ग्राहक

पछिल्लो अपडेट गरिएको: माघ २१, २०७८

व्यवसायबाट उत्पादित कुनै वस्तु वा कुनै व्यवसायबाट दिइने सेवा किन्ने अर्थात लिने व्यक्ति ग्राहक हुन् । व्यवसायको लागि ग्राहक सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि ग्राहकले वस्तु वा सेवा किन्दछ । वस्तु वा सेवा बिक्रि भए मात्र व्यवसाय चल्छ र नाफा संभव छ । त्यसैले ग्राहकलाई भगवान भन्ने चलन पनि छ । ग्राहक सन्तुष्ट भएमा फर्की–फर्की किन्न आउँछन् र व्यवसायलाई फाइदा हुन्छ ।

ग्राहक भन्नाले दुई किसिमको ग्राहकलाई बुझिन्छ, खरिदकर्ता अर्थात जसले सामान किन्छ वा खरिद गर्दछ र उपभोक्ता जसले वस्तु उपभोग गर्दछ । त्यसबाहेक नियमित ग्राहक, अनियमित ग्राहक,होलसेल ग्राहक, खुद्रा ग्राहक आदि विभिन्न किसिमका ग्राहकहरु हुन सक्दछन् । ग्राहकहरूलार्ई  सन्तुष्ट  पारी  व्यवसायको बिक्रि बढाउनु जरुरी महत्वपूर्ण कुरा हो । व्यवसायीले ग्राहकले यो वस्तु वा सेवा केका लागि किन्छ ? ग्राहकलाई चाहिएको समय  अनुसार अनि डिजाइन अनुसार छ कि छैन र वस्तु वा सेवा कत्तिको बलियो र आकर्षक छ विचार गर्नुपर्दछ ।  

वस्तु वा सेवाको मूल्य लक्षित ग्राहकले तिर्न सक्ने खालको हुनु पर्दछ । धेरै मूल्य भएमा बजारमा वस्तु बिक्रि हुँदैन । त्यसैले ग्राहकको आवश्यकता र उसले तिर्नसक्ने अवस्थालाई ध्यानमा राखेर मूल्य तोक्नुपर्दछ ।ग्राहकले चाहेको समयमा र चाहेको ठाउँमा वस्तु वा सेवा पुर्याउन सक्नुपर्छ । आफैँ ग्राहकसम्म बिक्रि गर्न लाने वा खुद्रा  व्यापारीमार्फत  ग्राहकसम्म  पुर्याउने हो  भन्ने  बारेमा पनि सोच्नुपर्दछ । चोहेको ठाउँ चाहेको समय र ठीक्कको मूल्य छ भने ग्राहकहरु आकर्षित हुन्छन् ।  

व्यावसायीले ग्राहक सन्तुष्ट पार्न देहायका कार्य गर्नु उपयुक्त हुन्छ ।

  • आफ्ना ग्राहक पहिचान गर्ने ।
  • ती ग्राहकका आवश्यकता बुझ्ने के के कुरा कति बेला, कुन समयमा, कति आवश्यक पर्छ ? सो अनुसार वस्तु तथा सेवा दिने ।
  • आर्थिक क्षमता र ग्राहकको खर्च गर्ने प्रवृत्ति थाहा पाउने ।
  • ग्राहकले कस्तो वस्तु, कति मूल्यमा, चाहन्छ? कुन तरिकाबाट उसलाई जानकारी दिन सकिन्छ? कहाँ खरिद गर्न रुचाउँछ आदि बारे जानकारी लिने ।
  • सामान लगे पछि सही उपयोग भयो भएन, ग्राहकले सन्तुष्टि पायो पाएन भनी बुझने ।
  • वस्तु वा सेवामा अन्य केही सुधार गर्नुपर्ने भएमा गर्ने ।
  • ग्राहकलाई सकेसम्म भेटमा उपहार वा धन्यवाद दिइरहने । भलाकुसारी गरिरहने ।
  • ग्राहकलाइ आफ्ना अन्य वस्तु वा सेवा तथा नयाँ उत्पादन उपहार बारे जानकारी दिने ।
  • ग्राहक पसलमा आउँदा विशेष ख्याल राख्ने,सदा प्रसन्न रहने ।
  • ग्राहकका गुनासा सुन्ने र उनीहरुमा कुनै शंका भएमा निवारण गर्ने ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।