व्यवसायको व्यवस्थापन परिवर्तन र व्यवसायको वृद्धि

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

समयसँगै मानिसका रुचि, आवश्यकता तथा जीवनशैलीहरू परिवर्तन भइरहेका हुन्छन्। व्यवसाय गर्ने मानिसले यी कुराहरू थाहा पाउनु पर्दछ र समयमा त्यसको व्यवस्थापन प्रक्रियामा परिवर्तन गरिरहनु आवश्यक हुन्छ। यस्तो परिवर्तन व्यवसायसँग सम्बन्धित सबै मानिस मिलेर गर्नु पर्दछ।

 यस्तो परिवर्तनभित्र मुख्यरुपमा व्यवसाय सञ्चालनको प्रक्रिया, नयाँ प्रविधिहरूको प्रयोग, संस्थाको काम गर्ने तौरतरिका, जिम्मेवारी र बजेटको हेरफेर आदि पर्दछन्। यसले व्यवसायबाट आउने उपलब्धि अर्थात् उत्पादन तथा सेवालाई बढाउँछ। व्यवस्थापन परिवर्तन भनेको कार्य प्रक्रियाको परिवर्तन र सीप, दक्षताको विकास दुवै हो।

व्यवसायको व्यवस्थापनमा परिवर्तन गर्नुका धेरै फाइदाहरू छन्। यसले व्यवसायमा भएको लगानी र समयको सही उपयोग गरी व्यवसायलाई प्रभावकारी बनाउँछ र सफलतातिर लैजान्छ। त्यसले खर्च र समय दुवै बचाउँछ। तनाव र चिन्ता घटाउँछ, सानै व्यवसायमा आउन सक्ने समस्याहरूको पनि न्यूनीकरण गर्दछ र व्यवसायलाई बढाउँछ। 

 व्यवसायको व्यवस्थापन परिवर्तनका लागि निम्न कुराहरू गर्न आवश्यक पर्दछ। जस्तै: 

  • व्यवसायमा के-के कुरा राम्रो भइरहेको छ ? के-के मा परिवर्तन गर्न पर्ने हो ? त्यसको राम्रो मूल्याङ्कन गर्ने 
  • कामको स्पष्ट खाका (रूपरेखा) तयार गर्ने अर्थात् व्यवस्थापन परिवर्तनका लागि योजना बनाउने  
  • काम गर्ने मानिसहरूको कार्य जिम्मेवारी हेरफेर गर्ने/स्पष्ट बनाउने  
  • कामदारका सल्लाह, सुझाव तथा गुनासाहरूलाई सुन्ने र सो अनुसार गर्ने 
  • सरोकारवाला सरकारी निकाय, बिक्रेता ग्राहक आदि सबैसँग राम्रो सम्पर्क समन्वय कायम गर्ने
  • बेला-बेलामा परिवर्तन कसरी भइरहेछ, त्यसको समीक्षा गर्ने र निरन्तर सुधार गर्ने

सेवा तथा उत्पादन बढाउनु व्यवसायको वृद्धि हो। उदाहरणको लागि कुर्ता सिलाई व्यवसायले महिनाको सय जोर सिलाइरहेकोमा त्यो भन्दा बढी सिलाउनु, महिनामा १५० बिरामी जाँच्ने क्लिनिकले त्यो भन्दा बढी जाँच्नु, दिनको १५० लिटर दूध उत्पादन तथा बिक्री गर्नेले त्यो भन्दा बढी उत्पादन तथा बिक्री गर्नु व्यवसायको वृद्धि हो। 

व्यवसायको वृद्धि गर्दा निम्न कुराहरूमा ध्यान दिनुपर्दछ:  

  • व्यवसायको हालको अवस्था अर्थात् फाइदा बेफाइदाको राम्रोसँग लेखाजोखा गर्ने, यदि व्यवसाय फाइदातिर गइरहेको छैन भने बढाउँदा झन् समस्या आउन सक्दछ।
  • कुन आकारमा बढाउने हो, त्यसको लागि थप पैसा कति चाहिन्छ, कामदार वा कर्मचारी कति थप्नुपर्दछ (वा भइरहेका कर्मचारीको काम गर्ने समय बढाउँदा हुन्छ)थप कस्तो सीप, साधन स्रोत आवश्यक पर्दछ, आदि सबै कुराहरूको दुरुस्त योजना बनाउनु पर्दछ। 
  • बढाउने योजना अनुसार पैसा वा अन्य स्रोत साधन कहाँ-कहाँबाट उपलब्ध हुन सक्दछ, त्यसको पहिचान गर्नु पर्दछ।
  • वृद्धि गर्दा केही प्रक्रियाहरू पूरा गर्न पर्छ/पर्दैन, अनुमति लिन पर्छ/पर्दैन आदि कुराको बारेमा दर्ता गरेको निकायबाट आवश्यक सल्लाह लिनु पर्दछ र सो अनुसार गर्नुपर्दछ। 
  • व्यवसाय बढाएपछि नवीकरण शुल्क, कर आदिको व्यवस्थामा केही परिवर्तन हुन्छ/हुँदैन, त्यसको जानकारी लिनुपर्दछ र सोही अनुसार गर्नुपर्दछ।

व्यवसायको वृद्धि गर्दा त्यसका साथसाथै केही समस्याहरू पनि थपिन सक्दछन्, त्यसका लागि आवश्यक सावधानीहरू पनि लिनु पर्दछ। लामो समयसम्म एउटै अवस्थामा खुम्चिरहनेभन्दा व्यवसायलाई बढाउँदै लैजानु राम्रो हुन्छ, तर पूर्णरुपमा तयार नभै लगानी वा अन्य कुराहरू गरिहाल्नु राम्रो हुँदैन। राम्रो सोच, योजना र तयारीले मात्र व्यवसायको वृद्धिलाई सफलतातर्फ लैजान्छ।   

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।