व्यवसायमा डिजिटल विधिका फाइदाहरू

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

अहिलेको युग विज्ञान र प्रविधिको युग हो। यी प्रविधिहरू विद्युत् (डिजिटल) को माध्यमबाट सञ्चालन हुने भएकोले अहिलेको समयलाई डिजिटलको जमाना भनिन्छ। हरेक क्षेत्रमा अहिले डिजिटल विधि कै प्रयोग भइरहेको छ। यो प्रविधिको प्रयोगविना जीवन सञ्चालन गर्न  धेरै गाह्रो छ। 

अहिले हरेक मानिसहरू कम्प्युटर, टी.भी., मोबाइल, ट्याब्लेट आदि डिजिटल उपकरणको प्रयोग गर्दछन्। इन्टरनेटको सहयोगमा यी माध्यमहरूबाट इमेल, फेसबुक, युट्युब, ट्विटर, इष्टग्राम,ह्वाट्सएप आदि चलाउन मिल्दछ। जसले मानिसको जीवनलाई धेरै सजिलो बनाइदिएको छ।

अन्य सामाजिक जीवनका साथसाथै व्यवसायको क्षेत्रमा पनि डिजिटल माध्यमको प्रयोग अत्यन्त धेरै हुँदै गएको छ। यसले व्यवसायको लागि आवश्यक सूचना तथा जानकारीहरू लिन , व्यवसाय दर्ता सञ्चालन आदि प्रक्रियाहरूलाई सजिलो बनाउनका साथै लेनदेन, खरिद बिक्री, व्यवसाय वृद्धि तथा विस्तार आदि हरेक कुरामा सहयोग  पुर्‍याएको छ। 

व्यवसाय सञ्चालनमा डिजिटल विधिका फाइदाहरू धेरै छन्। जस्तै :

  • यसबाट एकै ठाउँमा बसेर इन्टरनेटको सहयोगमा व्यवसाय सम्बन्धी आवश्यक धेरै सूचनाहरू लिन सकिन्छ।
  • सूचना जानकारीहरू लिन विभिन्न ठाउँमा पुग्नुपर्ने हुनाले यसबाट समय र  पैसाको बचत हुन्छ।
  • सूचना वा जानकारीहरू तुरुन्तै लिन वा दिन सकिन्छ।
  • डिजिटल विधिले सूचना वा जानकारीहरूलाई आकर्षक र प्रभावकारी बनाउन सक्दछ। जस्तै : सामान्य रूपमा होर्डिङ बोर्डमा लेखिएको सूचना वा विज्ञापन भन्दा डिजिटल बोर्ड आकर्षक र प्रभावकारी हुन्छ। 
  • डिजिटल विधिबाट स्वचालित  (अटोमेटिक)  रूपमा सूचना दिइरहन सकिने हुनाले  व्यवसायको बारेमा ग्राहक तथा उपभोक्ताहरूलाई जानकारी गराउन सजिलो हुन्छ।
  • पैसाको कारोबारमा डिजिटल विधिको प्रयोग गर्दा पैसाको सुरक्षा साथै गोपनीयता पनि कायम हुन्छ।
  • व्यवसाय सम्बन्धी कारोबारहरू गर्न, जस्तै : सामानहरूको अर्डर  तथा  डेलिभरी, रकमहरूको भुक्तानी, कर चुक्ता आदि गर्न सजिलो हुन्छ।
  • आफूजस्तै अन्य व्यवसायीहरूले के कस्ता विधिहरू अपनाएका छन्, कसरी फाइदा लिएका छन्, के कस्ता समस्याहरू भोगिरहेका छन् आदिको जानकारी लिई व्यवसायलाई सुधार संशोधन गर्न सजिलो हुन्छ। 
  • डिजिटल विधिबाटै व्यवसाय सम्बन्धी  ज्ञान, सीपहरू हाँसिल गर्न सकिन्छ।
  • यस विधिले सूचनाहरू परिवर्तन गर्न, सच्याउन पनि सजिलो हुन्छ।
  • सूचनाहरूलाई पछिसम्मको लागि सङ्कलन गरेर राख्न सकिन्छ।
  • यसबाट सामाजिक सम्बन्धको विस्तार गर्न सजिलो हुन्छ। 

डिजिटल विधिको प्रयोगले व्यवसायमा यस्ता धेरै फाइदाहरू हुने हुनाले व्यवसाय गर्ने व्यक्तिले डिजिटल विधिको धेरै प्रयोग गर्नुपर्दछ। यस्ता विधिहरूको प्रयोग गर्दा, कहिले बिजुली तथा इन्टरनेटको समस्या आउन सक्ने, कसैले ह्याक गरेर गोप्य सूचनाहरू लिने वा सूचनाहरू बिगारिदिने, विभिन्न प्राविधिक समस्याहरू आइरहने हुन सक्दछन्।  यस्ता कुराहरूमा विशेष ध्यान पुर्‍याउनु पर्दछ र जमाना अनुसार आफ्नो व्यवसायमा डिजिटल माध्यमको प्रयोग गरी समय, स्रोत, साधन आदिको बचत गरी व्यवसाय सञ्चालनलाई  प्रभावकारी बनाउनु पर्दछ।       

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।