लाइसेन्स अनुमति दर्ता

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

व्यवसाय दर्ता गर्नुभन्दा अगाडि लाइसेन्स (अनुमति अर्थात् अनुज्ञापत्र) लिनु पर्दछ। अनुमति भनेको कुनै कामका लागि दिइने वा पाइने स्वीकृति अर्थात् आदेश, आज्ञा हो। व्यवसाय गर्ने व्यक्ति वा फर्मले व्यवसायको प्रकृति अनुसार दर्ता गर्नुभन्दा अगाडि अनुमति लिनु पर्दछ। औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निश्चित व्यवसाय दर्ता गर्नु अगाडि औद्योगिक तथा लगानी बोर्डबाट अनुमति लिनु पर्दछ। उद्योग व्यवसाय दर्ता गर्ने निकायमार्फत तोकिएको ढाँचामा बोर्डमा निवेदन दिनु पर्दछ। 

निम्नअनुसारका उद्योग व्यवसायहरूका लागि बोर्डबाट अनुमति लिन पर्ने व्यवस्था छ:

  • चुरोट,बिँडी, खैनी तथा सूर्तीजन्य पदार्थ मुख्य कच्चा पदार्थ हुने वस्तु उत्पादन गर्ने उद्योग 
  • वियर मदिरा वा मदिराजन्य पदार्थ उत्पादन उद्योग 
  • ढुङ्गा, गिटी, बालुवा उत्खनन प्रशोधन गर्ने उद्योग 
  • रेडियो सञ्चार सम्बन्धी उपकरण उत्पादन गर्ने उद्योग 
  • प्रचलित कानून बमोजिम अनुमति लिन पर्ने अन्य उद्योगहरू 
  • एल.पी.ग्यास तथा रिफिलिङ् गर्ने उद्योग व्यवसाय 

व्यवसाय दर्ताका लागि अनुमति लिँदा धेरै फाइदाहरू हुन्छन्। यसले व्यवसायको कानुनी सुरक्षा हुन्छ। व्यवसायको विश्वसनीयता बढ्छ। सरकारी सुविधा पाउन सक्ने सम्भावना हुन्छ। कर सम्बन्धी जिम्मेवारीहरू (कर चुक्ता आदि) पूरा गर्न सजिलो हुन्छ। 

दर्ताको अनुमति प्राप्त गर्ने व्यक्तिले अनुमतिपत्रमा उल्लेख भएको समयभित्र उद्योग व्यवसायको दर्ताको लागि निवेदन नदिएमा त्यस्तो अनुमति पत्र निष्क्रिय हुन्छ। अनुमति नलिई व्यवसाय सञ्चालन गर्दा कानूनी कारबाही वा जरिवाना तिर्नुपर्ने हुन्छ र व्यवसाय खारेज समेत हुन सक्दछ। 

सम्बन्धित संस्थाबाट अनुमति प्रदान गर्ने निर्णय भएपछि अनुमति माग गर्नेले प्रस्तावित उद्योग व्यवसाय स्थापना तथा सञ्चालन गर्न कार्य सम्पन्न गर्ने समय सहित कार्यक्रमको कार्य योजना पेस गर्नु पर्दछ। 

अनुमति लिएपछि कुनै उद्योग व्यवसाय सञ्चालन नगर्दै अनुमतिपत्रको हस्तान्तरण बेचबिखन वा स्वामित्व परिवर्तन गर्न सकिँदैन। तर अनुमति लिएको व्यक्तिको मृत्यु हुन पुगेमा प्रचलित  कानून बमोजिम उसको हकवालाले आवेदककै हैसियतले बाँकी कार्य गर्न सक्दछ।  

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।