प्रतिस्पर्धीभन्दा एक कदम अगाडी कसरी हुने? (६ टिप्सहरू)

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

यदि तपाईँले गरिरहनुभएको जस्तै व्यवसाय अरूले पनि गरिरहेका छन्, वा तपाईँले दिइरहनुभएको सेवा अरूले पनि दिइरहेका छन् भने तिनीहरूलाई तपाईँको प्रतिस्पर्धीहरूका रूपमा लिन सकिन्छ। जस्तै: तपाई बच्चाले लगाउने कपडाको व्यवसाय गर्नु हुन्छ भने तपाईँको पसल भएको ठाउँमा नजिकै अर्को बच्चाले लगाउने कपडा बेच्ने व्यवसाय छ भने त्यो तपाईँको प्रतिस्पर्धी हुन सक्छ।

तपाईँको व्यवसाय बजारमा भएका अन्य प्रतिस्पर्धीहरूभन्दा फरक र अझ राम्रो हुन सकेन भने ग्राहकले तपाईँकोमा नकिन्न सक्छन्। त्यसैले एउटा सफल व्यवसायी बन्नको लागि तपाईँले बजारमा भएका अरू व्यवसायले भन्दा फरक कस्तो सेवा/सुविधा दिँदै हुनुहुन्छ भन्ने कुरामा सधैँ चनाखो हुन जरुरी छ। तपाईँको व्यवसाय प्रतिस्पर्धीको भन्दा समयमै राम्रो र फरक बन्न सकेन भने भविष्यमा ठुलो घाटा पर्न सक्छ। 

त्यसैले गर्दा प्रतिस्पर्धीभन्दा फरक र राम्रो बनेर एक कदम अगाडी बन्न निम्न उपाय अपनाउनुहोस्। 

१. प्रतिस्पर्धीको कमीकमजोरीलाई याद गर्ने

प्रतिस्पर्धीको व्यवसायलाई नियमित रूपमा आफ्नोसँग तुलना गर्न आवश्यक हुन्छ। यसो गर्नाले तपाईँले प्रतिस्पर्धीका कमीकमजोरीहरू पहिल्याइ यी कमजोरीहरू पुरा गर्न सक्ने सेवाहरू ग्राहकलाई उपलब्ध गराउन सक्नुहुन्छ। जस्तै: तपाईँको नजिकैको कपडा पसलमा अन्य कपडाहरू छन् तर साडी बेच्ने गरेको छैन भने तपाईँले साडीहरू राखी बढी ग्राहकहरूलाई आकर्षित गर्न सक्नुहुन्छ। हुनसक्छ तपाईँको प्रतिस्पर्धीले गुणस्तरीय समान बेच्दैनन्, महँगो बेच्दै आइरहेका छन्, मीठो बोली गर्दैनन् र काममा ढिलासुस्ती गर्छन् भने तपाईँले यी कमजोरीहरू पुरा गरी सजिलै ग्राहक बनाउन सक्नुहुन्छ।

२.मूल्य सस्तो गर्ने उपाय खोज्ने

तपाईँले राम्रो गुणस्तर भएको समान सस्तो मूल्यमा उत्पादन गरी अन्य प्रतिस्पर्धीले भन्दा धेरै ग्राहकहरू तान्न सक्नु हुन्छ। जस्तै: बजारमा नयाँ मोडलका र कम बिजुली खपत हुने मेसिनहरू आइसकेका छन् र त्यी मेसिनहरूले थोरै बिजुली खपत गर्छन्। तर तपाईँका प्रतिस्पर्धीले पुरानो मोडेलको मेसिन प्रयोग गर्दै आएका छन् भने तपाईँले नयाँ मोडेलको मेसिन राख्न सक्नु हुन्छ। यसरी थोरै बिजुलीमा नै तपाईँले धेरै सामान उत्पादन गर्न सक्नु हुन्छ। त्यस्तै तपाईँले आधुनिक प्रविधि र सिपालु कामदारहरूबाट सस्तो लागतमा गुणस्तरीय पस्मिनाको सलहरू उत्पादन गर्न सक्नु भयो भने सस्तो मूल्यमा नै बजारमा बेच्न सक्नुहुन्छ। यसरी सस्तोमा उत्पादन गरेको सामान बजारमा प्रतिस्पर्धीको भन्दा सस्तो मूल्यमा बेच्न सकिन्छ।

३. ग्राहकहरूको समस्या बुझी समाधान गर्ने

व्यवसायीले सदैव आफ्ना ग्राहकहरूले कस्ता सामान खोजिरहेका छन् भन्ने कुराको ज्ञान राख्नु पर्छ। तपाईँले दिइरहेको र ग्राहकले खोजिरहेको सामान मिलिरहेको छैन भने समयमा नै उनीहरूको रोजाई तथा खोजाइ अनुसारको सामान उपलब्ध गराउनु पर्छ। ग्राहकहरूको समस्या बुझी त्यसको समाधान गर्ने व्यापारी आफ्ना प्रतिस्पर्धीहरूभन्दा अघि हुने सम्भावना बढी हुन्छ। जस्तै: तपाईँको प्रतिस्पर्धीले होम डेलिभरी (Home delivery) को सुविधा दिँदै आएको छैन भने तपाईँले त्यो सुविधा दिएर ग्राहकहरूलाई सहज बनाइदिन सक्नु हुन्छ।

४. नयाँ चिजको उत्पादन गर्ने

आफ्ना प्रतिस्पर्धीहरू धेरै भए र तपाइको सामान कम मात्रामा बिक्री हुन थाल्यो। त्यस्तै त्यस सामानको मूल्य पनि घट्यो र आफूलाई प्रतिस्पर्धा गर्न गाह्रो भयो। यस्तो अवस्थामा तपाईँले त्यसै सामानबाट नौलो सामानको उत्पादन गरी बजारमा नयाँ स्थान लिन सक्नुहुन्छ। जस्तै: तपाईँको लप्सीबाट अचार बनाउने व्यवसाय छ तर अचारको माग कम हुँदै गयो भने तपाईँले लप्सीबाट अचार बनाउन छोडी त्यसको क्यान्डी बनाउने प्रविधि पत्ता लगाई बनाउन सुरु गर्न सक्नुहुन्छ।

५. विश्वसनीयता कायम गर्ने

आफ्ना ग्राहकहरूलाई दिगो बनाउन तपाई एक विश्वासिलो व्यापारी हुन सक्नुपर्छ। समयमै काम गर्ने, सामानका बारेमा जानकारी दिने, गुणस्तरमा ध्यान दिने, आफ्ना गल्तीलाई स्विकार्ने जस्ता कुराहरू आफूले सधैँ गरिरहनु पर्छ। सबै जनाले यस्ता कुराहरूलाई ख्याल गरिरहेका हुँदैनन् तर तपाईँले आफ्ना प्रतिस्पर्धीबिच बसेरै पनि यसरी ग्राहकहरूमा आफूप्रतिको विश्वास बढाउन सक्नुहुन्छ। अझ मीठो बोलीले ग्राहक दिगो बनाउन थप सहयोग गर्छ।

६. अफरहरू दिने

व्यवसायमा छिटो आम्दानी गर्ने प्रक्रियाहरू मध्ये अफर पनि एउटा हो। आफ्ना सँगैका व्यापारीहरूसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो पर्दा विभिन्न आकर्षक अफरहरू राखी ग्राहकहरू तान्न सकिन्छ। जस्तै: तिन वटा स्याम्पु किन्दा एउटा साबुन सित्तैमा, २ वटा मन्जन किने एउटा ब्रस सित्तैमा, ५ प्लेट म:म खाँदा १ प्लेट सित्तैमा। यस्ता अफरहरूले ग्राहकहरू फर्केर फेरी आउने गर्छन् र सामान पनि बढी मात्रामा बिक्छ।

स्रोत : यो लेख उद्यमी नेपाल टिमले विभिन्न लेख तथा अनुसन्धानहरूको अध्ययन गरी तयार परेको हो।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।