नमः शिवाय अचार उद्योग र उद्यमीको कथा

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकाल गाउँकी रमिला देवकोटालाई सानो उमेरमा ठूलो जिम्मेवारी आइलाग्यो। श्रीमानको मृत्यु भएपछि दुई छोरीको लालनपालन गर्ने देखि लेखपढ गराउनु र घर व्यवहार सम्हाल्नु कर्तव्य नै भयो उहाँको। श्रीमान् बित्दाको पीडा एकातिर थियो, अर्को तर्फ आर्थिक समस्या सुरु भयो। जागिरको खोजी गर्न थाल्नुभयो। बल्लतल्ल एउटा सहकारीमा महिनामा ४५ सय कमाइ हुने काम पाउनुभयो।

४५ सयले घर खर्च चलाउने की छोरी पढाउने चुनौती थियो। तैपनि हिम्मत हार्नुभएन। गर्दै जाँदा ४५ सयबाट ११ हजार पुग्यो, महिनावारी तलब। यसैले जेनतेन घर व्यवहार चल्दै थियो। २०७२ सालमा भूकम्प आयो। घर भत्कायो। बास नै नरहेसी घर बनाउन थाल्नुभयो। यस क्रममा भएकै जागिर पनि छोड्नु पर्‍यो। सुरु भयो बिहान बेलुकाको छाक टार्नै समस्या, त्यसपछि आम्दानीका नयाँ स्रोतहरू खोज्न थाल्नुभयो।

खोजे जस्तो जागिर मिलेन, त्यसपछि १४ कट्टामा केरा खेती सुरु गर्नुभयो। व्यावसायिक खुर्सानी र च्याउ ख्यातिलाई अहिले पनि अगाडी बढाई रहनुभएको छ। यत्ति मात्रै कहाँ हो र, अचार उद्योगमा पनि क्रियाशील हुनुहुन्छ। पछिल्लो समय ढकाल गाउँमा रहेको नमः शिवाय अचार उद्योगबाट नाम दाम दुवै कमाउन सफल भएको रमिला बताउनु हुन्छ। 

ढकाल गाउँका सुशिला ढकाल र रमिला देवकोटाको नेतृत्वमा सञ्चालन गरिएको अचार उद्योगमा अरू ३ जना महिलाले समेत रोजगारी पाएका छन्। सुशिला र रमिला सहित पाँच जना महिला आफ्नो दैनिकीबाट बचेको समय सदुपयोग गर्दै नमः शिवाय अचार उद्योग सञ्चालन मात्र गरिरहेका छैनन्, उनीहरू अन्य महिलाका लागि पनि उदाहरणीय बन्न सफल भएका छन्।

अचार उद्योगमा ६/७ प्रकारको अचार अडर अनुसार बनाइन्छ।काउली, गाँजर,हरियो खुर्सानीको मिक्स, च्याउ,अकबरे खुर्सानी, मेथीको लेदो, रुख कटर, आँप, र लोकल कागतीको अचार बनाउँदै आएको उद्यमी महिलाहरू बताउँछन्। यस उद्योगमा उत्पादित अचार सिन्धुलीसहित काठमाडौँ लगायतका जिल्लामा बिक्री हुने गरेको उद्यमी रमिलाले बताउनु भयो। 

कोभिड-१९ को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि अचार राम्रै बिक्री भयो। हामी ग्राहकहरु अचार लिन उद्योगसम्म धाइरहनु नपरोस् भनेर जिल्लाको बजार-बजार, पसल-पसल, घरघर पुर्‍याउँछौ। हाम्रो उद्योगमा बनेको अचार एक पटक खानेहरू पटक-पटक किन्ने गर्नु हुन्छ। खुसी हुँदै उद्यमी रमिला ले सुनाउनु भयो।  

बिचौलियाबाट बच्न आफ्नो उद्योगबाट उत्पादित अचार उहाँहरू आफैँ विक्री गर्नुहुन्छ।अचार बनाउन चाहिने केही सामान बजारमा किन्ने गरिएको छ। यस्तै च्याउ, हरियो खुर्सानी मौसम अनुसारको मुला, काउली, आफैँ उत्पादन गर्नुहुन्छ। आफैँले उत्पादन गरेको सामाग्रीले अचार बनाउँदा अरू किन्नुपर्ने सामानको बचत हुने गर्छ। आफ्नो उत्पादनबाट नपुगेमा बजारबाट किनेर पनि ल्याउने गरिन्छ।

अचार बनाउन शारीरिक श्रम धेरै कम पर्ने र घरायसी काममा बाधा पनि नपर्ने उद्यमी महिला रमिलाको अनुभव छ। व्यावसायिक केरा, च्याउ, खुर्सानी खेती र अचार उद्योगबाट राम्रो कमाइ गरिरहेको उहाँले बताउनु भयो। घर खर्च चलाउन समस्या छैन, रमिला ले भन्नुभयो, “दुई छोरीको पढाइ खर्च सहित हाम्रो जीविकोपार्जन यही उद्यम/व्यवसायबाट भएको छ।”  

फुर्सदको समयमा मात्र अचार बनाएर बेच्दा पनि आम्दानी राम्रो हुने रहेछ। बाख्रा वस्तु पालन, घरायसी कामधन्दा सबै भ्याएर बचेको २/३ घण्टा समय अचार उद्योगलाई दिने गरेका छौँ, उद्यमी सुशिला भन्नुहुन्छ, “घर खर्च टार्न र आफ्ना सामान्य आवश्यकताहरू पुरा गर्न श्रीमानसँग देउन भनेर माग्नु परेको छैन।” 

 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।