर्ने विभिन्न अध्ययन अनुसन्धान, तालिम निर्देशिकाहरू, सफल उद्यमीका केस अध्ययन तथा व्यावसायिक योजनाहरू तयार गर्दछ भने नियमित रूपमा उद्यमशीलता विकास सहजकर्ता कोर्स (Enterprise Development Facilitator) तथा स्टार्टअप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम के हो ?
कुनै व्यक्ति उद्योग व्यवसायको प्रवद्र्धन गर्न वा उद्योग व्यवसायको क्षेत्रमा तालिम तथा परामर्श सेवा प्रदान गरी उद्यमीहरू विकास गर्न चाहन्छ भने उसले उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम लिनुपर्दछ । प्रशिक्षक प्रशिक्षण भनेको सम्बन्धित क्षेत्रमा ज्ञान सीप हासिल गरी अरूलाई सिकाउनु हो वा प्रशिक्षित गर्नु हो । त्यसैले सङ्क्षेपमा भन्नुपर्दा उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्नुको उद्देश्य उद्यमशीलता विकास तालिम दिने प्रशिक्षक तयार गर्नु हो । यो तालिम लिएपछि प्रशिक्षार्थीहरूले आआफ्नो क्षेत्रमा सोसम्बन्धी तालिम सञ्चालन गर्नेछन् ।
उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिमभित्र के के विषयवस्तु पर्दछन् ?
उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम १० दिनको हुन्छ । तालिमको पाठ्यसामग्री प्रतिष्ठानले विगतमा विकास गरेको नयाँ व्यवसाय सिर्जना तालिमको नै एउटा अंश हो जसलाई CEFE (Creation of Enterprises through Formation of Entrepreneurs) को नामले समेत चिनिन्छ । यस तालिममा पाँच वटा मोड्युलहरू समावेश छन् ।
(क) उपलब्धिमूलक उत्प्रेरणा तालिम (Project Identification and Selection – PIS)
यस मोड्युलमा क्रमिक रूपले विभिन्न मनोवैज्ञानिक तथा आचरणसम्बन्धी खेलहरू अभ्यास गराइन्छ जसबाट व्यक्तिमा सिर्जनशीलता, अवसरको खोजी, काममा नयाँपन, मध्यमखालको जोखिम लिने, आफ्नो खुबी तथा कमजोरीको पहिचान गर्ने, अनुभव तथा पृष्ठपोषणबाट सिक्ने, क्रमबद्ध योजना, प्रतिस्पर्धा तथा सम्झौता सीपजस्ता उद्यमशील गुणहरूको विकास गराइन्छ । यो मोड्युलको अन्तमा सहभागीहरूले आफ्नो जीवनको वास्तविक र अर्थपूर्ण लक्ष्य निर्धारण गर्नुपर्छ भन्ने कुरामा सचेत हुन्छन् ।
(ख) उद्योग व्यवसायको पहिचान तथा छनोट (Project Identification and Selection – PIS)
यस मोड्युलमा विभिन्न किसिमका सिर्जनशीलता अभ्यास गराई सहभागीको सोचाइलाई फराकिलो र सिर्जनात्मक बनाउने प्रयास गरिन्छ जसबाट उनीहरूले धेरैभन्दा धेरै अवसरहरू देख्न र पत्ता लगाउन सक्षम हुन्छन् । व्यावसायिक अवसरको पहिचान गरिसकेपछि छोटो मस्तिष्क मन्थन अभ्यास हुन्छ । यस अभ्यासमा सहभागीहरूले नयाँ नयाँ र धेरैभन्दा धेरै व्यवसायका नामहरू÷विचारहरू बाहिर ल्याउँछन् जसबाट उनीहरूलाई आपूm र बजार सुहाउँदो व्यवसाय छनोट गर्न मद्दत पुग्दछ । व्यवसाय छनोट प्रक्रियामा विभिन्न मापदण्डको प्रयोग गरी प्रारम्भिक र सूक्ष्म छनोट गरिन्छ र अन्तिममा सहभागीहरूले आफूले छनोट गरेको व्यवसायको खु क अ भ (खुबी, कमजोरी, अवसर र भय) को विश्लेषण गर्दछन् ।
(ग) व्यवसाय व्यवस्थापन सीप (Business Management Skill-BMS)
यस मोड्युलमा उद्यमीलाई व्यवसाय सुरु गर्ने क्रममा आइपर्न सक्ने व्यावहारिक कठिनाइहरू र त्यसबाट बच्न आवश्यक पूर्वतयारीसम्बन्धी सजक गराउने कार्यको अभ्यास गराइन्छ । व्यवसायका चार वटै पक्षहरू बजार, उत्पादन, कामदार र वित्तको व्यवस्थापन र उद्यमीको आफ्नो स्वव्यवस्थापनबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने व्यावहारिक अभ्यासबाट महसुस गराइन्छ ।
(घ) व्यावसायिक योजना निर्माण र मूल्याङ्कन (Business Plan Preparation and Appraisal-BPPA)
व्यावसायिक योजना निर्माण उद्यमशीलता विकास तालिमको महत्वपूर्ण भाग हो र यसमा सहभागीहरूले आपूmले छनोट गरेको मुख्य व्यवसायको व्यावसायिक योजना तयार गर्दछन् । व्यावसायिक योजना निर्माणको क्रममा सहभागीहरूलाई प्रस्तावित व्यवसायको बजारीकरण, उत्पादन तथा प्रविधिसम्बन्धी, लागत तथा मूल्य निर्धारण र आर्थिक तथा लगानीसम्बन्धी सूचना सङ्कलन गर्न बजार सर्भेक्षण अध्ययन गर्न पठाइन्छ । आवश्यक सूचना सङ्कलनपछि सहभागीहरूले प्रशिक्षकको सहयोगमा आ–आफ्नो व्यवसायको योजना तयार गरी विज्ञहरूसामु प्रस्तुतीकरण गर्दछन् र सोसम्बन्धमा महत्वपूर्ण सुझाव प्राप्त गर्दछन् । तयार गरेको व्यावसायिक योजनाले सहभागीलाई बजार, प्रविधि, आर्थिक र वातावरणीय दृष्टिकोणले समेत व्यवसाय सम्भाव्य छ वा छैन भन्ने बारेमा विश्लेषण गर्न र निर्णय लिन सहयोग पुग्दछ ।
(ङ) प्रशिक्षण सीप विकास (Training Skill Improvement-TSI)
प्रभावकारी सिकाइका लागि दक्ष प्रशिक्षकको आवश्यकता पर्दछ । विषयवस्तुको सिकाइबाट सहभागीको सोचाइ र व्यवहारमा परिवर्तन आउन सकेमा मात्र तालिमको उपादेहिता देखिन्छ । उद्यमशीलता विकास तालिमका विषयवस्तुहरू कार्यमूलक सिकाइमा आधारित हुने भएकाले खेल तथा अभ्यासहरूको उचित उत्खनन र प्रशोधन गर्नु, अनुभवमा आधारित सिकाइलाई भित्रैदेखि महसुस गराउनु महत्वपूर्ण हुन्छ । विषयवस्तुहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान जस्तै तालिम आवश्यकता पहिचान, तालिमको व्यवस्थापन, तालिमका विभिन्न विधिहरू, श्रव्य–दृश्य सामग्रीको उचित प्रयोग सिकाइका सिद्धान्तहरू, पाठ्यक्रम विकास, पाठयोजना तयारी, प्रस्तुतीकरण सीप र प्रशिक्षण अभ्यासजस्ता विषयमा व्यावहारिक छलफल गरिन्छ । यस मोड्युलमा सहभागीहरूले असल प्रशिक्षकमा हुनुपर्ने गुणको विकास गर्नुको साथै तालिमहरू आयोजना गर्न, सञ्चालन गर्न, समन्वय गर्न र अनुगमन गर्न सक्षम हुन्छन् ।
(च) अतिथि कक्षाहरू (Guest Sessions)
उद्यमशीलता विकास तालिमको क्रममा प्रशिक्षार्थीहरूका लागि आवश्यक पर्ने ज्ञान प्रदान गर्न सम्बन्धित कार्यालय तथा संस्थाहरूबाट अतिथि कक्षाको व्यवस्था गरिन्छ । जसअन्तर्गत सम्बन्धित संस्था÷कार्यालयका अतिथिबाट उद्योग व्यवसायको दर्ता, नवीकरण, उद्योग प्रशासन र सोसम्बन्धी नीति नियमहरूका बारेमा कक्षा सञ्चालन हुन्छ भने व्यवसायमा वित्तीय लगानी तथा ऋण प्रवाहसम्बन्धी प्रक्रियागत कुराहरू, लगानीसम्बन्धी नीतिनियमहरू, प्राथमिकताका क्षेत्रहरू आदि बारेमा जानकारी गराउन वित्तीय संस्थाका अतिथिको कक्षा सञ्चालन हुन्छ । त्यस्तै सफल उद्यमीको अनुभव आदानप्रदान गर्न सफल उद्यमीसँगको साक्षात्कार अन्तरक्रिया कक्षाको व्यवस्था हुन्छ ।
प्रशिक्षक प्रशिक्षण तालिममा भाग लिनका लागि आवश्यक योग्यता
१. सहभागीको उमेर २२ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने,
२. नेपाली नागरिक हुनुपर्ने,
३. न्युनतम शैक्षिक योग्यता स्नातक तह पास भएको हुनुपर्ने,
४. तालिमपछि सहभागीहरूले आ–आफ्नो स्थानीय क्षेत्रमा प्रशिक्षक भई काम गर्न प्रतिबद्ध हुनुपर्ने र
५. महिलाहरूका लागि विशेष प्राथमिकता दिइनेछ ।