ब्युटिसियन अनिताको व्यावसायिक जीवन, सङ्घर्ष र सफलता

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

ब्युटिसियन अनिता  केसी, लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-८ मा बस्नुहुन्छ। उहाँको व्यावसायिक सङ्घर्ष प्रेरणादायिक छ। यत्तिसम्म की, उहाँको सङ्घर्षको क्षणहरूले हामीलाई भावुक बनाउँछ, सफलताको वर्णनले उत्साहित। 

सङ्कटकालमा सरकारी जागिर छोडेर बस्नु भएकी अनिताले उ बेला ब्युटिसियन बन्छु भन्दा श्रीमानले पनि स्वीकार गर्नुभएन। घर परिवारको सहयोग नमिल्ने भयो। तर उहाँलाई व्यवसाय जसरी हुन्छ, सुरु गर्नु नै थियो।

 व्यवसाय सुरु गर्नको लागि रु. एक लाख व्यवस्थापन गर्नुभयो।  एक्लो प्रयासमा आकाश ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आयो। २०६८ सालमा ब्युटी पार्लर व्यवसाय सुरु गर्नुभयो अनिताले।  

सुरुमा उहाँले थालेको व्यवसायमा परिवारको समर्थन थिएन। समाजले पनि ब्युटिसियन व्यवसायलाई नक्कलीहरूको क्षेत्रका रूपमा बुझ्थ्यो। कतिले त उहाँलाई यति धेरै पढेलेखेको मान्छेले यस्तो वेश्यावृत्तिले गर्ने जस्तो काम के गरेकोसम्म पनि भन्न भ्याए।

ब्युटिसियन क्षेत्र आफैमा नराम्रो क्षेत्र होइन भनेर अनिता राम्रोसँग सम्झाउनु हुन्थ्यो। घर परिवारलाई पनि कन्भेन्सन गर्न खोझ्नु हुन्थ्यो। उहाँले यो बिचमा निकै सङ्घर्ष गर्नु पर्‍यो । अनिता भन्नुहुन्छ, “ कामको थकानभन्दा बढी पीडा आफूलाई नबुझ्नेहरुले भन्ने भनाइ र व्यवहारबाट हुन्थ्यो।“ 

अनेकौँ दुःख भोग्दा र पीडा पर्दा पनि आफ्नो पेसा र व्यवसायबाट उहाँ कहिले  विचलित हुनुभएन। दिन रातको मिहेनत झन् बढ्दै गयो। बढाउँदै लैजानु भयो।   व्यवसायले अपेक्षा गरे भन्दा राम्रो फाइदा दिन थाल्यो। 

अन्ततः यही व्यवसायले उहाँको आर्थिक स्तर माथि उठ्यो, इज्जत र प्रतिष्ठा बढाइदियो। “एक लाखबाट सुरु गरेको व्यवसाय १८ लाखको भएको छ, घरायसी खर्च यही व्यवसायले धानेको छ।“ अनिताले सुनाउनु भयो। 

अनितालाई  ब्युटिसियन भनेर परिचित हुन् पाउँदा खुसी लाग्छ। सङ्घर्ष गर्दा नहुने के रहेछ र ? अन्धकारपछि सुन्दर बिहानी भेटिन्छ भनेझै मैले पनि हिजो आफ्नो व्यवसायमा समर्थन नगर्नेहरूबाट समर्थन,सहकार्य, माया,सहयोग र सम्मान पाउन थालेकी छु, उहाँले भन्नुभयो।  

अहिले कोभिडको सन्त्रास छ, सुरक्षाका उपायहरू अपनाएर व्यवसाय सञ्चालन गरिरहेकी छु। अहिले मेरो घर परिवार र समाजको पूर्ण सहयोग, समर्थन छ,  उहाँ भन्नुहुन्छ, “अब ब्युटिसियन क्षेत्रलाई विकास गर्न सरकारी पक्षबाट विशेष आकर्षक खालका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ।” 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।