ठेक्का

पछिल्लो अपडेट गरिएको: माघ २१, २०७८

समयमा कुनै काम पूरा गर्न गरिएको बोल कबोललाई ठेक्का भन्दछन् । व्यवसाय सञ्चालन गर्दा कुनै काम पूरा गर्न,कुनै वस्तु ल्याउन वा पठाउन, ढुवानी गर्न आदि कामका लागि ठेक्का दिने गरिन्छ । व्यवसायिक संस्थाको काम अनुसार कतिपय अवस्थामा ठेक्का लगाउन पर्ने हुन सक्दछ । 

कस्तो समयमा ठेक्का दिने?

कुनै व्यवसायले आफूले पूरा गर्न पर्ने काम आफ्ना नियमित कर्मचारीबाट समयमा गर्न संभव हुन नसक्ने कामहरु कसैबाट गर्न गराउन लगाउँदा व्यवसायलाई सजिलो हुने,सस्तो पर्ने अवस्था आयो भने ठेक्का दिनु पर्दछ । ठेक्का दिनपर्ने काम अन्तरगत उत्पादन तथा सेवा व्यवसायका लागि आवश्यक पर्ने कच्चा पदार्थ,औजार उपकरणको ढुवानी वा उत्पादित सामानको बजारसम्मको ढुवानी आदि पर्दछन् । त्यो बाहेक व्यवसायको अन्य कुनै काम कसैलाई ठेक्कामा दिन पनि सकिन्छ । जस्तैः स्वीटर बुन्ने वा बेच्ने व्यवसायले कुनै व्यक्तिलाई प्रति पिस स्वीटरको हिसाबले कसैलाई ठेक्कमा बनाउन लगाउन सक्दछ । ठेक्का दिँदा कानुनी रुपमा टेण्डर माग गरी गर्न सकिन्छ । आपसी विश्वासको भरमा पनि ठेक्का दिने चलन छ तर यसो गर्दा कुनै समस्या आयो भने उजुर–बाजुर गर्न गाह्रो हुन्छ । 

कानुनी रुपमा ठेक्का दिँदा टेण्डर  माग्नुपर्दछ । “टेण्डर” भन्नाले आफ्नो शर्तहरू स्पष्ट रूपमा खुलाई सो शर्तहरूमा ठेक्का लिन कबूल गरी लाहाछाप मारी ठेक्का लिन कबूल गर्ने व्यक्तिले पठाएको दरखास्त भन्ने बुझिन्छ । यसरी धेरै टेण्डरहरु मध्येबाट निश्चित आधारहरु तोकी कुनै एक व्यक्ति वा कम्पनीलाई ठेक्का दिन सकिन्छ ।  

ठेक्का दिँदा सबभन्दा पहिले के कामका लागि किन ठेक्का दिने हो,ठेक्का सम्वन्धी व्यवसाय वा फर्मको नीति के हो । ठेक्काको बारेमा कस कसले निर्णय गर्ने हो सो कुरा स्पष्ट हुनुपर्दछ । यस विषयमा सम्वन्धित व्यक्तिहरुको बैठक बसेर पारदशीं रुपमा निर्णय गर्नुपर्दछ ।

ठेक्का दिँदा ध्यानदिनुपर्ने कुराहरु :

  • ठेक्का दिन पर्नुको कारण स्पष्ट हुनुपर्दछ वा पुष्टि हुनुपर्दछ । 
  • ठेक्का दिने व्यक्ति वा संस्थाको छनोटको आधार र प्रक्रिया दुरुस्त हुनुपर्दछ ।
  • ठेक्का लिने दिने कामको स्पष्ट लिखित संझौता हुनुपर्दछ र त्यसमा लिने दिनेका जिम्मेवारीहरु स्पष्ट उल्लेख हुनुपर्दछ । 
  • ठेक्का दिने व्यक्ति वा संस्था सम्बन्धित सरकारी निकायमा दर्ता भएको अर्थात ठेक्काको इजाजत पाएको र  नियम अनुसार नवीकरण भएको हुनुपर्दछ । 
  • ठेक्का दिँदाको लेन देनको हिसाव किताब दुरुस्त लिखितरुपमा राख्नुपर्दछ ।  

ठेक्का सम्वन्धमा थप केही विषयहरुको जानकारी नेपाल कानुन आयोग (www.lawcommission.gov.np) को  रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० (केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२)  बाट लिन सकिन्छ ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।