व्यवसायको परिचय

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

आम्दानी कमाउने उद्देश्यले गरिने उत्पादन, निर्माण तथा सेवा आदि क्रियाकलाप नै व्यवसाय हो। यसलाई नाफा आर्जन गर्नका लागि गरिने सङ्गठित प्रयास भनिन्छ। पेसा, इलम, रोजगार, उद्यम सबै शब्दले व्यवसायलाई नै बुझाउँछन्। पैसा वा सम्पत्ति आर्जन गर्ने एउटा तरिका वा माध्यम व्यवसाय हो। 

व्यवसायबाट आफ्ना जीवनका आवश्यकताहरू पूरा गर्न सजिलो हुन्छ। यो आफैँले रोजगारी सिर्जना गर्ने राम्रो उपाय हो। व्यवसायलाई आफ्नो काम आफैँले गर्ने क्रियाकलाप पनि भनिन्छ। व्यवसाय साना ठूला जत्रा पनि हुन सक्दछन्। 

व्यवसाय सञ्चालन गर्नुका धेरै फाइदाहरू छन्। व्यवसाय सञ्चालनले आम्दानी बढाउन र आफ्ना आवश्यकताहरू पूरा गर्न सजिलो हुन्छ। यसबाट आफूसँग  भएको सीप, कलाहरूको प्रयोग र विस्तार गर्ने अवसर प्राप्त हुन्छ। समयको सही प्रयोग गर्न वा आफूलाई कुनै कामप्रति एकाग्र राख्नमा पनि व्यवसाय सञ्चालनले ठूलो योगदान पुर्‍याउँछ। 

व्यवसाय सञ्चालन नै रोजगारीका अवसरहरू सिर्जना गर्ने बाटो हो। आफ्नो समय, स्रोत तथा सीपको प्रयोग गरी जो कोही व्यक्तिले पनि व्यवसाय सञ्चालन गर्न सक्दछन्। कोही मानिसहरू धन सम्पत्ति कमाउन, आफ्ना इच्छा तथा रहरहरू पूरा गर्न व्यवसाय सञ्चालन गर्दछन्। कसैले जीवन धान्नका लागि पनि कुनै व्यवसाय गर्दछन्। सामान्यतया निम्न व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्न सक्दछन्:

  • पैसा कमाई आफ्ना जीवनका धेरै आवश्यकताहरू तथा रहरहरू पूरा गर्न चाहने।
  • आफ्ना ज्ञान सीपलाई व्यवहारमा प्रयोग गरेर देखाउन चाहने।
  • आफ्नो रोजगारी आफैले सिर्जना गर्न वा अरूको लागि पनि रोजगारी सिर्जना गर्न चाहने। 
  • आफूसँग भएको भएको धेरथोर पैसालाई सही प्रयोग गर्न चाहने।
  • जीविकोपार्जनलाई सजिलो बनाउन र आफ्नो जीवनस्तर माथि उठाउन चाहनेले।
  • आफ्नो समयलाई सिर्जनात्मक काममा लगाउन र उदाहरणीय बन्न चाहने।
  • जीवनमा नयाँ-नयाँ अनुभवहरू हासिल गर्न र चुनौतीहरू लिई अगाडि बढ्न चाहने।

व्यवसाय यो वा यस्तै नै उपयुक्त हुन्छ भन्ने छैन। त्यो आफ्नो अवस्था, सीप अनुभव, रुचि, लगानी, बजार आदि कुराहरू अनुसार हुन्छ। तर, पनि हाम्रो देशको अझ विशेष गरी ग्रामीण समुदायको अवस्थालाई विचार गर्दा परिवारकै सदस्यहरू मिलेर सानो वा ठिक्कको लगानीमा गर्न सकिने खालका व्यवसायहरू, जस्तै : तरकारी खेती, बाख्रापालन, मौरी पालन, कुखुरा पालन, दूध उत्पादन, खुद्रा पसल सञ्चालन, सिलाई बुनाइ, चिया खाजा पसल, बेकरी उत्पादन आदि लघु व्यवसायहरू उपयुक्त हुन सक्दछन्। 

यस्ता व्यवसाय एक्लै वा साथीसाथी मिलेर सञ्चालन गर्न र बढाउँदै लैजान  पनि सकिन्छ। परिवारको आम्दानी वृद्धि र जीवनका आवश्यकता तथा चाहनाहरू पूरा गर्ने बलियो माध्यम नै व्यवसाय भएको हुनाले जो कोही व्यक्तिले पनि व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ। व्यवसाय सञ्चालन गर्दा नियम अनुसार सम्बन्धित निकायमा गएर दर्ता गर्नु पर्दछ।    

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।