के हो कपीराइट? कसरी दर्ता गर्ने ? चोरी गरे के सजाय हुन्छ ?

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

हिजोआज कसैले सृजना गरेको कुरालाई अरू व्यक्तिले त्यस्तै नक्कल गरेर आफ्नो सिर्जना हो भनी झुठो नाम कमाउने गर्ने गरेको भेटिन्छ। अझ व्यपार व्यावसायमा त यो कुराले झनै असर गर्ने गरेको छ। जस्तै: यदि तपाईँले पनि कुनै कला, साहित्य, चित्रकला वा मूर्तिकला, गीतसंगीत आदि जस्ता श्रीजनात्मक कुराहरूको व्यवसाय गर्दै हुनुहुन्छ भने त्यसलाई सुरक्षित गर्न आवश्यक छ, जसले गर्दा तपाइको रचनालाई अरूले चोरी गर्ने सम्भावना कम हुन्छ।

नेपाल सरकारको प्रतिलिपि अधिकार ऐन २०५९ को अनुसार जो कोहीले आफ्नो मौलिक वा बौद्धिक सम्पत्तिहरू जस्तै साहित्य, कला, ज्ञान- विज्ञान, लेख, गीतसंगीत, मूर्तिकला, फिल्म , चित्रकला, पुस्तक आदि सुरक्षित गर्न सक्छन्।

कपिराईट (प्रतिलिपि अधिकार) भनेको के हो ?

कपिराइट भनेको सरकारले केही निश्चित समयको लागि (व्यक्तिको जीवन रहेसम्म वा मरेपछि ५० देखि १०० वर्षसम्म) कुनै व्यक्तिलाई उसको रचना वा सिर्जनाबाट कसैले अनुमति बिना फाइदा लिन नपाओस भनी  दिने छुट्टै अधिकार हो। यो अधिकार निश्चित समयसम्म अधिकार पाएको व्यक्तिले बाहेक अरू कसैले प्रयोग गरेमा तोकिएको जरिवाना तिर्नु पर्नेहुन्छ। सिर्जना गर्ने व्यक्तिले यस्तो किसिमको अधिकार आफ्नो सिर्जनाको सुरक्षाको लागि लिने गर्छन्।

यो अधिकार कति समयसम्मको लागि पाइन्छ?

प्रतिलिपि अधिकार ऐन २०५९ का अनुसार नेपालमा कपीराइटको अधिकार रचना वा सिर्जना गर्ने व्याक्तिको जीवनभर र मृत्यु पछि ५० वर्षसम्म सुरक्षित हुन्छ। तर फोटोजन्य रचनाहरू जम्मा २५ वर्षसम्म सुरक्षित हुन्छ।

कपीराइट कहाँ दर्ता गर्ने ?

कपीराइट सम्बन्धी थप जानकारी लिन अथवा तपाईँको आफ्नो रचनालाई सुरक्षित गर्नको लागि कपिराईट दर्ता गर्न चाहनुहुन्छ भने तल दिएको ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ:

नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय

ठेगाना: डिल्लीबजार, कालिकास्थान, काठमाडौँ, नेपाल

फोन नं: ९७७–१–४४३११५५, ४४४३७५०

ईमेल: info@nepalcopyright.gov.np

 कपीराइट दर्ता गर्न के प्रक्रिया हुन्छ?

कपीराईट दर्ता गर्दा सुरुमा निवेदन लेख्नुपर्ने हुन्छ। नागरिकताको फोटोकपी, यदि संस्था हो भने संस्था दर्ता गरेको प्रमाण-पत्रको फोटोकपी, आफ्नो रचनाको प्रकृति अनुसार त्यसको फोटोकपी चाहिन्छ। सिर्जना, उत्पादन, पुनरुत्पादन, बिक्री वितरण र भाडामा लिन दिन भएको सम्झौताको फोटोकपी पनि चाहिन्छ। यदि रचना सार्वजनिक संस्थामा दर्ता गरेको छ भने त्यसको पुष्टि हुने कागजात पनि चाहिन्छ। त्यसका साथसाथै रचना पहिले प्रकाशन भएको देश र मिति खुल्ने कागजात पनि अनिवार्य चाहिन्छ। अनि रचना उपर स्वामित्व प्रमाणित हुने कागजात र अन्य आवश्यकता अनुसारको विवरण अनि आवश्यक हुन्छ।

दर्ता गर्नको लागि खर्च जम्मा निवेदनको लागि रु.१० को टिकट अनि रजिस्ट्रारबाट दर्ता गर्ने निर्णय भएपछि रु.१०० को राजश्व दस्तुर अनि दर्ता तिर्नुपर्ने हुन्छ। दर्ता गर्नको लागी सरकारी कर्मचारी नायब सुब्बा वा शाखा अधिकृतलाई सम्पर्क गर्नुपर्ने हुन्छ। यदि टिप्पणी गर्नु छ भने त्यसको लागि निवेदन कार्यालयमा वा कार्यालयको वेबसाइटमा डाउनलोड गर्न पनि सक्नु हुन्छ।

अरूको सृजना चोरी गर्‍यो भने के सजाय हुन्छ?

कपीराइट अधिकार चोर्ने व्यक्तिलाई नियम अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन्छ, अनि दोस्रो पटक देखि पटकै पिच्छे बिस हजार रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुन्छ।

स्रोत: यो लेख उद्यमी नेपाल टिमद्वारा नेपाल सरकारको प्रतिलिपि अधिकार ऐन २०५९ पढेर र नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयको वेवसाइटमा भएका जानकारीहरु समेटेर तयार पारिएको हो। 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।