व्यवसाय बन्द गर्दा ध्यान दिनुपर्ने कुराहरू

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

कुनै पनि व्यवसाय सधैको लागि बन्द गर्न अफिस, पसल वा कारखानाको ढोकामा ताल्चा लगाएर  मात्र पुग्दैन । यदि सरकारलाई कुनै पनि सूचना नै नदिई आजसम्म खुलेको व्यवसाय भोलि नै बन्द गरी हिँडियो भने त्यस्ता व्यवसायीहरू विभिन्न प्रकारको झमेलामा फस्न सक्छन्, जस्तै कानुनी निकायबाट जरिवाना हुने, साहु तिर्नुपर्ने व्यक्तिहरूले मुद्दा लगाई दिन सक्ने, र फोकटमा सजाय भोग्नु पर्ने पनि हुनसक्छ । त्यति मात्र नभएर व्यवसाय गरेर कमाएको इज्जत पनि दाउमा पर्नसक्छ ।

त्यसैले व्यवसाय बन्द गर्नु अघि कुनै पनि साना तथा ठुला व्यवसायीले ध्यान दिनै पर्ने केही कुराहरू निम्न अनुसार छन् :-

१. लिनु पर्ने पैसा लिने र तिर्नु पर्ने पैसा सबै तिर्ने 

व्यवसाय बन्द गर्नु अघि आफ्नो व्यवसायले लिएको कुनै कर्जा वा साहुलाई तिर्नुपर्ने रकम बाँकी भएमा सबै भन्दा पहिले तिर्नुपर्छ । त्यस्तै, आफ्नो व्यवसायबाट कसैलाई उधारो दिएको छ भने त्यो पनि उठाउनु पर्छ । व्यवसाय बन्द भई सकेपछि उधारो लिएका ग्राहकहरूले पैसा तिर्नु नपर्ने ठानेर पैसा नतिर्न सक्छन् । अनि यदी कसैले धेरै समयसम्म पनि उधारो नतिरेमा उनीहरूलाई अलि छुट दिएर भए पनि उनीहरूबाट पैसा उठाउन सकिन्छ ।

२. ग्राहकहरूलाई आफ्नो व्यवसाय बन्द गर्न लागेको सूचना दिने 

व्यवसाय बन्द गर्नु अघि आफ्ना ग्राहकहरूलाई त्यसको बारेमा सूचना दिन पनि त्यतिकै जरुरी हुन्छ । जस्तै: यदि तपाइँले कुनै ग्राहकको काम गरिदिन एड्भान्समा पैसा लिइसक्नु भएको छ भने त्यो काम पुरा नसकाई बन्द गर्नु हुँदैन र यदि काम सकाउन सकिएन भने ग्राहकको पैसा फिर्ता गरिदिनु पर्छ । यसो गर्नाले मनमुटाव हुनबाट बच्न सकिन्छ । ग्राहकलाई आफ्नो अवस्था र बन्द गर्नुको कारण राम्रोसँग बताउनु पर्छ ।  

३. व्यवसायमा बाँकी भएका सामानहरू बेच्ने –

व्यवसाय बन्द गर्ने नै भएपछि व्यवसायको सम्पत्तिहरू जस्तै फर्निचर, मेसिनहरू, कच्चापदार्थहरू सेकेन्ड ह्यान्डमा बेचेर त्यसबाट उठेको पैसाले तिर्नु पर्ने पैसाहरू तिर्न सकिन्छ । त्यस्तै व्यवसायको स्टकमा बाँकी भएका सामानहरू खाली गर्न ग्राहकहरूलाई सस्तोमा वा छुट दिएर बेच्न सकिन्छ । यसरी सकेसम्म सबै स्टकमा भएका सामानहरू बेचेर अनि बल्ल व्यवसाय बन्द गर्न तर्फ लाग्नुपर्छ ।

४. व्यवसायमा लागेका कामदारहरूलाई सूचना दिने 

व्यवसायमा विभिन्न तहमा काम गर्ने कर्मचारी र कामदारहरू हुन्छन् र उनीहरू पनि व्यवसायकै एक पाटा हुन् । एकैचोटि व्यवसाय बन्द गर्छौं, भोलिबाट तिमीहरू काममा नआउ भन्न मिल्दैन । व्यवसाय बन्द भइसके पछि ती कर्मचारीहरूले अन्त काम खोज्नु पर्ने हुन्छ । त्यसैले व्यवसाय बन्द गर्न लागेको खबर उनीहरूलाई केही पहिले देखिनै दिनु पर्छ र कामबाट कर्मचारीलाई निकाल्नु अघि उनीहरूलाई दिनु पर्ने तलब पनि सबै दिनु पर्छ | यदि सकिन्छ भने थप केही रकम दिएर कामबाट बिदा दिन सकिन्छ ।

५. व्यवसायले तिर्नु पर्ने करहरू तिर्ने 

रजिस्टर गरिएका व्यवसायले विभिन्न प्रकारका करहरू तिर्नुपर्ने हुन्छ जस्तै आय कर, सम्पत्ति कर, घर-जग्गा कर, भ्याट, आदि । त्यसैले व्यवसाय बन्द गर्नु अघि व्यवसायले तिर्न बाँकी सबै करहरू तिर्नु पर्छ । यसको लागि आन्तरिक राजस्व कार्यालयमा गएर बुझ्न सकिन्छ ।

६. बाँकी भएको रकम वा सम्पत्ति बाँडफाँड गर्ने 

व्यवसायले साहुलाई तिर्नुपर्ने सबै रकमहरु, उधारोहरू, र करहरू तिरि सकेपछि, बाँकी भएको रकम मात्रै आफूले  राख्नुपर्छ । यदि पाटनरशिप व्यवसाय हो भने पाटनर बिच भएको सम्झौता अनुसार रकम वा कुनै सम्पतिहरु बाँडफाँड गर्नुपर्छ ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।