उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

एउटा व्यक्तिले आफू सफल उद्यमी बन्नको लागि विभिन्न भूमिकाहरु निभाउनु पर्ने हुन्छ। जस्तै: बजारमा नभएको नवीन र सृजनात्मक प्रविधिहरू प्रयोग भएको समान उत्पादन गर्ने र बेच्ने, सकेसम्म जोखिम मोलेर थोरै लगानीबाट धेरै उत्पादन र फाइदा लिने,  आफ्नो सामानको बारेमा ग्राहकलाई जानकारी दिने जस्ता  भूमिकाहरू एउटा उद्यमीले निभाउनै पर्ने हुन्छ। 

उद्यमीले आफ्नो उद्यम/व्यवसाय सञ्चालन गर्दा  मुख्य रूपमा निभाउनु पर्ने भूमिकाहरू: 

व्यवसायलाई काम लाग्ने किसिमको योजना बनाउने

योजना बनाउदा आफ्नो पूँजी अनुसार सरल र सहज किसिमको बनाउनु पर्छ। धेरै खर्च गरेर राम्रो वा आकर्षण योजना बनाउन खोज्यो  भने पछि व्यवसाय सुरु गर्दा आवश्यक पूँजी नपुग्न सक्छ।

सामानको मूल्य अनि उत्पादन खर्चलाई सकेसम्म कम गर्ने

उद्यमीले आफ्नो व्यवसाय सुरु गरेपछि सामान तथा सामान बनाउन लाग्ने खर्चलाई सकेसम्म कम गर्नुपर्छ। उत्पादन र बिक्रि-वितरण खर्च बढी भएमा सामानको मूल्य पनि बढी हुन्छ, मूल्य बढी भएपछि सामान बिक्री गर्न गाह्रो हुन्छ, जसले व्यवसाय घाटामा जाने सम्भावना बढी हुन सक्छ।

ग्राहकको माग अनुसार नयाँ वस्तु रचना गर्ने

समय अनुसार ग्राहकको माग फेरिरहन सक्छ, त्यसको लागि एउटा उद्यमीले आफ्नो व्यवसायलाई लगातार चलाइरहन बजारको माग अनुसार आफ्नो सामान, उत्पादन प्रक्रिया र बिक्रि-वितरण गर्ने प्रक्रियाहरुलाई  पनि रचनात्मक र सृजनशील भएर बदल्दै लैजानु पर्छ | यसो गर्दा बजारमा भएका आफ्ना प्रतिस्प्रधीहरुको सामान वा सेवा भन्दा राम्रो सेवा र समान दिन सकिन्छ अनि उनीहरूको ग्राहकलाई पनि आफू तर्फ तान्न सकिन्छ। 

सरकारी तथा सामाजिक नीति नियमको पालना गर्ने

व्यवसाय चलाउनको लागि सरकारले केही नियमहरू बनाएको हुन्छ अनि हरेक समाजमा पनि आफ्नै किसिमका नियमहरू हुन्छन्। राम्रो व्यवसाय सञ्चालन गर्नको लागि उद्यमीले त्यस्ता नियमहरू सबै पालना गर्नुपर्छ। कर तिर्ने, समाजलाई असर गर्ने काम नगर्ने,  आफ्नो आम्दानीबाट केही रकम समाज सेवामा खर्च गर्ने जस्ता समाज अनि सरकार प्रतिको आफ्नो दायित्व पुरा गर्ने भूमिका पनि उद्यमीको हुन्छ।

उद्यमीले आफ्नो व्यवसायको निरन्तर मूल्याङ्कन गरिरहने 

उद्यमीले आफ्नो व्यवसाय कसरी चलिराखेको छ, बजारमा ग्राहकले वस्तुलाई कतिको माग गरेका छन्, माग अनुसारको वस्तु तथा सेवा आफूले  दिन सकेको छ कि छैन सबै कुराको लगातार ख्याल राख्नु पर्छ | यसका साथै आफूले उत्पादन गरेको वस्तुबारे ग्राहकले कस्तो प्रतिक्रिया दिन्छन्, त्यसबारे राम्रोसँग थाहा पाउनु पर्छ। जसले ग्राहकको चाहना अनुसार वस्तु उत्पादन गर्नमा सहयोग पुग्छ।

बजार, प्रविधि, तथा उद्योगको परिवर्तन अनुसार व्यवसायलाई पनि बदल्ने

व्यवसाय चलिरहदा समय अनुसार बजारको आकार, उत्पादन गर्ने तरिका, प्रविधि, व्यावसायिक नियमहरू बदलिन सक्छ। पछि आउन सक्ने यस्ता जोखिमहरू पहिले नै पत्ता लगाएर जोखिम हटाउने वा ती जोखिमहरू बहन गर्नको लागि पहिले नै तयार हुनुपर्ने हुन्छ।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।